चीनलाई उपहार दिन अर्को गैँडा नियन्त्रणमा

चीनलाई उपहार दिन अर्को गैँडा नियन्त्रणमा


सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा आज नियन्त्रणमा लिइएको छ । सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको सुखीभारबाट अन्दाजी दुई वर्षको गैंडा नियन्त्रणमा लिइएको हो । सो गैंडालाई आजै कसरामा रहेको पिट बुमामा ल्याएर राखिने उहाँले बताउनुभयो ।

यसअघि वैशाख १५ गते निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट एउटा भाले गैंडा नियन्त्रणमा लिइएको थियो । बच्चा गैंडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताउनुभयो ।

गैंडाको बच्चा तीन चार वर्षसम्म आमासँगै रहने गर्दछ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगे लगत्तै भाग्ने हुँदा लिंग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको उहाँले बताउनुभयो ।

वैशाख ७ गतेबाट निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारबाट नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनिया प्रतिनिधिसँगै रहेका छन् ।

अर्को एक गैंडाको भाले बच्चा सौराहामा नै रहेको छ । सो बच्चालाई बाढीले बगाएको अवस्थामा त्रिवेणीबाट उद्धार गरी ल्याइएको हो । सो बच्चालाई हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षण गरी राखिएको छ । सो गैंडा करिब एक वर्षको छ । चीन पठाउने दुई जोडी गैंडामध्ये अब एक पोथी गैंडा नियन्त्रण गरिने प्रमुख ढकालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका गैंडालाई सौराहामा रहेको पिट बुमा (खोर) मा राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिनेछ । करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाउनेछ ।

तस्बिर रासस