आर्मी र समृद्धिलाई बास्केबल च्याम्पियन

आर्मी र समृद्धिलाई बास्केबल च्याम्पियन


नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जितसंगै आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बन्न सफल भएका छन् ।

विशाल मिलन केन्द्रको कोर्टमा भएको पुरुषको फाइनलमा आर्मीले बुढानीलकण्ठलाई ९२–८१ ले पराजित गरेको हो । आर्मीको जितमा रविन खत्रीले २० अंक योगदान गरेका थिए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पारे ।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा समृद्धि बुढानीलकण्ठलाई ४४–३८ ले पराजित गरेको हो । समृद्धिकी लुनिभा सिंहले २४ स्कोर गरेकि थिइन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पारे ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रविन र लुनिभा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ बने । पुरुषमा विराज राणा र महिलामा प्रीति तुलाचन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर विराजले १ सय ८५ र प्रीतिले ७५ स्कोर गरका थिए । रविन र विराजले समान १०–१० हजार पाए भने लुनिभा र प्रीतिले जनही ५ हजार नगद हात पारे ।

विजेतालाई रक्षा मन्त्री ईश्वर पोखरेल, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । प्रतियोगितामा पुरुषमा ९ र महिलामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।