प्रतिश जिसीले चार विकेट लिएपछि फस्ट मनमोहन मेमोरियल यु १६ इन्टर प्रोभिन्स क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको छ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर आयोजना गरेको प्रतियोगिताको पहिलो खेल त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो । सो खेलमा प्रदेश नम्बर तीनले १ सय २० रनको लक्ष्य ८ विकेट क्षतिमा २८ ओभरमा प्राप्त गरेको थियो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको प्रदेश नम्बर एकले खराब शुरुवात गरेको थियो । टिमले खाता नखोल्दै २ विकेट गुमाएको प्रदेश नम्बर एकले ६ विकेट गुमाउँदै निर्धारित ३० ओभरमा १ सय १९ रन बनाएको थियो । प्रदेश नम्बर एकका विवेक मेहताले ६५ बल खेल्दै नट आउट ५६ रन बनाएका थिए । मेहताले आफ्नो इनिङमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।
प्रदेश नम्बर एकका लागि अभिषेक बराल र विवेक मेहताले ४५ रनको साझेदारी गरेका थिए । बरालले ४२ बल खेल्दै २० रन बनाए । त्यसैगरी छैठौ विकेटका लागि मेहता र दीपेश कडेलले २४ रन बनाएका थिए । प्रदेश नम्बर एकको इनिङ सम्हालेका मेहताले ६१ बलमै ५० रन बनाएका थिए ।
प्रदेश नम्बर एकका तीन ब्याट्सम्यानले खाता समेत खेल्न सकेनन् । राजन मगर, अंकित श्रेष्ठ र नभनीत कर्ण शुन्यमा आउट भए । लभ कामतले १ र विवेक बुढाथोकीले २ रन बनाए । प्रदेश नम्बर एकले १६ रन अतिरिक्तबाट प्राप्त गरेको थियो ।
प्रत्युत्तरमा ब्याटिङ उत्रिएको प्रदेश नम्बर तीनका लागि सुशान्त कार्कीले ३२ रन बनाए । त्यसै अशोक पौडेलले २४, अभिषेक बस्नेतले १९ रन बनाए । प्रदेश नम्बर तीनका ओपनर दीपक बोहोराले ६ र ऐश भट्टराईले १० रन बनाए । संभव श्रेष्ठले १२, सन्देश कार्की र अदित सुवेदीले १–१ रन बनाए । प्रतिश जिसी पहिलो बलमा आउट भएका थिए । प्रदेश नम्बर एकका लागि लभ कामत, दीपेश कडेल, श्रवण किस्कु, समीर तिमल्सिना र विवेक मेहताले एक एक विकेट लिए ।
६ ओभर बलिङ गरेका म्यान अफ द म्याच जिसीले एक मेडन ओभर सहित ११ रन दिएर ४ विकेट लिएका थिए । त्यसैगरी गौरव कटवालले एक विकेट लिए । प्रदेश नम्बर एकका एक खेलाडी रन आउट भएका थिए ।
६ दिन चाल्ने प्रतियोगितामा वैशाख १४ गते शुक्रवार बिहान समूह ‘ए’का प्रदेश नम्बर ४ र प्रदेश नम्बर २ र दिउँसो सोही समूहका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ बीच खेल हुने छ । समुह ए मा प्रदेश नम्बर १, ३ र ६ र समूह बीमा प्रदेश नम्बर २, ४, ५ र ७ रहेका छन् । शीर्ष स्थानमा रहने टुई टोली सेमीफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराईले ब्याटिङ गर्दै गरेका थिए । भट्टराईलाई खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेले पालै पालो बलिङ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै भट्टराईले नेपाली क्रिकेटमा देखिएको विवाद चाँडै समाधान हुने आशा लिएको बताए ।
प्रतिक्रिया