शिक्षामा २० प्रतिशत बजेट छुट्याउन विद्यार्थीको माग

शिक्षामा २० प्रतिशत बजेट छुट्याउन विद्यार्थीको माग


अर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन र शैक्षिक प्रमाणपत्र धितो राखेर निब्यार्जी व्यावसायिक ऋणको माग गर्दै आज ज्ञापनपत्र बुझाएका छन् ।
अर्थमन्त्री खतिवडालाई भेटेर ज्ञापनपत्र बुझाएका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार ज्ञापन बुझ्दै अर्थमन्त्री डा खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनहरुले उठाउनुभएको मागलाई अधिकतम सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
कावा अध्यक्ष बर्ताैलाले पछिल्ला केही वर्षको शिक्षाको बजेट हेर्दा सरकार शिक्षाप्रति अनुदार हुँदै गएकाले बजेट २० प्रतिशत विनियोजन गर्न माग गरिएको बताए ।
ज्ञापनपत्रमा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गरी स्वदेशमा नै युवालाई काम पाउने वातावरण बनाउन निश्चित शैक्षिक योग्यता प्राप्त युवा विद्यार्थीलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिक र व्यावसायिक ऋण दिने व्यवस्था यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्न माग गरिएको छ ।
राससका अनुसार ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेता गएका थिए ।