हिन्दूधर्म र ज्योतिषशास्त्र : एक चिन्तन

हिन्दूधर्म र ज्योतिषशास्त्र : एक चिन्तन


bicharविश्वको उदाहरणीय एकमात्र अविभाज्य, धार्मिक सहिष्णुता एवम् स्वतन्त्रता भएको हिन्दूराष्ट्र नेपाल देशलाई अनायस धर्मनिरपेक्ष राष्ट्र बनाई जो–कोहीलाई खुसी तुल्याउन खोजेको भए पनि यस विषयमा अरूको औँला बनिदिनाले अन्ततः त्यसले हानि–नोक्सानी नगर्ला भन्न सकिन्न । अरूको राम्रो कामलाई सिको गर्नु उचित हो, तर आफ्नो पहिचानलाई गुमाउनुलाई कदापि ठीक होला भन्न सकिन्न । वर्तमानको लोकतन्त्र, गणतन्त्र वा सङ्घीयतामा आदिवासी र जनजातिले आ–आफ्नो पहिचान खोजिरहेको अवस्थामा मुलुकले आफ्नो मूल चिनारी वा पहिचान गुमाएको स्थितिलाई देशमा विदेश–निर्देशित हस्तक्षेपकारी नीति अवलम्बन भएको छैन भन्ने आशङ्कालाई नकार्न पनि सकिन्न ।
हाम्रा प्राच्यदर्शन शास्त्रानुसार धर्मलाई ‘धार्यते जानै रिति धर्मः’ भनिन्छ अर्थात् जुन आचरण धारण गर्नाले वा अपनाउनाले सबैको हितकर हुन्छ, त्यसैलाई नै धर्म कहिन्छ । सोअनुसार आफ्नो जीवनमा आचरण गर्ने व्यक्तित्व वा सोको आधारमा आफ्नो जीवनयापन वा जीवननिर्वाह गरी जिउने व्यक्ति नै धार्मिक कहिन्छ । हाम्रा हिन्दू धर्मशास्त्र आफँै पनि केवल ज्ञानमात्र नभएर एक विज्ञान पनि हो र हाम्रा शास्त्र प्रमाणहरू नै पनि आपैँmमा एक बहुत ठूलो प्रमाण हो र यी शास्त्रीय प्रमाणहरूलाई विदेशीको प्रमाणपत्र लिनुपर्ने कुनै आवश्यकता छैन । प्राचीनकालदेखि नै सनातन रूपमा चल्दै आएको हिन्दूधर्म र संस्कृतिको आफ्नै किसिमको महत्ता एवम् विशिष्ट मौलिक स्थान रहेकोबारे शास्त्रीय चर्चामा कैयौँ विद्वान्ले धेरै कुरा व्यक्त गरिनुका साथै लेखेको पनि पाइन्छ । सनातन हिन्दूधर्म केवल पूजापाठ वा कर्मकाण्ड मात्र नभएर व्यक्ति, समाज र राष्ट्रका लागि आचार, विचार, व्यवहार तथा राष्ट्रको मूल्य र मान्यताको आधारभूत तत्व पनि हो । अर्को कुरो, धर्म स्वर्ग जानका लागि नभई लोकहित एवम् लोककल्याणार्थ र प्राणी मात्रको सेवाभाव तथा समाजमा कर्तव्यनिष्ठ र अनुशासित भई जिम्मेवारीपूर्वक कुनै पुण्यकार्य धारण गर्नु नै धर्म हो अर्थात् सही मार्गमा लागेर जुन कुरो धारण गर्नाले सर्वपक्षीय हित, राम्रो र उचित हुन्छ, त्यसैलाई पछ्याउनाले त्यसको फल पनि राम्रो भई स्वर्गतुल्य आनन्द नै प्राप्त हुने हुँदा यस्तो लोककल्याणकारी कार्य धारण गरिँदा स्वर्गलोक नै प्राप्त भएकोजस्तो आनन्दमय अनुभव हुने नै भयो । त्यस्तै, हिन्दू एक व्यापक शब्द हो र यो कुनै खास उपासना पद्धतिलाई जनाउने शब्द होइन । हिन्दू शब्द कुनै समूह वा वर्गविशेषको द्योतक पनि होइन कारण, हिन्दूको अर्थ हो ‘हीनम् दुनोति इति हिन्दू’ अर्थात् हीनतालाई जसले परित्याग गर्छ ऊ हिन्दू हो र प्रत्येक मानव हिन्दू नै हुन्छ जो वास्तवमा हीनता त्यागी आदर्श मानव बन्ने प्रयत्न