रातो मत्स्येन्द्रनाथको पाटन सवारीका सन्दर्भमा

रातो मत्स्येन्द्रनाथको पाटन सवारीका सन्दर्भमा


bichar—दैवज्ञ कीर्तिमदन जोशी
श्री आर्यावलोकितेश्वर करुणामय बुंगद्यः पद्मपाणि लोकनाथ सहकालका देवता आदि नामले पुकारिने श्री रातो मत्स्येन्द्रनाथको ६ महिना दक्षिणायनवास भुक्तानपश्चात् उत्तरायनवासको निमित्त पाटन सवारी चलाउने सिलसिलामा नेपाल सरकार, गुठी संस्थानले तोकिएको साइत हेर्ने दिनमा प्रमुख ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीसहितले दिन निश्चित गरी जुराइएको साइतअनुसार श्री रातो मत्स्येन्द्रनाथ ने.सं. ११३३ पोहेलाथ्व पौषशुक्लपक्ष द्वादशी तिथि तद्नुसार ०६९ माघ १० गते बुधबारका दिन सम्बन्धित पानेजुहरूबाट हुने तन्त्रोक्त विधिविधानअन्तर्गतको पूजा अर्चनापश्चात् श्री सूर्यउत्तरायनकाल ६ महिनाका लागि अपराह्नकालमा पाटनको दक्षिणी भेगमा अवस्थित बुंगमतीबाट सहकालका देवता करुणामय श्री रातो मत्स्येन्द्रनाथलाई श्रद्धालु भक्तजन एवम् बाजागाजा तथा शार्दुलजंग गुरुजु पल्टनका साथ उत्तरी भेग ललितपुर, पाटनमा सवारी चलाउँदै ल.पु. तःबहालस्थित प्राचीनतम् मच्छिन्द्रबहाल मन्दिरमा स्थापन गर्ने गरिन्छ । तत्पश्चात् स्नान्मण्डल, शूची, चाःपूजा, पीठपूजालगायतका सम्पूर्ण कार्यबाट निवृत्त भएर वैशाख कृष्ण प्रतिपदा तिथिमा श्रीकरुणामयको न्हवं (स्नान) अर्थात् मृत्यु एवम् पुनर्जन्म संस्कारको कार्य गरी तोकिएको तिथिमा म्हेपीद्वंबाट ल्याइएको माटोले मूर्ति सम्याउने, सफाइ एवम् रंगरोगन गर्ने र सूर्यदर्शन तथा अग्निदर्शन गराउने कृत्य एवम् अन्य कर्महरूसमेत सम्पन्न भएपछि तिथिगत वैशाख कृष्णपक्षमा बाराही एवम् ञवाल समुदायले रथ निर्माणकार्य प्रारम्भ गरी उही पक्षभित्रै तयार हुने गरिएको विशाल रथमा श्री रातो मत्स्येन्द्रनाथलाई वैशाख शुक्ल प्रतिपदा तिथिमा रथारोहण गराई अक्षय तृतीयाका दिन पुल्चोकस्थित घःमापाटी पनि भनिने मन्दः पाटीनिर रहेकी खड्गयोगिनी सन्मुख गौदानसहितको शान्ति स्वस्तिपश्चात् तिथिगत चौथी (चतुर्थी) तिथिमा श्रीजटाधारी मीननाथले नगरको सीमा नःटोल ललितपुरमा स्वागत गर्दै नगरवासीमा श्रीपद्मपाणि अवलोकितेश्वर करुणामयको दर्शन दिलाउने हेतु त्रिलोक भ्रमणस्वरूप ललितपुर नगर भ्रमणको लागि श्रीकरुणामय रातो मत्स्येन्द्रनाथको रथ यात्रारम्भ वा जात्रा प्रारम्भ हुने गर्दछ । धर्म, कला र संस्कृतिका धनी नेपालमा लिच्छविकालीन र मल्लकालीन समयमा स्थापित भएका पाँचवटा श्रीकरुणामय मत्स्येन्द्रनाथ छन् । तीमध्ये प्रख्यातचाहिँ ललितपुर, पाटनका श्री रातो मत्स्येन्द्रनाथ बुंगद्यः नै हुन् र अर्को चोभार, कीर्तिपुरका हुन् भने अर्को एउटा दोलखामा पनि छ र यी सबै राता छन् जब कि कान्तिपुर, काठमाडौंका र अर्को नाला, काभ्रेका श्वेत मत्स्येन्द्रनाथ हुन् । पाटन, दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरू परम्परागत रूपमा रथमा विराजमान भई सहर परिक्रमा गर्ने/गराउने गर्दछन् भने चोभार र नालाका मत्स्येन्द्रनाथहरू त्यसरी परिक्रमा गर्ने गर्दैनन् ।
