बुद्ध-दर्शनबारे अन्तरक्रिया गरेर बेल्जियममा मनाइयो बुद्ध जयन्ति मनाइयो

बुद्ध-दर्शनबारे अन्तरक्रिया गरेर बेल्जियममा मनाइयो बुद्ध जयन्ति मनाइयो


बुद्ध पुर्णिमाको दिन तमु धिं बेल्जियमको आयोजना र बेल्जियममा स्थापित केहि संघसंस्थाहरुको सहआयोजकमा पत्रकार महासंघ युरोप शाखाको उपस्थितिसहित २५६२औ बुद्ध जयन्ती कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । तमुधि बेल्जियमका अध्यक्ष नवीन गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका प्रतिनिधि द्वित्तीय सचिव भोजराज भुसाल रहेका थिए भने विशेष अतिथि गैरआवाशीय संघ युरोपका अध्यक्षद्वय शिवकुमार बरुवाल र बेल्जियमका अध्यक्ष लोक दाहाल रहेका थिए।

उनले भगवान बुद्धको दर्शनबारे अझ धेरै कुराहरु खोज्नु पर्ने उल्लेख गर्दैै नेपाली राष्ट्रियता जति प्यारो छ त्यति नै प्यारा भगवान बुद्ध भएकोले उहाँको जन्मस्थानबारे विवादास्पद कुरा बोलेर वा लेखेर भ्रम सृजना गर्ने अधिकार कसैलाई नभएको बताए।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको बुद्ध जयन्ती समारोहमा अतिथिको आसनबाट बोल्दै कास्की समाजका अध्यक्ष गमबहादुर गुरुङले धर्मगुरु दलाई लामाले बाह्य इसारामा नेपालीलाई हदैसम्म हेपेर बोलेकोले आफ्नो र सम्पूर्ण देशभक्त नेपालीहरुको मन दुखेको भन्दै उनको सम्मान झल्किने कुनै पनि स्थानमा नेपाल सरकारले सहभागिता नजनाउन दुतावासलाई अनुरोध गर्दै ज्ञापन पत्रसमेत बुझाए। उनले अत्यन्त भाबुक हुदै भने, ‘अरुले मेरो मातृभूमि र मेरी आमालाई दुत्कार्छन भने उहाँको भजन गाएर मैले किन बस्नु ? यदि नेपालमा बुद्ध जन्मेका हैनन् भनेर उनले भन्छन् भने पनि बुद्धको जन्म भूमि र बुद्धको पवित्र आत्माले उनलाई क्षमा गरोस्।’

आयोजकले बौद्ध धार्मिक विधिअनुसार पाठपूजा गरी कार्यक्रमको शुरुवात गरेका थिए । पविना गुरुङद्वारा संचालित कार्यक्रममा सहभागीहरुलाई तमु धीका सल्लाहकार मिन तमुले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, जेष्ठ तमुहरुलाई सम्मानसमेत गरिएको कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै गैरआवाशीय नेपाली संघ बेल्जियमका अध्यक्षले महात्मा बुद्धले देखाएका चार आर्य सत्य र अष्टाङ्ग मार्गको अवलम्बन गर्न सके जीवनले मोक्ष प्राप्त गर्ने र पंचशीलको सिद्धान्तले संसारभर शान्तिको रक्तसंचार गर्ने धारणा राखेका थिए।

त्यस्तै विशेष अतिथिको आशनबाट बोल्दै गैरआवासीय नेपाली संघ युरोप संयोजक शिवकुमार बरुवालले नेपालमा जन्मेका बुद्धको कसैले बोल्दैमा राष्ट्रियता र पहिचान नफेरिने भन्दै बुद्ध ज्ञान र प्रकाशको अर्को नाम भएको तर्क गरे । बुद्धका उपदेश सकेजति अपनाउन कोसिस गरियो भने जीवन र आत्माले सार्थकता पाउने उनले दाबी गरे । बुद्धमार्गी बनेर आचारविचारमा सबैभन्दा कमजोर देखिने छुट हामीलाई कदापि छैन भन्ने आशयसहितको धारणा उनले राखे।

राष्ट्रिय गौरवसंग जोडिएका राष्ट्रिय विभुती भगवान बुद्धको जन्म नेपालमा भएको जानकारी विश्वसामु अवगत गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप विगत केहि वर्षदेखि बेल्जियममा मनाउँदै आईरहेको बुद्ध जयन्ती कार्यक्रममा यसपटक नेपाली राजदुतवास समेतको उपस्थितिमा अन्तरक्रियात्मक रुपले मनाउदा खुशी लागेको बताउँदै गैरआवासीय संघ आइसीसी सदस्य शरु चापागार्इंले नेपालमा स्थायी शान्ति र समृधिको लागि महात्मा बुद्धसंग प्रार्थना गरिन्।

सो अवसरमा तमु धीका सल्लाहकार तथा इन्द्रधनुष क्लबका अध्यक्ष मिन बहादुर तमुले भगवान बुद्धलाई पुज्नु भनेकै उहाँका निर्देशनहरुको पालना गर्नु हो भन्दै कपिलबस्तुबाट भगवान बुध्दको कृत्रिम ढंगको बसाइसराइ सम्भव नभएको बताए। जन प्रगतिशील मोर्चा युरोपका संयोजक बिष्णु भुजेलले महात्मा बुद्धको बलि प्रथाविरुद्धको अभियान, अन्धविश्वास, जातिय विभेद र मानवताको पक्षमा भएका धेरै विचारहरुको सान्दर्भिकता पछिसम्म रहने बताएका थिए। त्यस्तै जनसम्पर्क समितिकी अध्यक्ष सिता सापकोटाले बुद्धको शान्ति संदेश, जीव र जगतप्रतिको अहिंसात्मक प्रेरणा संसारकै लागि महत्वपुर्ण रहेको कुरामा आफ्नो तर्क राखिन्।

त्यस्तै उक्त सभामा राप्रपा बेल्जियमका अध्यक्ष दिपेन्द्र केसी, पत्रकार महासंघ युरोपका वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई, जनजाति सरोकार मञ्च बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्ग, संयुक्त किरात समाजका महासचिव माकुना राई,पर्बत समाजका अध्यक्ष बाबुराजा, काभ्रे समाजका अध्यक्ष दिनेश उप्रेती लगायतले महात्मा बुद्धको महत्वपुर्ण योगाभ्यास बिपासना लगायत विविध विषयमा आफ्ना विचारहरु पस्किएका थिए।

आयोजकद्वारा कार्यक्रममा सहभागीहरुलाई भगवान बुद्धको प्रसादस्वरुप पन्चामृत, फलफुल, खानेपानी, जुश र सेलरोटी अचार वितवरण गरेका थिए । स्मरण रहोस्, तमु समाज, शेर्पा समाज, मगर समाज लगायतका नेपाली संघ संस्थाहरुले बेल्जियमको हुइमा अबस्थित तिब्बेतियन गुम्बामा पुगी पुजा आर्चना गरेर समेत बुद्ध जयन्ती मनाएका थिए।