गर्दछ जसमा क्रिश्चियन, मुस्लिम आदि भन्ने प्रश्न नै उठ्दैन । हिन्दू शब्द कुनै सम्प्रदायविशेषको परिचायक पनि होइन कारण, हिन्दूधर्म त सबैलाई समेट्ने र प्रेरणा दिने मूल जरो हो जसमा ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाः’ मात्र होइन ‘बसुधैव कुटुम्बकम्’जस्तो आदर्श जीवनपद्धति र दर्शन पनि छ जसमा राष्ट्रियता पनि गाँसिएको हुन्छ । अचेल आधुनिकताको नाममा मानिसहरू आफ्नो संस्कृति, धर्म र भाषाबाट टाढिँदै गइरहनु राष्ट्रका लागि हितकर छैन र यो राम्रो लक्षण पनि होइन । विगतका केही कालदेखि वर्तमानसम्मको धर्म, कर्म र कृत्यलाई अध्ययन, चिन्तन र मनन गरिँदा यसले शनैः शनैः यो मुलुक पनि दक्षिण अफ्रिका वा सिक्किम या भुटानको दाँजोमा नपु¥याउला भन्न नसकिने सम्भावनाको सङ्केत विद्यमान भएको भविष्य महसुस गर्न सकिन्छ । दक्षिण अफ्रिकाको गति हेर्ने हो भने सुरुमा त्यहाँका जनतासँग प्रसस्त जग्गाजमिन भएको बेला विदेशी गोराहरू आएर त्यहाँका जनतालाई सरल रूपमा बाँडेका पुस्तक थापेका कारण अहिले त्यस मुलुकका जग्गाजमिनको मालिक गोराहरू भए भने त्यहाँका जनतासँग केवल पुस्तक मात्र रहे । यसको मूल कारण दक्षिण अफ्रिकी सोझा जनताले समयलाई चिन्ह नसक्नु नै हो ।
वास्तवमा सत्य र ज्ञानलाई व्यवहारमा उतार्नु नै धर्म हो, नत्र त्यस ज्ञानको कुनै औचित्य हुँदैन र अवैज्ञानिक काल वा ग्रह, ताराको स्थितिमा हुने औचित्यहीन धार्मिक कार्यको फल पनि सोहीअनुसार निष्फल, शून्य वा कुनैबेला उल्टो पनि हुनसक्ने भएकाले भविष्यवाणीलगायत ज्योतिषीय फलादेश पनि व्यर्थ हुन सक्छ । किनभने, धर्मशास्त्र र ज्योतिषशास्त्र एक–अर्काका परिपूरक हुन् र पारमार्थिक उद्देश्यमा पनि खास फरक नभएकाले कालजन्य हाम्रा संस्कृति एवम् धर्मशास्त्रानुसार हुने कर्म र कृत्य ज्योर्तिविज्ञानानुसार उचित नै रहेको प्रमाणित भएकाले समय र गतिले यदि कुनै पनि कुरो वा वस्तुलाई परिमार्जन वा सुधार गर्नु आवश्यक छ भन्ने लागेमा यथोचित मात्रामा सो समयमा नै शुद्धाशुद्धि गर्नु बुद्धिमानी हुन्छ, अन्यथा पहिलेका धर्म, संस्कृतिप्रति वितृष्णा पैदा भई सनातन धार्मिक आस्थामा धक्का पुग्ने मात्र नभई भारतमा प्रचलित ग्रेगोरियन क्यालेन्डरको छिटा शनैः शनैः यो मुलुकमा पनि प्रादुर्भाव हुने प्रबल सम्भावनालाई नकार्न सकिन्न, किनभने विभिन्न कोणबाट यसको पटकपटक अभ्यास यस मुलुकमा नभएको पनि होइन । तसर्थ, सौरमास र चान्द्रतिथिअन्तर्गतका हाल चलनमा रहेका पञ्चाङ्गहरूमा समयानुकूल सौरसिद्धान्तमा उचित संशोधनसहित ऋतुनिष्ठ पर्वादिहरूमा समन्वयात्मक सुधार गरी सौरमान र चान्द्रमान दुवैलाई प्रकृति र युक्तिसङ्गत मर्यादित, शुद्धता र शास्त्रयुक्त राख्नु जरुरी छ । कारण, निरयण (स्थिर) सोचबाट बनाइएका पञ्चाङ्गहरूमा सुधार हेतु चान्द्रमाससँग समन्वय