आईजीपी खनालबाट आशा

आईजीपी खनालबाट आशा


मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर धाक–धम्कीकै भरमा निर्वाचन जितेका दीपक मनाङे यतिबेला जेलको हावा खाँदै छन् । मनाङेको खास नाम राजीव गुरुङ भए पनि गुण्डागर्दीका लागि विशेष चिनिएका उनलाई मनाङेकै रूपमा चिन्ने गरिन्छ । गुण्डागर्दी, अपहरण, हप्ताअसुलीजस्ता क्रियाकलापमा संलग्न भई खासगरी ठमेल क्षेत्रमा आतङ्क मच्चाएर सर्वसाधारणलाई सास्ती र प्रहरी प्रशासनलाई हैरानी दिएका मनाङेको पहुँच उतिबेलैदेखि प्रहरीको उच्च तहका हाकिमहरूसँग रहेकोले उनको दबदबा निकै बढेको थियो । तर, यस्ता पहुँचवाल ‘गुण्डा नाइके’लाई समेत पक्रिएर कानुनी कारबाहीको दायरामा ल्याउने हिम्मत गरे तत्कालीन प्रहरी इन्स्पेक्टर अशोक सिंहले । उनै अशोक जो यतिबेला प्रहरी उपरीक्षक तहमा रही कास्की प्रहरी प्रमुखका रूपमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेका छन् ।

आजभन्दा १३ वर्षअघि मनाङेलाई कारबाहीको दायरामा ल्याएकै कारण उनले पुलिस फोर्सभित्रकै केही उच्च ओहोदावालहरूबाट अन्याय खेप्नुप¥यो । बहुचर्चित सुडानकाण्डका एक नाइके प्रमाणित भई कारबाही भोगेका भूतपूर्व आईजीपी ओमविक्रम राणा त्यतिबेला डीआईजी ओहोदामा थिए, जसको कोपभाजनको सिकार बन्नुप¥यो अशोक सिंहजस्ता कर्तव्यनिष्ट प्रहरी अधिकृतले पनि । गुण्डानाइकेलाई कारबाही गरेकै कारण उनको बढुवामा रोकावट गरियो, फलतः अशोक सिंहले इन्स्पेक्टरकै रूपमा दश वर्षभन्दा बढी अवधि सेवा गर्नुपर्ने माहोल पैदा हुन पुग्यो ।

तथापि, निराश नभई आफ्नो दायित्व निर्वाहमा अशोक सिंहले झन् चमक देखाए । अपराध या आपराधिक प्रवृत्तिसँग पटक्कै सम्झौता नगर्ने उनको स्वभावका कारण एसपी अशोक सिंह यतिबेला नेपाल प्रहरीकै एक ‘शान’का रूपमा आफ्नो छवि निर्माण गरिरहेका छन्, कर्तव्य निर्वाहकै बलमा । यतिबेलाको एउटा रोचक संयोग के छ भने हालै मात्र पक्राउ परेर जेल चलान भएका मनाङेले मनाङबाट प्रदेश सभा सदस्य जितेर शपथ खाने अवस्थामा कास्कीको प्रहरी कमाण्ड अशोक सिंहकै मातहत परेको अवस्था रह्यो । यदि निर्वाचनको बेला जिल्ला प्रहरी प्रमुखको रूपमा एसपी सिंह कास्कीमा थिएनन् भने मनाङे आराम साथ प्रदेश सदस्यको रूपमा शपथ लिन सक्थे र सायद ‘सांसद’ पदको बलमा उनी कारबाहीबाट पनि बच्न सक्थे । मनाङे एसपी अशोक सिंहकै त्रासका कारण शपथ कार्यक्रममा सरिक हुन सकेनन् । प्रहरीलाई पटक–पटक छल्दै–झुक्याउँदै भाग्न सफल हुने गरे पनि पटक–पटक प्रहरी हिरासतमा पुगेका मनाङेले अशोक सिंहले पक्राउ गर्दा १३ वर्षअघि नै भनेका थिए, ‘पहिलोपटक प्रहरी गिरफ्तारीमा परेको महसुस गरेको छु ।’ अशोक सिंहको त्रास उनमा कति रहेछ भन्ने त्यसबाटै प्रमाणित भएको थियो ।

यसरी मनाङेलाई कारबाहीको दायरामा ल्याउन सार्थक भूमिका निर्वाह गरेकै कारण प्रहरी अधिकृत अशोक सिंहलाई डीएसपी बढुवामा पछाडि पारिएको थियो । तत्कालीन आईजीपी ओमविक्रम राणाले मनाङेलाई पक्राउ गरेको कारण सिंहलाई एक ब्याज जुनियरसँगै बढुवा गरेको सन्दर्भ अहिले पनि नेपाल प्रहरीभित्र चर्चाको विषय बन्ने गरेको छ । फिल्डमा अत्यन्त सफल प्रहरी अधिकृतको रूपमा चिनिएका सिंहलाई अबको बढुवामा अन्याय गर्न नहुने आवाज प्रहरीभित्रै उठ्न थालेको छ ।

समय–समयमा आवश्यकताले भन्दा पनि व्यक्तिका स्वार्थमा नियमावली परिवर्तन गर्ने गरिएबाट नेपाल प्रहरीले आलोचनाको सिकार हुनुपरेको यथार्थ छुपेको छैन । नियमावली परिवर्तन यतिबेलाको आवश्यकता होइन भन्ने विज्ञजनहरू बताउँछन् । यदि परिवर्तन गर्नैपरे पनि चारवर्षे सेवावधिलाई घटाएर तीन या दुईमा झार्नेतिर नलागी बरु त्यो प्रावधान नै नराखी इन्स्पेक्टरमा भर्ना हुँदाको ब्याचलाई आधार मानी कार्यक्षमता हेरेर बढुवाको प्रावधान राख्दा न्यायोचित हुने उनीहरूको सुझाव छ । अन्यथा शक्तिको दुरुपयोग गरी अस्वाभाविक रूपमा बढोत्तरीमा पर्दै आएकाहरू नै उपल्लो जिम्मेवारीमा पुग्ने र कर्तव्यनिष्ठताकै कारण अन्यायमा पारिएकाहरू फेरि पनि अन्यायमै पिल्सिनुपर्ने अवस्था पैदा हुन सक्छ । यस्तो भएमा सम्बन्धित प्रहरी अधिकृतमा निराशा छाउने मात्र होइन, प्रहरीको छवि झन् बिग्रने खतरा पनि उत्तिकै पैदा हुन्छ ।

यसर्थ, कुनै प्रहरीले अन्यायको अनुभूति गर्नु नपरोस्, विकृति–विसङ्गतिले कतै शिर उठाउन नपाओस् भन्नेमा सिभिल र पुलिसफोर्स दुवैतिरबाट आशा–भरोसा राखिएका अत्यन्त लोकप्रिय आईजीपी सर्वेन्द्र खनालबाट आवश्यक कदम चालिनेछ भनी विश्वस्त हुन सकिन्छ ।

– हेमराज शर्मा, स्याङ्जा, हाल : काठमाडौं