सन् २०३० को परिदृश्यलाई अनुमोदन

सन् २०३० को परिदृश्यलाई अनुमोदन


‘नेपाललाई हरियाली बनाउँ’ भन्ने अभियानलाई पूरा गर्न बिहीबार राजधानीमा सम्पन्न दुई दिवसीय सम्मेलनले सन् २०३० को परिदृश्यलाई अनुमोदन गरेको छ ।

‘सप्रोस नेपाल’ नामक संस्थाको आयोजनामा भएको सो सम्मेलनमा सहभागीले कृषि, ऊर्जामा आत्मनिर्भर बन्न जैविक कृषि बालीको उत्पादन गरी खाद्यान्नको आन्तरिक मागलाई जैविक उत्पादनले नै पूरा गर्नुपर्ने, नवीकरणीय ऊर्जाका स्रोत साधनको उपयोगबाट रोजगारी सिर्जना भई गरिबी निवारण गर्न सकिनेलगायतका अवधारणाहरु परिदृश्यमा समावेश गरिएका छन् ।

सूचना तथा प्रविधिको विकासलाई कृषि उत्पादनसँग जोड्ने र नयाँ रोजगारीको अवसरको सिर्जना गर्ने, कृषिको उत्पादकत्वमा वृद्धि र जलवायु परिवर्तनको समस्या न्यूनीकरण गरी गरिबी निवारण गर्नका लागि बजारमा उत्पादक तथा उपभोक्ताको पहँुच विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।

वन फँडानीलाई रोक्ने, वृक्षरोपणमा वृद्धि गरी प्रतिव्यक्ति आवश्यकपर्ने रुख संख्याको वृद्धि गर्ने, उद्योग तथा यातायात क्षेत्रमा उपयोग भइरहेको, ऊर्जालाई आन्तरिकरुपमा उत्पादन हुने नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने व्यवस्था मिलाउन सुझाइएको छ ।

अन्तराष्ट्रिय समुदायलाई सन् २०३० सम्म दिगो विकास लक्ष्य र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता गरेर त्यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

सम्मेलनमा भोकमरीजस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तीकरणका विषय, दिगो विकास लक्ष्यप्राप्त गर्नेलगायत विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन उक्त संस्थाले विभिन्न व्यावसायिक सीप तथा तालीम उपलब्ध गराएको जनाइएको छ ।

सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले सम्मेलनले मुलुकमा पूर्वाधार विकास, कृषि, नवीकरणीय ऊर्जालगायत विविध क्षेत्रमा गरिने लगानीबाट आउने प्रतिफलले स्थानीय समुदायलाई लाभान्वित बनाउनसकेमा मात्र सामाजिक रुपान्तरण हुनसक्ने विचार व्यक्त गरे । राससका अनुसार सम्मेलनमा करीब २०० जनाको सहभागिता थियो ।