एसियाडको लागि टेबुलटेनिस खेलाडी छनोट

एसियाडको लागि टेबुलटेनिस खेलाडी छनोट


इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा सहभागि हुने टेबलटेनिस खेलाडीको बैशाख १७ गते सोमबार टुंगो लागेको छ । अखिल नेपाल टेबलटेनिस संघले छनोट प्रतिस्पर्धाबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरेको जनाएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको तीनदिने छनोटमा समान १४–१४ पुरुष/महिला खेलाडी सहभागी थिए । राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी छनोट भएका हुन् ।

छनोट भएका सबै खेलाडी विभागीय टोलीका हुन् । नेपाल प्रहरीबाट सर्वाधिक ३ खेलाडी छानिए । प्रहरीबाट पुरुषमा राष्ट्रिय च्याम्पियन श्यान्टू श्रेष्ठ र पूर्व राष्ट्रिय च्याम्पियन दीप साउन तथा महिलामा लगातार सात पटककि राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोट भएका छन् ।

त्यस्तै आर्मीबाट महिलामा स्वेच्छा नेम्वाङ र रविना महर्जन छानिए । बाँकी एक पुरुष खेलाडीमा एपीएफबाट अमरलाल मल्लले एसियाड यात्रा पक्का गरेका हुन् ।
लिगको पुरुषमा श्यान्टु, दीप र अमरले क्रमशः शीर्ष तीन स्थान हात पारे । त्यस्तै महिलामा नविता, स्वेच्छा र रविना पहिलोदेखि तेश्रो बने । दीप, अमर, नविता र रविनाले एसियाडको अघिल्लो संस्करण पनि खेलेका थिए ।