शितगंगाका युवा सामाजिक कार्यमा अग्रसर

शितगंगाका युवा सामाजिक कार्यमा अग्रसर


– मुक्तिनाथ भुसाल

शितगंगा नगरपालिका (अर्घाखाँची)का युवाहरू सामाजिक कार्यमा सक्रिय बन्दै अघिबढेका छन् । शितगंगा सेवा समाज नामक संस्था स्थापना गरी समाजसेवामा हौसिएका युवाहरूले विभिन्न विद्यालयमा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिरहेका छन् । सामुदायिक विद्यालयमा पठनपाठन गर्नेहरू कम्प्युटर शिक्षामा सक्षम बन्नुपर्छ भन्ने मान्यतामा उनीहरू दृढ रहेका छन् ।

हालसम्म सातवटा विद्यालयहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराइसकेका उनीहरूले सम्बन्धित विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी र स्वदेश तथा विदेशमा रहेका युवाहरूले आपसमा रकम संकलन गरि करिव ३० लाख मुल्य बराबरको योगदान पुर्याइसकेको संरक्षक भीम खनालले जानकारी दिए ।

कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टरहरू विद्यालयलाई निःशुल्क प्रदान गर्दैगर्दा सम्बन्धित क्षेत्रका जेष्ठनागरिक तथा विकलाङ्गीहरूलाई शुरुमा सम्मान गर्ने गरिएको छ । यसका साथै विद्यालयमा रहेका दलित छात्रछात्रा तथा प्रथम, द्वित्तिय र तृतीय बनेकाहरूलाई पुरस्कृत गरि हौसला दिने कार्यमा पनि कन्जुस्याइँ नगरिएको पाइन्छ ।

गत मंगलबार गौरा मावि रजियामा सम्पन्न शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख सुर्यप्रसाद अधिकारीले आयोजक संस्थालाई धन्यवाद दिँदै विकास निर्माणमा कसैलाई पनि राजनीति नगर्न र नामकाजी (नाम कमाउने महत्वाकांक्षा)मा भन्दा पनि कामकाजी (कर्म वा सेवा)मा विश्वास राख्न सहभागीहरूलाई अपिल गरेका थिए ।

यसभन्दा अगाडि नगरपालिकाको शिवादह र सितापुरमा आयोजित कार्यक्रममा जिल्लाका कलाकारहरूलाई जुटाएर स्थानीयहरूलाई मनोरन्जन समेत दिलाएका युवाहरूले समाज परिवर्तनका लागि राज्यको मात्रै मुख ताक्नु उपयुक्त नहुने सन्देश दिएका छन् ।