भनिन्छ– असल शासकले जनताका सुख–दुःखसँग आफूलाई रत्तिभर अलग राख्न सक्दैन । देश र जनताको अहितमा किञ्चित सोच्नु मात्र पनि उसका लागि अनैतिकताको पराकाष्ठा हुन्छ । विपरीत परिस्थिति र सङ्कटको अवस्थामा जनताको साथ लिएर चुनौतीको सामना गर्नु उसको अहम् कर्तव्य रहन्छ र जनताको सुख–दुःखसँग जोडिएर रहेका आधारमा उसलाई सिङ्गै देश र जनताको साथ–सहयोग पनि प्राप्त हुन्छ । जनविरोधका बाबजुद सत्तामा टाँसिरहन खोज्ने कुरा असल, इमानदार र जनउत्तरदायी शासकले कल्पनासम्म पनि गर्दैन । सही बाटो हिँड्न खोज्दा भ्रमवश विरोध र नकारात्मक प्रतिक्रिया जनस्तरबाट कथम् आएमा ऊ विचलित हुँदैन, बरु सत्यसँग जनतालाई साक्षात्कार गराउन तत्परता देखाउँछ अनि इमानदारी र नैतिकताका बलमा विजय हासिल पनि गर्छ ।
असल नेता वा शासकमा हुने वा हुनुपर्ने उल्लेखित विशेषताको ठीक विपरीत सत्तालुब्ध शासक ढोंगी, अहङ्कारी, पक्षपाती, अत्याचारी र दुराशयले भरिपूर्ण हुन्छ । देखिएभन्दा फरक चरित्रको हुनु अर्थात् बोली र व्यवहारमा तादात्म्यता नरहनु नालायक शासकको एउटा मूख्य चरित्र नै हो । ऊ आफूबाहेक अरूलाई योग्य नै देख्दैन, बरु नालायकीले नाङ्गिसक्दा पनि अरूको दृष्टिलाई नै दोषी देख्छ । हरदम सत्ताप्रति मोह जागिरहेको र त्यसले आफ्नो छवि वा प्रतिष्ठा चकनाचुर पारेको पनि उसलाई पत्तो हुँदैन । सच्याउन–सुधार्न कसैले असफलता औँल्याइदिनुलाई ऊ विष खुवाउन खोजेसरह ठान्दछ । सत्ता टिकाउनैपर्ने ध्यय र बाध्यताको जकडमा यसरी परेको हुन्छ कि असल काम गरेर होइन उल्टै अराजकता निम्त्याएर ऊ सत्ता लम्ब्याउने सपना देख्न थाल्छ । अन्ततः जनताबाट अलगथलग र पतन हुँदै ऊ एउटा दुर्दान्त कथामा अनुवाद हुन पुग्छ ।
नालायक शासकका उल्लेखित सबै दुर्गुण वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईमा छ–छैन, राजनीतिका पण्डितहरूले गम्भीरतापूर्वक केस्रा–केस्रा केलाएर निकाल्ने निचोडबाट मात्र थाहा लाग्ला । तर, मुलुकको वर्तमान राजनीतिक परिवेश एवम् प्रधानमन्त्री भट्टराईका नीति, नियत र प्रवृत्तिका आधारमा भन्नुपर्दा चाहिँ उनी कतै त्यही नियतिको सिकार हुने बाटोमा हिँडिरहेका त छैनन् भन्ने प्रश्न अवश्य जन्माएको छ ।
मुलुकले लामो समयदेखि खोजिरहेको सहमतिको वातावरण बन्न नसक्नुमा बाबुराम भट्टराई नै प्रमुख बाधक बन्न पुगेको विपक्षी कित्ताबाट मात्र होइन उनकै पार्टी अध्यक्षले समेत प्रत्यक्ष–परोक्ष रूपमा लगाउँदै आएका छन् । उनको सोच–शैली अधीनायकवादी र सत्ताकब्जाकै दिशातर्फ उन्मुख देखिन्छ । संविधानसभाको असामयिक अवसान, एकलौटी रूपमा निर्वाचन घोषणा र आफैँले तोकेको तिथिमा निर्वाचन गर्न नसकेकोलगायतका मुद्दामा प्रधानमन्त्री बाबुराम भट्टराईमाथि आलोचना र आक्षेपको वर्षा यथेष्ट भएको छ । तर, यी कुनै पनि प्रकरणमा उनी आफ्नो कमी–कमजोरी वा गल्ती स्वीकार गर्न चाहँदैनन् । उनको ढिठपन यसैबाट प्रस्टिन्छ, र यही ढिठभित्र अधिनायकी सर्वसत्तावादको कलुषित मनसाय हर्लक्कै हुर्किसकेको अन्दाज लगाउन सकिन्छ ।
पछिल्लो चरणमा, पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तहरूलाई उन्मुक्ति दिन प्रत्यक्ष र ठाडो जोडबल लगाएर प्रधानमन्त्री भट्टराईले सिङ्गो मुलुकलाई आक्रोशित र आन्दोलित तुल्याएका छन् । मुलुकका प्रमुख कार्यकारीको हैसियतले कुनै पनि अपराधको छानबिन गरी दोषीलाई सजाय र पीडित पक्षलाई न्याय दिलाउने कार्यलाई सहयोग र प्रोत्साहन गर्ने प्रमुख दायित्व उनैको हुन आउँछ । तर, विडम्बना † बाबुराम त अपराध स्वीकार गर्दै सजाय भोगेर तड्पिएको आत्मालाई शान्त तुल्याउन चाहने अभियुक्तलाई जबर्जस्ती निरपराध सावित गराउन उद्यत् छन् । मातहतका निकायलाई समेत अपराध र अपराधीलाई ढाकछोप गर्न उक्साउँदै छन्, आडभरोस दिँदै छन् । सिङ्गो मुलुक र अन्तर्राष्ट्रिय समुदाय उनलाई न्यायको पक्षमा उभिन चेताइरहेछ, तर उनी झन्–झन् अपराध र दण्डहीनताका लागि उक्साइरहेछन् । सिङ्गो देश र समस्त नेपालीको होइन उनी कुनै दल वा गुटविशेषको प्रधानमन्त्रीका रूपमा उभिन हिच्किचाइरहेका छैनन् । न्यायको आवाज उठाउनेहरूलाई उनी हौसला होइन गाली र धम्की दिइरहेछन् । अपराधीलाई दण्डित गर्नु भनेको उनको बुझाइमा ‘शान्तिप्रक्रिया भाँडिनु’ हो †
वास्तवमा बाबुराम भट्टराईका हकमा जुन स्तर र मात्रामा जनताले आशा र विश्वास संगालेका थिए, आज चकनाचुर हुन पुगेको छ । राजनीतिमा एक–दुईपटक गल्ती गरे पनि जनताबाट माफी मिल्छ भन्ने धारणा रहँदै आएको छ । तर, बाबुराम भट्टराईले त आफूलाई माफीका लागि पनि लायक नछोड्ने जुन धृष्टता गरिरहेका छन्, यो उनका लागि मात्र नभई नेपाल र नेपालीकै निम्ति पनि अशुभदायक देखिएको छ ।
प्रतिक्रिया