पोखरामा अन्तर्राष्ट्रिय योग खेलकुद

पोखरामा अन्तर्राष्ट्रिय योग खेलकुद


नेपाल योग खेलकुद संघको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताबारे जानकारी दिँदै संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा ७ मुलुकका करिब २ सय ७० देखि ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता हुने बताए । महासचिव खरेलका अनुसार प्रतियोगितामा प्रतिस्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आउने छन् । नेपालका विभिन्न उमेर सुमहबाट कुल १ सय १० जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन् भने नेपालका तर्फबाट २० जना अफिसियल रहने छन् ।

महासचिव खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन र आफ्ना खेलाडी पठाउने भएको छ । उनका अनुसार मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आउने छन । यसैगरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइल्याण्डबाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू नेपाल आउने भएका छन ।

प्रतियोगितामा उमेर समुहमध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरि ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरू बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरी कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुई जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरूलाई मेडल र प्रमाण पत्रसहित नगद पुरुस्कारहरू प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले यो पोखराको मेगा इभेन्ट भएको बताए । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समुद्धीका लागि खेलकुद र पर्यटनलाईसंग जोड्नुपर्छ भन्ने कुरा चरितार्थ हुन थालेको बताउँदै अध्यक्ष पौडेलले प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह समेत गरे । नेपालको यो मौलिक योग संस्कृतिलाई जोगाउन खेलकुदले अहम भूमिका निर्वाह गर्नेतर्फ इंगित गर्दै अब खेलकुद पूर्वाधार बिकासमा ध्यान दिनु पर्ने खाँचो भएको बताए ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य लक्ष्मण योगी, जिल्लाका अध्यक्ष प्रकाश बानियाँलगायतले प्रतियोगिता बारे जानकारी गराएका थिए । उक्त प्रतियोगिताको उद्घाटन बैशाख २२ गते बिहान सृजनाचोक स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा माननीय युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गर्ने भएका छन् ।