०४७ सालको कुरा हो, संविधान निर्माणका लागि शृङ्खलाबद्ध रूपमा छलफलहरू भइरहेका थिए । थापाथलीस्थित ब्लुस्टार होटल (अहिले छैन) मा भएको कार्यक्रममा एकजना सहभागी यसरी चिच्याए कि अचम्मै लाग्यो । मुलुक चलाउन बन्ने संविधानबारे छलफल गर्न आएका मानिसको असाध्यै ‘इरिटेटिङ’ कुरा सुनेर कार्यक्रमको रिपोर्टिङ गर्न त्यहाँ पुगकी मैले अचम्म मान्दै प्राध्यापक डा. शान्ता थपलियासँग सोधेँ– म्याडम यो मान्छे किन यसरी कराएको ? जवाफमा ‘उहाँ कम्युनिस्ट हो’ भन्नुभो उहाँले । आफू फरक राजनीतिक पृष्ठभूमिबाट आएको भएर होला कति दिनसम्म मलाई तिनले बोलेका जे पायो त्यही शब्दहरू कानमा गुञ्जिरहेका थिए । शान्ता म्याडमले ‘उहाँ कम्युनिस्ट हो’ भन्ने जवाफ दिनुभएकाले ए… कम्युनिस्टहरू यस्ता हुँदा रहेछन् या उनीहरूले जे बोले पनि हुने रहेछ भन्ने छाप पनि मेरो मानसिकतामा परेको थियो । पछि समयक्रममा बुझ्दै जाँदा कम्युनिस्ट, काङ्ग्रेस या अरू दलसँग सम्बन्धित जो जे भए पनि मानिसका एटिच्युडहरू फरक–फरक हुने भएकाले यो यस्तो ऊ उस्तो भन्न नमिल्ने हो कि जस्तो लाग्यो । कतिपय साथीहरू एउटा कुरा बोल्ने र व्यवहारचाहिँ अर्कै गर्नेमध्ये कति कुन सिद्धान्त मान्ने छन् अनुसन्धान गर्न पाए हुन्थ्यो जस्तो पटकपटक लागेको हो । कतिपय कुराहरूमा एकैपल्ट कुनै निष्कर्ष निकाल्नुभन्दा त्यसको आधारसहित बोल्नु राम्रो हुन्छ भन्ने मान्यताले त्यस्तो लागेको हुन सक्छ । ‘उहाँहरूको स्कुलिङ नै यस्तो हुन्छ कि जे बोले पनि अप्ठ्यारो लाग्दैन’ कम्युनिस्टहरूका बारेमा यस्तो भन्नेहरू त धेरै नै छन् तर स्कुलिङ जस्तो भए पनि आफ्नै विवेक प्रयोग गर्ने कम्युनिस्ट विचारधाराका मानिसहरू यहाँ धेरै छन् । त्यसैले कतिपय कुराहरू एक–अर्कासँग मिले पनि सबै कुरा सबैको उस्तै हुन्छ भनेर सामान्यीकरणचाहिँ गर्न मिल्दैन । अहिलेका कतिपय नेताहरूको चालामाला देखेर आफूलाई कम्युनिस्ट भन्न लाज लाग्यो भन्ने कम्युनिस्ट पृष्ठभूमिका मानिसहरू यहाँ धेरै छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले केही दिनअघि मात्र माओवादी र एमालेका केही नेताहरूका कारण कम्युनिस्ट सिद्धान्तकै बेइज्जत भएको अभिव्यक्ति दिनुभएको थियो ।
सिद्धान्त र व्यवहार जस–जसको जे–जे भए पनि अहिले माओवादीका वरिष्ठ केही नेताहरूका सार्वजनिक अभिव्यक्ति सुन्दा शान्ता म्याडमको सम्झना भइरहेको छ । उहाँ अहिले यो संसारमा हुनुहुन्न तर त्यतिबेला मेरो प्रश्नमा दिनुभएको त्यो छोटो अभिव्यक्तिभित्र कति धेरै अर्थहरू लुकेका रहेछन् भन्ने कुरा अहिले लागिरहेको छ । माओवादीका शीर्षस्थ नेता प्रचण्डले पटक–पटक आफैँले बोलेका कुरालाई केही दिनपछि आफैँले खण्डन गर्ने कुरा सामान्य मान्छेका लागि भए अप्ठ्यारै लाग्ने विषय हो । नेपाली जनताका नेता भनेर चिनिन चाहने नेताले प्रयोग गर्ने भाषा, शैली, आक्रोश कहिलेकाहीँ निकै निम्नकोटिका हुने गरेका छन् । दैलेखको मुद्दामा केही दिनअघि मात्रै उहाँले भाषणमै ‘गुण्डा’ शब्द प्रयोग गर्नु भो । उहाँको सिको गर्दै कार्यकर्ताहरूले पनि भाषण गर्न पाउनेले भाषणमा नपाउनेले कोठे गफमा र फेसबुक चलाउनेहरूले फेसबुकमा समेत सोही भाषा प्रयोग गरेको देखियो । यता प्रधानमन्त्री बाबुराम भट्टराईले बोल्ने कुराहरू पनि पटक्कै उत्तरदायी छैनन् । राष्ट्रका प्रधानमन्त्रीले बडो आक्रोशका साथ जे पायो त्यही बोलेको कुरा टेलिभिजनमा हेर्न या अखबारमा पढ्न बाध्य