श्री रातो मत्स्येन्द्रनाथ बुंगमतीबाट पाटन सवारी हुँदा १औँ शताब्दीमा निर्मित मच्छिन्द्रबहाल (तःबहाल)को मन्दिरमा राखिन्छ भने पाटनबाट बुंगमती सवारी हुँदा सहरबाट अलि पर रहेको जङ्गलमा अवस्थित त्यतिखेरै बनाइएको शिखर शैलीको मन्दिरमा राख्ने गरिन्छ । म्हेपिद्वों डाँडाको माटोले श्रीकरुणामयको मूर्ति बनाई कलशमा रहेको भँवरारूपी देवताको आत्म त्यस माटोको मूर्तिमा प्रतिस्थापन गरी सुरुमा राखिएको अमरपुर सहर कहलिने उक्त ठाउँ नै हालको बुंगमती हो । एक कथनअनुसार मुलुकमा बाह्र वर्षसम्म पानी नपरी सुक्खा भई दुर्भिक्ष वा अनिकाल भएको समयमा भक्तपुरका लिच्छविकालीन राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बज्राचार्य गुरु बन्धुदत्त बज्राचार्य र पाटनका कृषक रथचक्रले श्री करुणामयलाई आसामको कामरूपा कामाख्याबाट ल्याएको र त्यसरी श्री रातो मत्स्येन्द्रनाथलाई नेपालमा ल्याउने क्रममा फर्कंदै गर्दा श्री रातो मत्स्येन्द्रनाथलाई कहाँ विराजमान गराउने भन्ने विषयमा ती तीनजनाबीच आपसी सल्लाह भई एकजना ज्येष्ठ वृद्ध नागरिकलाई यस विषय छिनोफनो गर्न लगाउने सहमति भएअनुसार श्री रातो मत्स्येन्द्रनाथलाई ललितपुर, पाटनमा राख्नुपर्ने निर्णय भयो । यसरी श्री रातो मत्स्येन्द्रनाथलाई ल्याउँदै गर्दा बाटोमा पर्ने एउटा डरलाग्दो घनाजङ्गलमा पुग्दा चार भैरवमध्ये एउटा भैरव हरिसिद्धिले ‘भुँ वा बुँ’ गरी कुकुरले जस्तो भुकेको र यस्तैमा रथचक्रलाई श्री रातो मत्स्येन्द्रनाथ एकदम भारी भई बोक्नै नसक्ने भएको कुरा तीनैजनाले महसुस गरे र केही सीप नलागेपछि तिनीहरूले अन्तध्र्यान भई थाहा पाए कि श्री करुणामय रातो मत्स्येन्द्रनाथ यही स्थानमा बस्न चाहन्छन् । अतः तिनीहरूले आपसमा सरसल्लाह गरी उक्त स्थानमा श्री सूर्यदक्षिणायणभरि १२ पक्ष अर्थात् ६ महिनायतै राखेर श्री सूर्यउत्तरायणभरि १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र उता पाटनमा राख्ने निधो गरेअनुसार पाटनबाट दक्षिणायणको उक्त ठाउँ बुंगमती क्षेत्र रहेको स्थानमा नै श्री रातो मत्स्येन्द्रनाथ स्थापना गरी मानिसको बसोबाससमेत गराएर अमरपुर नामाकरण भएको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बुंगमतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि रहेको पाइन्छ ।
सम्भवतः ने.सं. ७४२ (वि.सं १६७८) तिर पाटनका धार्मिक राजा श्री सिद्धिनरसिं मल्लले नै ज्योतिषीहरूबाट साइत हेराई उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६–६ महिना पाटन र बुंगमतीमा राख्ने चलन चलाएको भन्ने पनि छ । श्री हिरण्यवर्ण महाविहारका तान्त्रिक बज्राचार्य गुरुभाजुहरूसमेतको उपस्थितिमा पाटन जोसिनः नी नागबहालबाट क्वालखुटोल सरेका प्रमुख ज्योतिषीको अगुवाइमा अन्य तीनजना ज्योतिषीसहित पाटनका चारजना यज्ञोपवित