शान्ति, सुशासन र समृद्धिको खोजीमा चुलिन पुगेको राजनीतिक अन्योल, अस्थिरता र अराजकता अनि सहमति खोज्दै गर्दा उत्कर्षमा पुगेको असहमति र अविश्वासबीच राज्यले शहिद दिवस मनाउने रीत जनायो । जनस्तरमा पनि शहिदलाई सम्झेर गच्छेअनुसारको सम्झना–समारोहको आयोजना भएका देखिए । यस क्रममा शहिदका योगदानको कथा फेरि पनि हालियो, शासन गर्ने स्थानमा रहेकाहरूले कत्ति पनि नहिच्किचाईकन तिनले देखाएको बाटोमा हिँड्ने कसम खाएका सुनियो । हजारौँ शहिदका रगतले राष्ट्रको जमिन रङ्गिएको भाषण उनीहरूले गरे र शहिदप्रति श्रद्धासुमन अर्पण गरेको भन्दै मुठ्ठी उठाएर ‘अभिवादन’ गर्नेहरूको पनि कमी देखिएन । यसरी शहिद दिवस मनाइँदै गर्दा पछिल्ला वर्षमा सालिन्दा एउटा प्रश्न खडा हुने गरेको छ– यथार्थमा शहिद को हो र नेपालमा शहिद कति छन् ? अब यसको निरूपण हुनु अपरिहार्य बनेको छ । वास्तवमा शहिद को हो, कति छन् र तिनका योगदान के भन्ने सवालमा राज्यसँग ठोस विवरण रहेको पाइन्न । वास्तविक शहिदको निक्र्योल नभएसम्म शहिदले देखेको सपनाको पहिचान हुन सक्दैन र जीवन आहुति गरेर उसले ल्याउन खोजेको शासन–व्यवस्था या सुदिनले मूर्तरूप पाउन पनि सक्दैन ।
शहिदको सपना के थियो र यथार्थ के छ भन्ने पाटोले आज समस्त नेपालीको हृदय कचोटिरहेको छ । आमजनताको भागमा उही निरङ्कुशता, उस्तै अधिनायकी, उही असुरक्षा, अशान्ति, महङ्गी र अभावका दुर्दिन नै हातलाग्ने नक्कली लोकतन्त्र नेपालीले चाहेका थिएनन् । यसैगरी, मनपरी ढङ्गले जब शहिदको ‘उत्पादन’ गरिन थालियो, जसका बारे जानकारी पनि छैन, देशले चिनेको पनि छैन, चिनाउने प्रयास भएको पनि छैन, चिन्न खोजेको पनि छैन र चिन्न चाहेर चिन्न सकिने उसको परिचय र योगदान पनि छैन, त्यस्ताहरू पनि जब शहिद घोषित हुन थाले अनि वास्तविक शहिदको उपहास र अवमूल्यन त हुने नै भयो । ‘शहिद’का सन्दर्भमा आजको यथार्थ यही हो ।
‘शहिद’को विशेषण त विकल्प हुँदाहुँदै पनि मृत्युवरण गर्न तयार हुने अर्थात् देश र जनताको हितका लागि आफ्नो सत्उद्देश्य नछोड्ने, मृत्यु नै सामुन्ने खडा भए पनि नडग्मगाई बलिदान दिन तयार हुने, देशको कल्याणका लागि हाँसी–हाँसी मृत्युवरण गर्न तत्परता देखाउने व्यक्तिका निम्ति प्रयोग गरिनुपर्ने हो । यदि हाँसी–हाँसी या अविचलित रूपमा ऊ मर्न तयार भएको हुन्छ भने उसलाई शहिदको कोटिमा उभ्याउन कञ्जुस्याइँ गर्नु राज्यको अर्घेल्याइँ ठहरिन्छ । तर, ‘आफ्ना मान्छे, आफ्ना कार्यकर्ता’ भन्ने मोहमा परेर जथाभावी शहिदको पगरी भिराउन खोजिन्छ भने ऊ त सम्मानित हुन सक्दैन नै, जो वास्तविक शहिदका रूपमा सम्मानित थिए तिनको आत्मा पनि अवश्य रुन्छ । यसो भन्नुको तात्पर्य दोहोरो भिडन्त हुँदै गर्दा मारिएकालाई अनादर गर्नुपर्छ भन्ने होइन, तिनको पनि आफ्नै योगदान र महत्व रहने भएकाले सम्मान गरिनुपर्छ, तिनको इज्जत गरिनुपर्छ । तर, विकल्प हुँदाहुँदै मृत्यु रोज्न सक्ने मात्र ‘वीर शहिद’ कहलिन्छ, युद्धमा मर्ने त ‘बहादुर’ या ‘लडाकु’ मात्रै हुन् । तिनको त्यही स्तरको इज्जत र कदर हुनुपर्छ ।
दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालाललाई शहिद भनिनुको तात्पर्य त्यही नै थियो कि उनीहरू एउटा अत्यन्त निरङ्कुश शासकको पञ्जामा छटपटिएका जनता र देशलाई मुक्ति दिएर एउटा युग नै परिवर्तन गर्नका खातिर असामयिक मृत्युको विकल्प उपलब्ध हुँदाहुँदै हाँसी–हाँसी मृत्यु रोज्न तयार भएका थिए । मृत्युदण्ड कार्यान्वयन गर्न खोज्ने राणाशासकहरूसँग माफी मागेका भए उनीहरू सहजै जीवन बचाउन सक्थे । तर, तिनले स्वतन्त्रताको अगाडि आफ्नो जीवन नै तुच्छ देखे र त्यसलाई त्यागिदिँदा लोकले हासिल गर्ने उपलब्धिको मूल्य चिने, अनि हाँसी–हाँसी जीवन उत्सर्ग गरे । हो, शहिद यसरी बनिन्छ । हजारौँको जुलुसमा गोली चल्दा जो मरे, ती संयोगले मरे, यही मानिस मर्छ भन्ने त्यहाँ निश्चित थिएन । तथापि, सम्भावित विपत्तिबारे चेत हुँदाहुँदै पनि आन्दोलनमा होमिएर मृत्युको मुखमा पुगेबापत तिनको पनि राज्यबाट सम्मान र कदर गरिनुपर्छ, तर यसका लागि ‘शहिद’को सट्टा कुनै त्यस्तै आदरार्थी शब्दको चयन गर्न सकिन्छ । अकस्मात् मृत्यु भएकालाई जथाभावी शहिद भनिदिँदा वास्तविक शहिदप्रति व्यङ्ग्य गरेको, उसको अवमूल्यन गरेको नै ठहरिन्छ ।
यसरी जथाभावी शहिद घोषणा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेतिर नलाग्ने हो भने भोलि शहिद भन्ने शब्दप्रति सम्मान होइन विरक्ति र बेइज्जतिका वर्षा नहोला भनी कसरी ग्यारेन्टी गर्ने ? शहिदलाई सम्झँदै गर्दा यस प्रश्नको मर्मप्रति पनि चिन्तनमनन गर्ने कि ?
प्रतिक्रिया