अष्ट्रेलियाको म्यूजियममा नेपाली सामग्री

अष्ट्रेलियाको म्यूजियममा नेपाली सामग्री


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

अष्ट्रेलियामा नेपालीहरूको बसोबास बढ्दो छ । नेपाली कला, संस्कृति, भाषा र भेषको विस्तारसँगै अष्ट्रेलियन सरकारको आँखामा नेपाल र नेपालीका मौलिक सामग्रीहरुले स्थान पाउन थालेको अनुभूति गरिएको छ ।

नेपाल र नेपालीका यस्ता कुराहरूलाई महत्व दिने क्रममा अष्ट्रेलियन सरकारले नेपालीको बसोबास तथा बसाइँसराईलाई महत्त्वका साथ हेर्दै नेपाली परिवारको बसाइँसराईसम्बन्धी खोजलाई तीब्रता दिँदै यसको इतिहास र सामग्री संकलन शुरू गरेको छ । अष्ट्रेलियन सरकारले सिड्नीको हर्सभिलमा रहेको हर्सभिल म्यूजियम एण्ड ग्यालरीमा नेपाल र नेपाली परिवारको झल्को दिने विभिन्न तस्बिर र भाँडाकुँडा प्रदर्शनीमा राखेको छ ।

अष्ट्रेलियाको रगडेल, ओबर्न, कोग्रा, क्याम्प्सी र हर्सभिल नेपालीहरुको बाक्लो उपस्थिति रहेको ठाउँ हो । अष्ट्रेलियन सरकारको आँकडाअनुसार हर्सभिलमा मात्र पाँच हजार भन्दा बढी नेपाली छन् । हाल हर्सभिल क्षेत्रमा चाइनिजपछि बढ़ी संख्या भएको प्रवासीमा नेपालीहरुको संख्या दोस्रो नम्बरमा पर्ने बताइन्छ ।

ज्ञात रहोस्, म्यूज़ियम ग्यालरीमा नेपालीहरूले प्रयोग गर्ने थाल, अम्खरा, टिकाको थाली, दशैँमा टिका लगाएको परिबारको तस्बिर जस्ता सामान समेटिएका छन् ।