धारण गरेका पेंगःथांजोशी ज्योतिषीहरू ललितपुर मंगलबजारस्थित मणिमण्डप पाटीमा बसी प्रत्येक ६–६ महिनामा तय गरिने साइतका आधारमा श्री करुणामय रातो मत्स्येनद्रनाथलाई बुंगमतीबाट पाटनमा र पाटनबाट बुंगमतीमा सवारी चलाउने गरिन्छ, जसअनुसार प्रत्येक वर्षको सबभन्दा लामो रात अर्थात् छोटो दिन मानिने यः मधिपून्हीः (थिंसला वा थिंलापुन्हीः) अर्थात् मार्गशीर्षशुक्ल पूर्णिमा तिथिको समयतिर ६ महिनाका लागि बुंगमतीबाट पाटन (उत्तर) सवारी चलाई नयाँ भित्याएको धानको चामलबाट यःमधि रोटी बनाई पहिले अन्नदाता एवम् सहकालका देवतासमेत मानिने श्री करुणामय रातो मत्स्येन्द्रनाथलाई खुवाउने चलन छ र त्यस्तै, वर्षको सबभन्दा लामो दिन अर्थात् छोटो रात मानिने ज्याःपुन्हीः अर्थात् ज्येष्ठशुक्ल पूर्णिमा तिथिको समयतिर वर्षा गराई ६ महिनाका लागि पाटनबाट बुंगमती (दक्षिण) सवारी चलाउने प्रचलन पनि छ ।
करिब १६८० वर्षअघि वेदाङ्ग ज्योतिषकालमा उसबखत आकाशीय ग्रह–नक्षत्रसँग नमिलेको अयनांश गतिलाई आचार्य बराहमिहिरले निक्र्योल गरी सौरऋतुअनुसार माघ १ गते सूर्यले मकर राशिमा सङ्क्रमण गर्ने वा सर्ने भनी मिलाई तय गरिएको श्री सूर्यउत्तरायण र दक्षिणायण बिन्दुहरू करिब १३ सय वर्षको अन्तरालमा चान्द्रऋतुअनुसार पुनः फरक परी सो सुधार गर्नुपर्नाको कारण करिब ४०० वर्ष अगावै पूर्णिमाको समन्वयको आधारमा सूर्यको पथ वा मार्ग अर्थात् उत्तरायण र दक्षिणायण बिन्दुहरू निक्र्योलका साथ सुदृढ गरी उसबेलाका नेपाः मिहरूले केही हदसम्म पर्व वा समय सुधार गरिएको प्रमाणस्वरूप मार्गशीर्ष पूर्णिमामा यःमधिपुन्हीः कुथीधान्य थिंसलापुन्ही (धान्यपूर्णिमा) तय गरिएको र त्यस्तै, ज्येष्ठ पूर्णिमा अर्थात् ज्याःपुन्हीःका दिन पाटनको मंगलबजारमा गाइने मेघःमल्हार राग एवम् श्रीकृष्ण मन्दिरमा श्री श्रीनिवास मल्लकालीन राजसिंहासन प्रदर्शनलगायत मणिग्वःल राजप्रसाद भनिने पाटनको मंगलबजारको राजदरबारभित्र रहेको केशवनारायणचोकमा अवस्थित भगवान् श्री केशवनारायण मन्दिरभित्र रहेको केशवनारायण मूर्तिमा समेत घाम लाग्ने कुरो धेरैलाई थाहा नहुन सक्छ तर श्री करुणामय बुंगद्यः रातो मत्स्येन्द्रनाथको दक्षिणतिरको स्थानान्तरणलाई भने यकिनका साथ सबैले लिने गरेको पाइन्छ जुन ललितपुरवासीको गौरव मात्र नभएर त्यसबेलाको नेपालमण्डलका सबै नेपालभाषाभाषीहरूको साथै मेचीदेखि महाकालीसम्मको हालको विस्तृत विशाल नेपाल राष्ट्रकै गौरवमय इतिहास हो जुन अङ्ग्रेजहरूको चङ्गुलमा फसेका ग्रेग्रोरियन दिनदर्शिका अपनाउने विशाल भारतले पनि पाउन सकेको छैन । तर, हालको विशाल नेपाल मुलुकको सन्दर्भमा त्यो आंशिक सुधार मात्र ठहरिने भएकोले हाल परिवर्तित ऋतुजन्य आर्तवमान र अयनांशकालको बोध एवम् आकाशीय ग्रह गतिअनुसारका धर्म, कर्म, चाड पर्वादिहरूलाई सुदृढ गरी अब पूर्ण समय
(काल) सुधारको कार्य गरी अयनसङ्क्रान्तिमा सुधारिनु आवश्यक भइसकेको छ ।
