प्रचण्ड–धम्कीको निहितार्थ

प्रचण्ड–धम्कीको निहितार्थ


sampadakeeyaकेहीअघि मात्र सहमतीय सरकारको प्रधानमन्त्रीका रूपमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई अगाडि सार्ने निर्णय गर्दै ‘देश सहमतिमा गएको’ उद्घोष गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिबेला शान्तिसम्झौता च्यातेर विद्रोहमा जाने धम्की दिन थालेका छन् । सहमतिको प्रयास भन्दै केही साता छलफलरूपी नाटक मञ्चनमा समय खर्चिएर देश, जनता र राजनीतिक दलहरूलाई अलमल्याएका दाहालले विद्रोहको धम्की दिनुअघि आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको अभिव्यक्ति पनि दिए । दाहालको पार्टी यतिबेला सत्ताको नेतृत्व गरिरहेको छ, आफूखुसी ढङ्गमा सर्वत्र हालिमुहाली गरिरहेको छ– यो दुनियाँले देखेको सत्य हो । तर, यसरी निरङ्कुश शैलीमा मुलुकमा राज गरिरहेको एमाओवादी पार्टीलाई कसले कसरी घेराबन्दीमा पा¥यो भन्नेचाहिँ कसैले देख्न, बुझ्न या अनुभूति गर्न सकेका छैनन् । पुष्पकमल ‘प्रचण्ड’ जे दाबी गरिरहेछन् यो सत्य होइन भन्ने अरू त अरू, स्वयम् दाहालकै अन्तरमनले पनि स्वीकार गरिरहेकै हुनुपर्छ, यदि किञ्चित पनि उनमा इमानदारी र नैतिकता बाँकी छ भने । यस आधारमा स्पष्टै भएको छ, दाहाल र उनको दल देशलाई दलदलमा धसाउन अझै थप ढाेंग र जालझेल रच्ने पक्षमै छन्, सर्वसत्तावादी शासन लाद्न एमाओवादी नेतृत्व कुनै कसर बाँकी राख्ने पक्षमा छैन । एमाओवादीलाई चिन्नेहरूका लागि यो कुनै नौलो र आश्चर्यपूर्ण नभए पनि मुलुकलाई शान्त र समृद्धितर्फ अग्रसर भएको देख्न चाहने आमनेपालीका निम्ति भने निश्चय पनि दुःखद् सन्दर्भ हो ।
यतिबेला रोचक तर गम्भीर विषय यो बन्न पुगेको छ कि पुष्पकमल दाहालले आफैँ प्रधानमन्त्री बन्न चाहेको कुरा खुलस्त गरेका छन् । दाहालको स्वभाव, चाहना र उद्देश्य बुझ्ने जो–कसैका लागि यो आश्चर्यपूर्ण छैन कि उनले आफैँ प्रधानमन्त्री बन्न चाहेको कुरा अभिव्यक्त गरे । मुलुकका लागि सहमतिको प्रधानमन्त्री खोज्न ‘गम्भीरताका साथ लागिपरेका’ उनले अन्ततः त्यो प्रधानमन्त्री अरू कोही होइन आफैँ भएको बताउन अनौपचारिक रूपमै सही, कमसेकम साहस गरेकै हुन् । दाहालको नियत र निछट्टोपनसँग थप परिचित हुन देश र दुनियाँलाई अवसर मिलेको सन्दर्भका रूपमा पनि यसलाई लिन सकिन्छ । तर, दाहालका सबभन्दा निकट रहेकाहरूले नै ‘अहिले नै अध्यक्षज्यू प्रधानमन्त्रीको दाबेदार हुनुहुन्न’ भन्दै आएका परिवेशमा अचानक प्रधानमन्त्री बनिहाल्नुपर्ने बाध्यता पुष्पकमल दाहाललाई किन प¥यो भन्ने प्रश्नचाहिँ अत्यन्त मननीय हुन आउँछ । दाहालले आफ्नो पार्टीभित्रका प्रतिस्पर्धी बाबुराम भट्टराईकै समक्ष उक्त चाहना प्रकट गरेका छन् र हाल प्रधानमन्त्री रहेका तथा रहिरहने आकाङ्क्षा हुर्काउन थालेको भनिएका डा. भट्टराईले समेत दाहालको यस मनोकाङ्क्षाको प्रतिवाद नगरी उल्टै सकारात्मक सङ्केत दर्शाइदिएका छन् । गम्भीर पाटो पनि यही नै हो । अर्थात्, अन्तरदलीय फुट र गुटका गुजुल्टा सबै एकातिर गुम्स्याएर ‘एकढिक्का’ भई सत्ता कब्जा गर्ने नीतिलाई एमाओवादी तत्काल अवलम्बन गर्न उद्यत् बन्न पुगेको छ । बेलायतमा नेपाली सेनाका कर्णेल मानवाधिकार हननको दोषीका रूपमा पक्राउ परेपछि झस्किएका र पत्रकार डेकेन्द्र थापाको मुद्दा चर्किएबाट थप चस्किएका ‘माओवादी कमाण्डर’ हरू आफूलाई सुरक्षित तुल्याउनका लागि सत्ताबाहेक अरू विकल्प नै नरहेको विश्लेषणमा पुगेको कुराको दर्बिलो प्रमाण पनि हो– पुष्पकमल दाहालले सहमतिका प्रयास सर्लक्क एकातिर पन्छाएर आफू प्रधानमन्त्री बन्न इच्छुक रहेको सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भ । विपक्षी दलका नेताहरू जसले प्रचण्डको असलियत बुझेका थिएनन् या बुझेर पनि स्वार्थवश नबुझेको स्वाङ रचिरहेका थिए, तिनका लागि त यो एक चोटिलो पाठ हुँदै हो, बुझ्नेहरूका लागि पनि लोकतन्त्र जोगाएर मुलुकलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउने सवालमा यो अत्यन्त गम्भीर सङ्केत या सन्देश हो ।
यतिबेला आएर पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको हवाला दिँदै ‘गिरिजाबाबुपछि यो मुलुकलाई बोक्न सक्ने मै त हुँ’ भन्ने निर्लज्ज हुँकार जो छेडेका छन्, पार्टीप्रतिको निष्ठा तथा त्याग र सिद्धान्तप्रतिको अडिग समर्पणभावका कारण गिरिजाप्रसादका अनन्य विश्वासीका रूपमा समेत रहिसकेका काङ्ग्रेस सभापति सुशील कोइराला पनि दाहालको यस खोक्रो दम्भ देखेर चकित परे होलान् । अझ महत्वपूर्ण त पार्टीकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका केही व्यक्तिले निर्वाह गरेको भष्मासुर प्रवृत्तिबारे बुझ्ने अवसरका रूपमा पनि सभापति कोइरालाले पछिल्ला घटनाक्रमलाई आत्मसात् गर्न सके होलान् । हालका लागि कोइरालाले यत्ति मात्र महसुस गर्न सके पनि आमप्रजातन्त्र पक्षधरहरूका लागि राहतकै विषय हुनेछ ।