यात्रा संस्मरण—वाह ! सुनकोसी

यात्रा संस्मरण—वाह ! सुनकोसी


bichar—रामशरण त्रिपाठी
गत महिना पहिलो साता काठमाडांै उपत्यकाको बढ्दो चिसोसँगै देशमा विद्यमान लोडसेडिङको तालिकाअनुसार आफ्नो दैनिकी तय गर्न अभ्यस्त एक मित्रका साथ पङ्क्तिकार केही समयका लागि भए पनि काठमाडौंको चिसो छल्ने उद्देश्यका साथ एकाबिहानै कोटेश्वरबाट अरनिको ‘हाई वे’लाई पछ्याउँदै कोदारी तातोपानीमा डुबुल्की लिन हुइँकियाँै । केही समयमा नै धुलिखेलको पारिलो घाममा तातो कफीको चुस्की लगाउँदै सुन्दर हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्ने मौकासमेत सदुपयोग गर्दै करिब आधा घन्टा धुलिखेलमा बिताएर हामी फेरि पुनः आफ्नो गन्तव्यका लागि ओरालो झर्न थाल्यौँ । करिब डेढ घन्टाको यात्रापछि हामी खाँडीचौर बजार आइपुग्यौँ । नेपाली परम्पराअनुसार बिहान १० बजे अगावै दालभात खाने प्रचलनलाई कायम राख्दै खाँडीचौर बजारमा माछा–भात खाएर पुनः आफ्नो गन्तव्यका लागि चल्यौँ ।
खाँडीचौरबाट करिब पाँच सय मिटरअगाडि अरनिको ‘हाई वे’को पारिपट्टि एउटा जलविद्युत् केन्द्र देख्यौँ र हामी लोडसेडिङले आजित भएका मान्छेहरू यस्ता जलविद्युत् केन्द्रबाट कसरी विद्युत् उत्पादन हुँदोरहेछ भन्ने उत्सुकताका साथ सम्भव भए एकचोटि जल विद्युत् केन्द्रको अवलोकन गर्ने निधो गर्दै जलविद्युत् केन्द्रतिर हानियौँ । हामीले आफ्ना पूर्ण परिचयका साथ जलविद्युत् केन्द्र अवलोकनका लागि जिज्ञासा राखेपछि सो जलविद्युत् केन्द्रका केन्द्रप्रमुख बद्री फोयालले सहजताका साथ विद्युत् केन्द्रको अवलोकन गराइदिनुभयो । हामी जलविद्युत् केन्द्रमा पुग्दा जडित तीनवटा युनिटमध्ये दुईवटा मात्र सञ्चालन भइरहेको थियो । यसै प्रसङ्गमा हामीले बुझ्न खोज्दा नदीमा पानीको बहावमा कमी आएको कारण पानी नपुग भई एउटा युनिट बन्द अवस्थामा रहेको जानकारी हामीले पायौँ, जसबाट नदीमा पानीको बहावमा आएको कमीको कारण जलविद्युत् केन्द्रहरूको उत्पादन घट्न गई लोडसेडिङ वृद्धि भइरहेको कुरा बुझ्न हामीलाई समय लागेन । कुराकानीको प्रसङ्गमा केन्द्रप्रमुखबाट सुनकोसी पावर हाउस (१०.०५ मेगावट क्षमता) सञ्चालनमा आएको ४२ वर्ष भइसकेको र आ.व. ०६८/६९ मा यस जलविद्युत् केन्द्रले ४१ वर्षकै इतिहासमा सबैभन्दा बढी ६६३८३.१ मे.वा.आ. विद्युत्शक्ति उत्पादन गरेको तथ्य हामीहरूलाई देखाउनुभयो ।
हामीले केन्द्रप्रमुखसँग हालसम्मकै उच्च (रेकर्ड) उत्पादन गर्न सक्नुको कारणहरू सोध्दा हाल देशको विद्युत् प्रणालीमा २४ घन्टै विद्युत्शक्तिको कमी रहेको हुँदा जलविद्युत् केन्द्रले उपलब्ध पानीलाई मेसिनका लागि आवश्यक ‘हेडमेन्टेन्ड’ गरी मेसिनहरू सञ्चालन गर्ने, मेसिनहरूको ‘डाउन टाइम’ सक्दो न्यूनतम गर्ने, आवश्यक मर्मत सम्भार कार्यनिश्चित समय र अवधिभित्र सम्पन्न गर्ने र जलविद्युत् केन्द्रको क्षमता १०.०५ मे.वा. भए तापनि पानीको उपलब्धताअनुसार जलविद्युत् केन्द्रलाई १०.५० मे.वा. क्षमतासम्म सञ्चालन गर्नु नै प्रमुख कारण रहेको बताउनुभयो ।
यसप्रकार सुनकोसी जलविद्युत् केन्द्रको क्षमता वृद्धि गर्न सकिने सम्भावनाबारे बुझ्न खोज्दा हाल पावरहाउसमा जडित मेसिनहरू करिब ४५–५० वर्षअगाडि डिजाइन भएका हुन् । हाल ती मेसिनहरूभन्दा बढी ‘इफिसियन्सी’ भएका मेसिनहरू उत्पादन हुन्छन् । यसप्रकार पावरहाउसमा जडित टर्वाइन तथा जेनेरेटर आदिलाई बदली गर्न सकिने हो भने केही क्षमता वृद्धि हुन सक्ने जानकारी दिनुभयो । यदि त्यस्तो हो भने सम्बन्धित निकायले हाल विद्यमान सञ्चालित जलविद्युत् केन्द्रहरूको क्षमता अभिवृद्धि गरी विद्युत् शक्ति उत्पादन बढाउनेतर्फ पनि आवश्यक अध्ययन गरोस् भन्ने हाम्रो चाहना हो ।
अन्तमा, केन्द्रप्रमुखसँग एक कप कालो चियाको आतिथ्यका साथ सुनकोसी जलविद्युत् केन्द्रबाट बिदा भई आफ्नो गन्तव्यतिर फेरि लाग्यौँ । वर्तमान लोडसेडिङको अवस्थामा पनि आफ्नो ठाउँबाट राम्रो प्रयास गरिराख्नुभएका प्रमुख तथा सुनकोसी जलविद्युत् केन्द्रका कर्मचारी साथीहरू धन्यवादका पात्र हुन् । हामी पुनः गन्तव्यतिर आफ्नो उद्देश्यमुताबिक तातोपानीमा दुई घन्टा डुबुल्की मारी राति पुनः काठमाडौंकै चिसोमा फर्कियौँ । वास्तवमा सुनकोसी पावरहाउस त साँच्चै नै ‘सुन’कोसी नै रहेछ ।
सुनकोसी विद्युत् केन्द्रका प्रमुख बद्री फोयालले जस्तै मुलुकमा भएका विद्युत् आयोजनाको इफिसियन्सी बढाउन सम्बन्धित कर्मचारीले दत्तचित्त लगाएर काम गर्ने हो भने सबै प्रोजेक्टबाट अलि–अलि मात्रामा बढे पनि थोरै–थोरै गरेर जम्मा हुने थप विद्युत् ऊर्जाले हालको लोडसेडिङमा कमी ल्याउन थोरबहुत योगदान पुग्थ्यो कि ? यसतर्फ जिम्मेवार निकायले ध्यान पु¥याए कस्तो होला ?