छन् जनता । प्रधानमन्त्री पद वास्तवमा मुलुकको सबैभन्दा उच्च कार्यकारी ओहोदा भएकाले यसमा कुनै दलविशेषका मानिस पुगे पनि प्रधानमन्त्री भइसकेपछि चाहिँ त्यो व्यक्ति सबै नेपाली जनताको बराबरी हक लाग्ने व्यक्ति बन्न पुग्छ । त्यहाँ पुग्ने मानिसले सबै जनतालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान प्रकारको हुनुपर्छ । त्यसैले विद्वान् नेता भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा बसिरहेकै बेला पाखुरा सुर्की–सुर्की अरूलाई अनेक उपमा दिँदै दिएका अभिव्यक्ति धेरै नै असहज लाग्ने गरेका छन् । त्यसो त प्रधानमन्त्री भएर देशका सबै जनतालाई समान व्यवहार नगर्ने काम अहिले होइन गिरिजाप्रसाद कोइरालाको पालादेखि नै भएको हो । आफू प्रधानमन्त्री भएका बेला अन्य पार्टीमा झुकाब राख्ने कर्मचारीको जागिर खानेदेखि धेरै काम उहाँका पालामा भएको थियो । हाम्रो देश यस्तो अचम्मको छ कि यहाँ बेलाबेलामा राम्रा काम पनि नहुने होइनन् तर यदि कसैले राम्रो काम गरेको छ भने त्यस्तो कुरा कता हराउँछ कता र नराम्रो या गर्ने नहुने छ भने त्यस्ता काममा भने ‘सिस्टम’ नै बसालिन्छ । विज्ञता या अनुभवको मतलब नै नगरी आफ्ना दल या परिवारका मानिसलाई राजनीतिक नियुक्ति दिलाउने कामदेखि लिएर धेरै कुरा भएका छन् जुन पटक्कै हुन मिल्दैन या त्यस्तो गर्नु देशको हितमा हँुदैन तर त्यस्ता कुराहरूले भने धेरै अघिदेखि निरन्तरता पाइरहेका छन् ।
केही दिनअघि मात्रै एमाओवादी अध्यक्ष प्रचण्डले एउटा टेलिभिजन अन्तर्वार्तामा मानिसमा मनोविज्ञान, चेतना, संस्कृति, संस्कारजस्ता कुरा रातारात आउने कुरा होइन रहेछ, यस्ता कुराहरूका लागि समय लाग्नेरहेछ भन्नुभएको छ । उहाँको अन्तर्वार्ता हेर्दा त्यसमा ‘सभ्यता’ भन्ने शब्द पनि थप्नुभएको भए झनै राम्रो हुने थियो जस्तो लागेको थियो । आफू मुलुकको सबैभन्दा माथिल्लो स्थानमा बसेर लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य, महङ्गीका कारण आधा पेट खान बाध्य, बेरोजगारीका कारण दिनभरि सडक नाप्न या केही गर्ने अवसर नपाउँदाको निराशाले मानसिक तनावमा रहन बाध्य नेपाली जनतालाई पाखुरा सुर्की–सुर्की कराउनुको कुनै अर्थ छैन । आश्चार्यलाग्दो कुरा त के हो भने एउटा ससानो संस्था, क्लब या सामुदायिक वा सामूहिक कार्य झल्कने कुनै ठाउँको अध्यक्ष या यस्तै उपल्लो स्थानमा बस्दा त मानिसलाई आफूले बोल्ने कुरामा उत्तरदायी हुनुपर्छ भन्ने लाग्छ । म त मेरो समूहको सबैभन्दा उत्तरदायी व्यक्ति हुँ त्यसैले मैले दिने अभिव्यक्ति या गर्ने काम उत्तरदायी नै हुनुपर्छ भन्ने महसुस हुन्छ तर उहाँहरूलाई भने त्यस्तो लागेको पाइएको छैन । आफूलाई मन लागेको कुरा उहाँहरू निर्धक्क बोलिरहनुभएको छ । आफैँ सरकारमा रहेर आन्दोलनका कुरा गर्न उहाँहरूलाई हिचकिचाहट हुँदैन । सहजै भनिदिनुहुन्छ कि सडक–सरकार दुवै ठाउँमा बसेर हामी आन्दोलन गर्नुपर्ने परिस्थितिमा आइपुगेका छौँ, हामी आन्दोलन गर्छौं । यस्ता अभिव्यक्ति सुन्दा एक आमनेपालीका रूपमा टाउकोमा हात राखेर भन्न मन लाग्छ, तपाईंहरू कसका विरुद्ध आन्दोलन गर्ने ? यिनै जनताका विरुद्ध जसले त्यतिका मान्छे मार्दा पनि तपाईंहरूमाथि कुनै प्रकारको कारबाहीको माग नगरी सरासर सत्तामा जान भोट हालेरै अनुमति दिए ? यिनै जनताका विरुद्ध जसले देश लथालिङ्ग अवस्थामा पु¥याइसक्दा पनि तपाईंहरूलाई चुपचाप सहिरहेकै छन् ?
प्रतिक्रिया