गरी अधिकमासको सहयोग लिई सायन (चलायमान्) पद्धतिबाट समयानुकूल हालको समयमा सुधार गरी शुद्धता कायम गरिनु अत्यावश्यक भइसकेको छ । अहिलेको वैज्ञानिक युगमा ज्योतिषविज्ञानलाई विज्ञान नै सम्झनुपर्छ, ज्ञान मात्र होइन । कारण, उत्तरायण एवम् दक्षिणायन मान्ने मकर र कर्कट रेखाहरू क्रमशः धनु र मिथुन रेखाहरूमा तथा मेष र तुला विषुवतहरू पनि क्रमशः मीन र कन्यामा सरिसकेको कारण भूगोलविद्याको रेखाङ्कन शिक्षामा सुधार गर्नुपर्ने वैज्ञानिक आधार एवम् ज्योतिषीय गणितको दृष्टिकोणले समेत सायन र निरयन सूर्यबीच प्रत्येक वर्ष करिब २० मिनेटको समय फरक भई पुण्यफल कामनार्थ गरिने भनिएका निर्धारित धार्मिक एवम् सांस्कृतिक महत्वका कृत्य एवम् अनुष्ठानहरू ठीक समयमा नभई फलहीन भइराखेकोले सो सही वा गलत सुस्पष्ट पारी सत्यतथ्य प्रमाणित गर्न तथा धार्मिक, पर्वादि एवम् सांस्कृतिक अनुष्ठानजस्तो महत्वपूर्ण कृत्यको उचित पुण्यफल नै प्राप्तिको कामनार्थ हेतु हालको समयमा केही अंश सुधार वा शुद्धि गर्नु नितान्त आवश्यक छ ।
नेपाल राष्ट्रको उत्पत्तिकालदेखि नै यो मुलुक धर्मसापेक्ष हिन्दूराष्ट्र थियो । यो मुलुकले हिन्दूधर्म र दर्शन आफ्नो नेपाल राष्ट्रको अमूल्य आदर्श बनाएर प्राकृतिकरूपेण धार्मिक सहिष्णुता र स्वतन्त्रताको अद्वितीय उदाहरण प्रस्तुत गरिरहेको थियो र यसलाई राजनीतिक रङ दिई धर्मनिरपेक्ष भन्नु कुनै हालतमा उपयुक्त र युक्तिसङ्गत मान्ने आधार थिएन । विश्वको एकमात्र शान्तप्रिय हिन्दूराष्ट्र र शान्तिक्षेत्र भनी सगौरव प्रस्तुत भइरहेको राष्ट्रलाई धार्मिक समभाव र संस्कारलाई अझ सुदृढ र परिमार्जित गर्दै लानुको सट्टा समाजमा कृत्रिम रूपमा विकृति खडा गरी सामाजिक विसङ्गतिहरू एवम् सांस्कृतिक समस्यालाई बल्झाउने प्रयास भइरहेको अनुभव सजिलै गर्न सकिन्छ । यस उसले विश्वको त के कुरा सार्क राष्ट्रहरूमा मात्रै हेर्ने हो भने पनि मुस्लिम र अङ्गे्रजको राजमा पिल्सिँदै आएको भारतबाहेक कुनै पनि राष्ट्र धर्मनिरपेक्ष नभएकाले नेपाल धर्मसापेक्ष हिन्दूराष्ट्र रहँदा नै उपयुक्त हुने थियो ।
अतः मानवअधिकारको नाममा विदेशी स्वार्थ सिद्धिहेतु यस मुलुकको जातीय सद्भाव र एकता बिथोल्ने कुनै तरहको जातीय द्वन्द्व चर्काउने विदेशी प्रयासलाई नेपाली जनताले समयमा नै बुझ्ने ज्ञान प्राप्त गर्दा बेस हुनेछ । कारण, मनुष्य स्वयम्ले आपूmलाई बिर्सेर अरूको औंठाछाप नबनी निःस्वार्थ भाव र सत्कर्मबाट प्रेरित भई आपूmले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा अखण्ड दीपज्योतिसरह उतारी सार्थक जीवन मार्ग निर्देशकको रूपमा धैर्यताकासाथ दत्तचित्त भई जीवन्त तुल्याउनुमा नै नेपाली जनताको कल्याण एवम् राष्ट्रको हित निश्चित छ ।
(लेखक नेपाल पञ्चाङ्ग–पत्र निर्माण व्यवस्थापन तथा प्रकाशन समितिका संयोजक हुन् ।)