अखिल नेपाल कबड्डी संघको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम पारित गरेको छ । कबड्डी संघ महासचिव विनोद प्रजापतिले प्रस्तुत गरेको वार्षिक कार्यक्रमलाई सभाले पारित गरेको कबड्डी संघकी अध्यक्ष तुलसी थापाले जनाएकी छन् ।
वार्षिक कार्यक्रममा साउनमा राष्ट्रिय निर्णायक तालिम सञ्चालन गर्ने, भदौमा इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा टिम सहभागि गराउने, असोजमा राष्ट्रिय पुरुष तथा महिला कबड्डी प्रतियोगिता गर्ने, पुसमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला कबड्डी प्रतियोगिता गर्ने, माघमा क्लब स्तरीय लिग गर्ने, फागुनमा अन्तर्राष्ट्रिय महिला कबड्डी गर्ने, चैतमा दोश्रो साधारण सभा गर्ने, २०७६ को बैशाखमा एडभान्स रेफ्री कोर्स सञ्चालन गर्ने तथा जेठमा विद्यालय स्तरीय राष्ट्रिय छात्र÷छात्रा कबड्डी आयोजना गर्नेलगायत छन् ।
अध्यक्ष थापाले एसियाली खेलकुदमा पुरुष/महिलाको दुवै टिमलाई सहभागी गराउन पहल गर्ने बताइन् । ‘सकेसम्म एसियाली खेलकुदमा दुवै टिमलाई सहभागी गराउन पहल गर्छौ ।’ अध्यक्ष थापाले भनिन ‘टिम गेम भएकाले खर्च पनि बढी लाग्छ । तर, एउटा टिम भने अवश्य सहभागी हुन्छ । पुरुष वा महिला मध्ये कुन टिमलाई सहभागी गराउने भन्नेमा पछि निर्णय हुन्छ ।’
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । साधारणसभा केन्द्र र जिल्लाका गरी ३३ प्रतिनिधि सहभागि थिए ।
प्रतिक्रिया