खेलाडी सहभागिता विवाद समाप्त

खेलाडी सहभागिता विवाद समाप्त


कराते खेलको विवादलाई मध्यनजर राख्दै राष्ट्रिय खेलकुद परिषद अन्र्तगत रहेको छनोट समितिले आगामी भाद्र २ देखि १६ गतेसम्म इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन लागेको १८ औं एसियाली खेलकुद प्रतियोगिता कराते खेलाडी छनोट गरेको छ ।

कराते विवादका कारण कोरियाको इन्चोन शहरमा सम्पन्न एसियाडमा नेपालका दुईवटा कराते टोली सहभागिता जनाएका थिए । दुईवटा कराते टोलीको सहभागिता जनाएपछि एसियाडमा छनोट भएका खेलाडीले प्रतिस्पर्धा गर्नवाट बन्चित हुनु परेको थियो । उक्त एसियाडमा राष्ट्रिय र अन्तर्राष्टिय मान्यता प्राप्त दुई कराते संघका खेलाडीले सहभागिता जनाएका थिए ।

त्यतिबेला करातेको विवाद राष्ट्रिय देखि अन्तर्राष्ट्रियस्तरसम्म छताछुल्ल भएको थियो । यो विवाद अहिलेसम्म पनि कायम रहेकोले राखेपको छनोट समितिले वैशाख १५ गते सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा करातेको खुला छनोंट प्रतियोगिता गरेको हो । अहिले सो छनोट प्रतियोगितासंगै एसियाडमा कराते खेलाडीको सहभागिताको विवाद सम्पन्न भएको छ । अव राखेपले खुला प्रतियोगितावाट छनोट गरेका खेलाडीले १८ औं एसियाडमा खेल्ने पाउने पक्का भएको छ ।

राखेप छनोट समितिले गरेको छनोट प्रतियोगितामा पुरुष एकल कातातर्फ पर्शुराम बास्तोला, महिला एकल कातामा चन्चला दनुवार छनोट हुन सफल भएका छन् । त्यस्तै पुरुष कुमुतेतर्फ ५५ केजीमा सोनाम लामा, ६७ केजीमा नबिन रसाईली, ८४ केजीमा दिवस श्रेष्ठ छनोट भएका छन् । त्यस्तै महिला कुमुतेतर्फ ५० केजीमा अनु अधिकारी, ५५ केजीमा सुनिता महर्जन र ६८ केजीभन्दा माथि तौलमा रीता कार्की छनोट भएका छन् ।

१८ औं एसियाडका लागि छनोंट भएका यी आठ जना खेलाडीलाई अव राष्ट्रिय खेलकुद परिषदले बन्द प्रशिक्षणमा राख्नुको साथै बैदेशिक प्रशिक्षणमा पठाउने छ । कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाडमा नेपालले एउटा मात्र काँश्य पदक करातेले जितेको थियो । यहि काँश्य पदकले नेपाल एसियाडमा पदक विहिन हुनवाट जोगिएको थियो । यस पटक पनि करातेलाई एसियाडमा सम्भावित पदक जित्ने खेलको सूचीमा राखेपले राखेको छ ।