सं. ७८६ तिर श्री श्रीनिवास मल्लको राज्यकालमा ललितपुर शंखमूल मृत्युञ्जयघाटनिर सुलिम्ह आगम् ज्योतिषी परिवारको कीर्ति उचा हुनेगरी सर्वसाधारणको हितार्थ सत्तल पाटी निर्माण गरी शिलापत्रसमेत स्थापना गरेका भारदारी मन्त्री हाम्रा पुर्खा राजज्योतिषी कीर्तिसिंह भारोको पालामा ज्योतिषशास्त्रअनुसार अयनांश करिब १९ अंश फरक भएकोले अयनपूर्णिमाहरूमा सुधार गरी पूर्णिमाहरूलाई पौष पूर्णिमाबाट मार्गशीर्ष पूर्णिमा र आषाढ पूर्णिमाबाट ज्येष्ठ पूर्णिमा गरी तय गरी सुधारिएको कारण श्री रातो मत्स्येन्द्रनाथ करुणामयको ६–६ महिना उत्तरायण (पाटन) र दक्षिणायण (बुंगमती) बास भई श्री सूर्यदक्षिणायण र उत्तरायणको महिमासँग सम्बन्धित सबभन्दा लामो रात मानिने यःमधिपून्हीःको रातमा सुतेर पनि सुत्न नपुग्ने र ज्याःपून्हीः जस्तो सबभन्दा लामो दिनमा काम गरेर पनि खान नपुग्ने मानिसहरूले कहिल्यै पनि चित्त, सुख, शान्ति पाउँदैनन् भन्ने नेपालभाषाभाषी नेपाःमीमा जनश्रुति रहेको तथ्य अद्यापि सबैमा जगजाहेर नै छ । पर्वहरू पूर्णिमामा आधारित भएको र पूर्णिमान्त चान्द्रऋतु सौरऋतुको १५ दिन अघिपछि हुने हुँदा पूर्णिमान्त चान्द्रऋतुको मध्यस्थिति पनि सौरऋतु हो र पूर्णिमा सौरसङ्क्रान्तिबाट १५ दिन अघिपछि हुने हुँदा चान्द्रसङ्क्रान्तिको मध्यमान पनि सौरसङ्क्रान्ति नै भएकाले मार्गशीर्ष पूर्णिमाको मध्यमान पौषसङ्क्रान्ति हुने हुन्छ । यसरी पौष पूर्णिमा क्षेत्रले खेल्ने माघस्नान पनि हाल मार्गशीर्ष पूर्णिमा क्षेत्रले समाइसकेको हुँदा वत्र्तमान कालमा पनि ऋतुसहित पूर्णिमा क्षेत्र करिब एकमास अघि सरिसकेको अनुभव गर्न सकिन्छ (यसको पुष्ट्याइँको निमित्त विद्वान्जनले जाँच गरी प्रत्यक्ष अनुभव गर्न सकिन्छ) । सोको आधारमा पनि हाल विद्यमान हाम्रा पर्वहरूको समयमा पनि यथाशीघ्र एक पूर्णिमा क्षेत्र सुधार गर्नुपर्ने आवश्यक भइसक्यो भन्ने महसुस गर्न सकिन्छ र यस्तो महत्वपूर्ण विषयमा सबैले आफ्नो मनमस्तिष्कले पनि उक्त ऋतुजन्य आर्तवमान परिर्वतन भएको महसुस गर्नुभएको रहेछ भने सो सुधारको कार्यमा देश र जनताका लागि सबै लाग्नु जरुरी भइसक्यो । वेदाङ्ग ज्योतिषकालअघि माघेसङ्क्रान्ति माघको २३ गते परेकोलाई आचार्य बराहमिहिरले करिब १६८० वर्षअघि माघ १ गते गरी सच्याइएकोलाई समयानुकूल सुधार नगरी हालसम्म पनि सो नै ठीक छ भनी मान्दै व्यवहार चलाई आइरहनु मूर्खतापूर्ण हुने भएकोले सो अब हामीले सुधार्नुपर्दछ अन्यथा मुलुकका लागि दुर्भाग्य र विडम्बना नै भन्नुपर्ने हुन्छ । कारण, ‘मासप्रमितश् चन्द्रमाः मासं प्रमातुम् आरब्धः प्रतिपच्चन्द्रमाः इत्यर्थः’ । अतः मुलुकको हालको गतिविधि प्रकृतिको नियम र आकाशको घटनासँग मेल नखाने भएकाले समयानुकूल छैन र सो सुधार नभएमा मुलुकले समय बलवान्को आख्यानलाई समेत नकारेको ठहरिई भविष्यमा मुलुक अधोगतितिर लाग्ने निश्चित छ ।
(लेखक श्री रातो मत्स्येन्द्रनाथ करुमणामयको प्रमुख ज्योतिषी खलक सदस्य हुन् । )