राष्ट्रिय खुला कुस्ती प्रतियोगितामा सम्पन्न

राष्ट्रिय खुला कुस्ती प्रतियोगितामा सम्पन्न


कुन्दन शाह र रामबाबु यादवले राष्ट्रिय खुला कुस्ती प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ५७ केजीमा कुन्दनले भगवत शाह तथा ६१ केजीमा रामबाबुले अब्दुल्लाह मियालाई पराजित गरेर स्वर्ण पदक जितेका हुन् । विजेताद्वय बाराका खेलाडीले फाइनलमा नेपाल प्रहरीका खेलाडीलाई पराजित गरेका थिए ।

पुरुष ६५ केजीमा पर्साका सरोज यादवले प्रहरीका नितेश यादव, ७० केजीमा प्रहरीका दिपेश रावत कम्करले सिरहाका वीरेन्द्रकुमार यादव, ७४ केजीमा बाराका मुक्तार आलमले प्रहरीका विनोद सहनी, ८६ केजीमा प्रहरीका सागरकुमार यादवले पर्साका अजिल रावत, ९७ केजीमा पर्साका सुमिरकुमार शाहले बाराका मुकेशकुमार ठाकुर तथा १२५ केजीमा पर्साका राज यादवले प्रहरीका रामधरीप्रसाद यादवलाई पराजित गर्दै स्वर्ण जितेका थिए ।

नेपाल स्पोर्ट्स क्लबको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ४८ केजीमा डडेल्धुराकी शिभाङ्गी दुवे, ५३ केजीमा कञ्चन्पुरकी माया लोहार, ५५ केजीमा नेपाल आर्मीकी कल्पना विक, ६० केजीमा आर्मीकी कविता पुन, ६३ केजीमा आर्मीकी सुशीला चन्द, ६९ केजीमा झापाकी सदीक्षा राई तथा ७५ केजीमा बाँकेकी शान्ति चौधरीले स्वर्ण पदक जितेका थिए ।

विजेतालाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कृत गरेका थिए । त्यसअघि प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए ।