राष्ट्रिय खेलकुद परिषद्को स्पोर्टस साइन्स एकेडेमी अफ नेपाल अन्र्तगत यूवा परियोजनाको खेलकुद कार्यक्रम मोरङमा सुरु भएको छ । वैशाख १६ गते शनिबारदेखि सुरु भएको पहिलो चरणको कार्यक्रममा विराटनगर महानगरपालिकाका नीजि तथा सामुदायिक विद्यालयका १ सय ४० जना विद्यार्थीको सहभागिता रहेको छ ।
५२ सातासम्म चल्ने कार्यक्रमको उद्घाटनका क्रममा स्पोर्टस साइन्स एकेडेमीका निर्देशक नविन उप्रेतिले खेलकुदको विकासका लागि यस प्रकारको कार्यक्रम दीर्घकालका लागि उपयोगी हुने बताए । परिषद् अब खेलाडीको संख्या भन्दापनि योग्य र क्षमतावान खेलाडी तयार गर्न अग्रसर भएको उप्रेतिले बताए ।
तीन महिनापछि, उत्कृष्ट खेलाडी चयन हुने स्पोटर्स साइन्स एकेडेमी अफ नेपाल सानले जनाएको छ । उत्कृष्ठ खेलाडीले पोशाक, त्यसपछि बाँकि रहेको तालिमको खर्चमा मासिक ४ हजार रुपैयाँ पाउनेछन् । ती खेलाडी विद्यार्थीले स्थानीयस्तरकै विद्यालयमा छात्रवृत्ति समेत पाउनेछन् ।
शनिबार र विदाको दिनमात्र तालिम दिइने भएकाले पढाइसंगै खेल खेल्न समय मिलेको छ । यो कार्यक्रमले विद्यार्थीहरुबीच एक अर्कामा परिचय गराउने तथा अतिरिक्त समय शारिरीक ब्यायाम पनि हुनेछ । ५२ सातापछि यहि कार्यक्रममा सहभागिहरुबाट दोश्रो चरणका लागि खेलाडीको चयन हुनेछ । सो क्रममा तालिमप्राप्त विद्यार्थी खेलाडीको सैद्धान्तिक तथा ब्यवहारिक परिक्षा लिइनेछ । उक्त परिक्षामा उतिर्ण हुने विद्यार्थीले दोश्रो चरणमा सहभागिता जनाउनेछन् ।
हाल तालिममा १ सय ४० जना विद्यार्थीको सहभागिता रहेको छ । उक्त तालिममा १२ वर्षमूनिको पहिलो समूह, १२ देखि १४ वर्ष उमेरको दोश्रो समूह र १४ देखि १६ वर्ष उमेरको तेश्रो समूह छ । तालिममा फुटबलमा १ सय २०, क्रिकेटमा १५, टेबलटेनिसमा १० र ५ जना ब्याडमिन्टनमा रहेकाछन् ।
त्यसैगरि मोरङको बेलबारीमा समेत फुटबलका लागि १ सय जनाको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तलिमका लागि मासिक ५ सय रुपैया शुल्क खर्च विद्यार्थीका अभिभावकले तिर्नुपर्ने छ ।
त्यस्तै खेलकुद कार्यक्रम हाल जुम्लामा म्याराथन, इटहरी र महेन्द्रनगरमा कबड्डी, बार्दियामा स्प्रिन्टर र मिडिल डिसटेन्ट, पोखरा र काठमाडौंमा भलिबलको तालिम सुरु भइसकेको छ । त्यसैगरि बक्सिङ र टेबल टेनिसका लागि धरानमा पनि कार्यक्रम सुरु हुने सानका निर्देशक उप्रेतिले जानकारी गराएका छन् ।

प्रतिक्रिया