किशुनजीको अन्तर्वार्ता रेकर्ड नभएको त्यो दिन

किशुनजीको अन्तर्वार्ता रेकर्ड नभएको त्यो दिन


-कुसुम भट्टराई
कुनै बेला पत्रकारलाई सबैभन्दा बढी तलब दिने पत्रिका थियो- जनमञ्च साप्ताहिक । किशुनजीको ‘लाइन’मा निस्कने ‘जनमञ्च साप्ताहिक’ बन्द भएको धेरै वर्ष भइसक्यो । सो पत्रिकामा कुनैबेला कार्यरत अधिकांश पत्रकार अहिले पत्रकारिताको मूलधारमै छन् । जनमञ्चमा सम्पादक रहिसकेका मुकुन्द पराजुली र बालमुकुन्ददेव पाण्डे हामीमाझ सशरीर हुनुहुन्न । सोही पत्रिकाका हर्ताकर्ता देवप्रकाश त्रिपाठी अहिले पत्रकारिता, साहित्य र जलस्रोतका आयामहरूमा रमाइरहनुभएको छ । जीवेन्द्र सिम्खडा अन्नपूर्ण पोष्ट दैनिकको सम्पादक हुनुहुन्छ भने नारायण वाग्ले नागरिक दैनिकका सम्पादक हुनुहुन्छ । जनमञ्चममा कार्यरत रहेर किशुनजीका हरेक क्षणको तस्बिर खिच्न पाउनुभएका चन्द्रशेखर कार्की अहिले नागरिक दैनिकमै हुनुहुन्छ । किशुनजीका स्नेही पात्र रेवतीरमण सुवेदी अहिले पनि लेखनकार्यमै दत्तचित्त भएर लागिरहनुभएकै छ । जनमञ्चकै संवाददाता गृष्मा ताम्राकार अहिले इजेज च्यानलमा हुनुहुन्छ । रमेश केसी धरानमै रहेर दार्शनिक लेखनमा व्यस्त हुनुहुन्छ ।
यी नामहरू मैले जति उल्लेख गरेँ, उहाँहरूसँग मेरो सहकार्य भयो । अर्ढाई वर्षसम्म जनमञ्चमा कार्यरत रहने क्रममा रेवतीरमण सुवेदीमार्फत एकाधपटक मेरो किशुनजीसँग आमने-सामने वार्तालाप भएको हो । त्यसमध्ये एउटा रोचक घटना सुनाउन गइरहेको छु । सायद यो, २०५० सालको घटना हो । त्यसबेला किशुनजी नेपाली काङ्ग्रेसका सभापति हुनुहुन्थ्यो । जनमञ्चमा उहाँका लागि अन्तर्वार्ता लिने कुरा चल्यो । सम्बन्धित च्यानलमार्फत कुरा मिलाएर रेवतीरमण सुवेदीको कृपाबमोजिम म किशुनजीको अन्तर्वार्ता लिन सानो क्यासेट प्लेयर बोकेर नयाँ बानेश्वरस्थित नेपाली काङ्ग्रेसको तत्कालीन केन्द्रीय कार्यालय भवनको तीन तलामाथि उक्लिएँ ।
किशुनजी बसिरहनुभएको कोठामा पुग्दा त त्यहाँ अन्य तीन-चारजना पत्रकार पनि रहेछन् । म पुगेपछि किशुनजी र पत्रकारको प्रश्नोत्तर सुरु भयो । मैले आफ्नो साथमा भएको क्यासेट प्लेयर अन गरेर किशुनजी बसिरहनुभएको सोफाअगाडि रहेको टी-टेबलमा राखेँ । म किशुनजीलाई नजिकबाट देख्न पाएको क्षणको रसपानमै मख्ख थिएँ । किशुनजी पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बारम्बार मैले टेबलमा राखेको क्यासेट प्लेयरतर्फ हेरिरहनुहुन्थ्यो । हरेक प्रश्नको उत्तर दिने क्रममा उहाँ मेरो क्यासेट प्लेयर नियाल्नुहुन्थ्यो ।
करिब आधा घन्टाको प्रश्नोत्तरपछि किशुनजीले भन्नुभयो, ‘अब त धेरै मसला भयो होला तपाईंहरूलाई ।’ त्यसपछि उहाँसँग बिदा भएर अन्य पत्रकारसँगै म पनि सरासर जनमञ्चको त्रिपुरेश्वरस्थित कार्यालय पुगेँ । तर नियतिले ‘महा धोका’ दियो । किशुनजीको अन्तर्वार्ता क्यासेटबाट उतार्न भनेर क्यासेट प्लेयर ‘अन’ गर्दा भरतमोहन अधिकारीको अन्तर्वार्ता पो सुनियो । करिब आधा घन्टासम्म क्यासेटको दुवै साइड रिवाइन्ड र फरवार्ड गरेर सुन्दा पनि कतै किशुनजीको अन्तर्वार्ता सुनिएन । पर्‍यो वित्यास । त्यसमाथि जनमञ्च त त्यतिबेला किशुनजीको मुखपत्र नै मानिने ।
भएको के रहेछ भने मैले क्यासेट प्लेयर अन गरे पनि ‘पज’ लेखेको स्वीच सार्न भुलेको रहेछु । जसका कारण क्यासेटको मोटर घुमेन । अनि किशुनजीको भनाइ रेकर्ड भएन । मलाई बल्ल किशुनजीले बारम्बार क्यासेट प्लेयरतर्फ दृष्टि केन्द्रित गर्नुको रहस्य थाहा भयो । सायद क्यासेट नघुमेको देखेर उहाँले त्यसो गर्नुभएको हुनसक्छ । त्यो सङ्केत बुझेर मैले क्यासेट चक्का घुमे-नघुमेको हेरेको भए सायद सङ्कट पर्ने थिएन । पछि अर्का एक हितैषी पत्रकारको सहयोगबाट किशुनजीको अन्तर्वार्ता बल्लतल्ल छापियो । सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेता ख्रुश्चेभको अन्तर्वार्ता लिने पहिलो विदेशी पत्रकार किशुनजीको अन्तर्वार्ता लिँदाको त्यो सन्दर्भ मैले अस्ति झलझली सम्झिएँ, जतिबेला उहाँको शव चितामा जलिरहेको थियो ।