राष्ट्रिय खेलकुद परिषदले कराते खेलाडी छनोटसम्बन्धी सूचना प्रकाशित गरेपछि करातेका खेलाडी तथा प्रशिक्षकले विरोध जनाएका छन् । राखेपले प्रकाशित गरेको सूचनामा छनोट खेलमा सहभागिता जनाउने खेलाडीहरूले सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्ने उल्लेख गरेपछि उनीहरुले विरोध जनाएका हुन् ।
राष्ट्रको लागि खेल्ने खेलाडीले राष्ट्रले गर्ने छनोट खेलमा आफैले खर्च व्यहोर्नु दुर्भाग्यपूर्ण भएको करातेका एक प्रशिक्षकले बताए । खेलाडीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकाले आउनु पर्छ, यस्तो अवस्थामा सवै खेलाडी आर्थिक रुपमा सम्पन्न छन भन्न मिल्दैन । त्यसैले छनोट खेलमा आर्थिक अभावकै कारणले खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने बातावरणको सृजना भएको छ । खेलाडीले राजधानीमा चार दिन खान वस्न र यातायातको खर्च कहाँवाट जुटाउने त्यो छनोट खेलभन्दा पनि चुनौंतिपूर्ण भएकोले राज्यले सोच्नुपर्ने ती प्रशिक्षकले बताए ।
सो सम्बन्धमा छनोट समितिका सदस्य तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठसँग सम्पर्क गर्दा उनले यो प्रतियोगिता नभै छनोट खेल भएको बताए । प्रतियोगिता भएको भए राज्यले सुविधा दिन्थ्यो, छनोट खेल भएकोले कसैलाई कुनै आर्थिक सहयोग छैन् । सवैले खाने, वस्ने र यातायातको व्यवस्था आफैले गर्नुपर्छ ।
भदौ २ देखि १६ गतेसम्म इन्डोनेसियाको राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ । करातेमा देखिएको विवादलाई मध्यनजर गर्दै राखेपले आगामी बैशाख १५ गते सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा करातेको छनोट प्रतियोगिताको मिति तोकेको छ ।
उक्त छनोट प्रतियोगितामा छैटौं, सातौं राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिपमा, दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), एसियाली खेलकुद प्रतियोगिता र अफिसियल सिनियर साफ च्याम्पियनसिपमा पदक बिजेता खेलाडीले मात्र सहभागिता जनाउन पाउने राखेपले प्रकाशित गरेको सूचनामा जनाएको छ ।
प्रतिक्रिया