ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल

ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पार्वतीपुरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाए । ‘घोषणापत्रमा भत्ता रु पाँच हजार पु¥याउने भनिएको छ, योसँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ’, दाहालले भने ।

चितवनबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागिसमेत नमूना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताए ।

अहिले नै विभिन्न १५ वटा भित्री सडकमा कालोपत्रका लागि बजेट आइसकेको भन्दै अध्यक्ष दाहालले अब विकासले गति लिने उल्लेख गरे । स्थानीय कृष्ण चोकमा प्रहरी चौकी स्थापनाका लागिसमेत पहल शुरु भएको उनको भनाइ थियो ।

सो क्रममा वृद्धवृद्धाले वृद्धाश्रम निर्माण गर्न अध्यक्ष दाहालसँग माग गरेका थिए । दाहालले आश्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा यहाँका विभिन्न क्षेत्रका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । स्वास्थ्य शिविर भने आगामी १५ गतेसम्म सञ्चालन हुने स्थानीय नारायण आचार्यले जानकारी दिए ।