किन आकर्षित हुँदैछन् हिरण्यवर्ण महाविहारमा चिनियाँ पर्यटक ?

किन आकर्षित हुँदैछन् हिरण्यवर्ण महाविहारमा चिनियाँ पर्यटक ?


गोल्डन टेम्पलको रुपमा चिनिने ललितपुरको हिरण्यवर्ण महाविहार हेर्न आउने चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता लगातार बढिरहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वाका अनुसार महाविहारमा एक वर्षमा ५० हजारको हाराहारीमा बाह्य पर्यटक आउने गरेका छन् । तीमध्ये कुन देशबाट कति आए भनेर छुट्याएर नराखिए पनि तर चिनियाँ पर्यटकको संख्यामा भने उल्लेखनीय वृद्धि भएको देख्न सकिन्छ ।

चिनियाँ पर्यटक एक्लै, सानो समूहमा र ठूलो समूहमा पनि आउने गर्छन् । पहिले युरोपेली देशबाट आउने पर्यटक बढी भएकामा अहिले चीन, जापान र दक्षिण एशियाली देशका पर्यटक बढी रहेको अध्यक्ष धाख्वले जानकारी दिए ।

भूकम्प गएपछिका वर्षमा हेर्दा छिमेकी मुलुकका पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । उनले भने, ‘अध्ययनका लागि वा घुम्नका लागि आउनेमा छिमेकी देशका पर्यटक बढिरहेका छन् ।’ महाविहारमा धार्मिक पर्यटकसमेत आउने गर्छन् । कतिपय दरबार क्षेत्र आएका पर्यटक त महाविहार नै आउने गर्दछन् ।

महाविहारले अहिले पर्यटकसँग रु ५० शुल्क लिँदै आएको छ । दुई वर्ष पहिले पाटन सङ्ग्रहालय र नगरपालिकाले लिने शुल्कमा ‘एकद्वार प्रणाली’ लागू भएपछि महाविहारमा समेत सो प्रणाली लागू गर्न महानगरपालिकाले भन्दै आएको छ । संरक्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ । राससका अनुसार उक्त महाविहार उपत्यकाको सबैभन्दा बढी सर्वसंघ (सदस्यहरु) रहेको महाविहार हो ।