टिपीएस खारेज गर्ने निर्णय अमानवीय कदम : डेमोक्र्याट हाउस ककस अध्यक्ष जो क्राउली

टिपीएस खारेज गर्ने निर्णय अमानवीय कदम : डेमोक्र्याट हाउस ककस अध्यक्ष जो क्राउली


पुरुषोत्तम ढकाल (लसएन्जल्स)

अमेरिकामा बसोबास गर्दै आएका कागजपत्रविहीन नेपालीले पाउँदै आएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा खारेज गरी उनीहरुलाई डिपोर्टेसन गर्ने ट्रम्प प्रशासनको निर्णयलगत्तै डेमोक्र्याट्स सांसदहरुले सोच्नै नसकिने अमानवीय कदम भएको प्रतिक्रिया दिएका छन् ।

गत विहिबार अमेरिकी सरकारले यहाँ रहेका कागजपत्रविहीन नेपालीहरुलाई सन् २०१५ मा गएको प्रलयकारी भुकम्पपछि प्रदान गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस)सुविधा खारेज गर्ने निर्णय गरेको थियो ।

डेमोक्र्याट हाउस ककस अध्यक्ष जो क्राउली र कांग्रेस वुमेन ग्रेस मेंगले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै भनेका छन्, ‘सन २०१५ मा गएको प्रलयकारी भुकम्पपछि हजारौँ नेपालीले मृत्युवरण गरे र घरबारविहीन बने र त्यतिबेला नेपालीको दुःखमा सहयोग पुर्याउन अमेरिकी सरकारले प्रदान गरेको टिपीएस सुविधा खारेज गरेर उनीहरुलाई स्वदेश फर्काउने ट्रंप प्रशासनको निर्णय अमेरिकी मूल्य मान्यताविपरीतको अत्यन्त अमानवीय र दुखद कदम हो ।’

विज्ञाप्तिमा जो र मेंगले अगाडि भनेका छन्, ‘राष्ट्रपति ट्रम्पको आप्रवाशीविरोधी नीतिकै निरन्तरतास्वरुप कागजपत्रविहीन नेपालीले पाउँदै आएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा खारेज गरिएको हो र यो अमेरिकी मूल्य मान्यताविपरितको अमानवीय कदम हो ।’

गत महिना कांग्रेस वुमेन मेंग, डेमोक्र्याट हाउस ककस अध्यक्ष क्राउली र जेर्ड पोलिसले दर्जनौँ जनप्रतिनिधिहरुको समर्थनमा कागजपत्रविहीन नेपालीले प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा नवीकरण गर्न ट्रम्प प्रशासनलाई हस्ताक्षर अभियानमार्फत आग्रह गरेका थिए । नेपालमा गएको सन् २०१५ को प्रलयकारी भुकम्पलगत्तै कांग्रेस वुमेन मेंग र हाउस प्रतिनिधि क्राउलीले अमेरिकामा रहेका नेपालीलाई टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्रदान गर्न तत्कालिन राष्ट्रपति बराक ओबामालाई आग्रह गरेलगत्तै ओबामा प्रशासनले त्यतिबेला अमेरिकामा रहेका नेपालीका हकमा तत्कालै यो सुविधा प्रदान गरेको थियो ।

सन् २०१५ मा गएको प्रलयकारी भुकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहीन करीव नौ हजार नेपालीहले टेम्पोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्राप्त गरेका थिए ।