पत्रकारिता अनुभव : तराईदेखि हिमालसम्म

पत्रकारिता अनुभव : तराईदेखि हिमालसम्म


– विनोद त्रिपाठी

सुस्त र भद्दा रहेको नेपालको सरकारी कर्मचारी संयन्त्र समाचारबाट त्रसित मात्र बन्यो, सचेत कहिल्यै भएन । गणतन्त्र आएपछि झन् कर्मचारी वर्ग सङ्गठनका नाममा बलियो हुँदै गयो र सत्य सूचनालाई पनि बेवास्ता हुने क्रम बढ्यो । पञ्चायतकालमा समाचारको स्रोत थिएन । समाचार पस्कने माध्यम पनि थिएनन् । त्यसबेला सूचनाको पहुँच नभएको व्यवस्थामा एकाध चुहिने समाचारले ठूलो हलचल ल्याउँथ्यो । तर, अहिले सेकेन्डभरमा आउने जानकारीहरू कर्मचारी क्षेत्रका लागि निष्प्रभावी खबर बन्ने गरेको छ । खासगरी, कर्मचारी क्षेत्रमा देखिएको जवाफदेहिता र कर्तव्यनिष्ठताको अभावमा यस्तो बनेको हो ।

आधुनिकीकरणतर्फ कुदिरहेको विश्व अहिले प्रविधिको डिजिटलाइजले गर्दा भूगोलका आधारमा कुनै भूभाग सुदूर छैन । हाम्रा सूचनाका स्रोतहरू निश्चित तप्काबाट फैलिएर सर्वसाधारणका हातहातमा पुगिसकेका छन् । घटनाको वास्तविकता र सूचनाहरू क्षणभरमै विश्व डिजिटल बजारमा फैलिरहेको छ । नेपालजस्ता कम विकसित मुलुकहरू दशक अघिसम्म सूचनाका लागि मिडियाका स्रोतमाथि मात्र भर पर्नुपर्ने अवस्था थियो । विकसित मुलुकहरू डेढ दशक अघिसम्म यस्ता प्रविधिसँग खेल्दै थिए । अहिले साना–ठूला, धनी–गरिब मुलुकहरू सूचनाको क्षेत्रमा एक ठाउँमा जोडिएका छन् । यसले, क्षणभरमै मिल्ने सूचनालाई हाम्रा मनमस्तिष्कको सोचाइको द्रुत स्तरमा समानता ल्याइदिएको छ ।

पुरानो जमानामा सूचनाको अन्धकारबीच मानिसका मनभित्र के भयो होला ? कस्तो होला ? कहाँ होला घटना घटेको ? भनेर मस्तिष्कमा खेल्ने हुटहुटी मनमा खुल्दुली सेलाएपछि मात्र सूचना पाइन्थ्यो । अहिले नयाँ जमानामा मनले खोजेकोभन्दा पहिले हाम्रा हातहातका प्रविधिमा घटनाको जानकारी मिल्ने गरेको छ । यो रफ्तार मानवजीवनको चेतनाको विकासको गतिसँगै वैज्ञानिकहरूले उत्पादन गरेका मिहिनेतका प्रतिफलहरू हुन् । भौतिक विकासमा नेपाल पुछारको श्रेणीमा रहे पनि सूचना प्रविधिको प्रयोगमा भने नेपालीहरू अब्बल नै देखिएका छन् ।

शताब्दीऔँ देखि हामीले हाम्रै आँगन चिन्न सकेनौँ, हामीले हाम्रो करेसाबारी देख्न सकेनौँ । विकासका हरेक तप्कालाई विश्व पर्यटन क्षेत्रमा प्रभावकारी ढङ्गले फैलाउन सकेको भए हाम्रो आर्थिक स्तर धेरै वर्ष अगाडि नै पहिलो नम्बरमा पुगिसक्ने थियो । यो कुराको साधारण सर्वेक्षण हाम्रा भूगोलहरूको अध्ययनहरूले हरेक नागरिकले सजिलै गर्न सक्छ ।

मैले जीवनमा डेढ दशकभन्दा बढी बिताएको मूलधारको पत्रकारिताबाट करिब सबै भूगोल, वर्ग, जात, क्षेत्र, लिङ्ग र मौसमका विषयहरूबारे अनुभव लिएँ । हाम्रो देश नै यही विविधताले भरिएको विशिष्ट भूगोल हो । चितवन राष्ट्रिय निकुञ्जमा आहाल बसेका गैँडाहरू हुन् वा सोझै उत्तरतर्फ करिब ५ सय किलोमिटर दूरीमा रहेको डोल्पाछेउमा चरिरहेका नाउरहरू हुन् यी सबैको जीवनले हाम्रो मौलिक प्रकृतिलाई जीवन्त बनाएको छ । कपाल दुख्ने ठोरी बजारको गर्मी र मुटु कमाउने लोमान्थाङ बजारको चिसो हाम्रा शरीरले फरक अनुभव गरे पनि यी दुवै तापमान हाम्रा जीवनभित्र बदली भएर पचाउने प्राकृतिक स्रोत रहेको मैले अनुभूति गरेँ ।

चिसो छल्न तराई झर्ने मुस्ताङीहरू यही मौसम सामीप्यताको खोजीमा हिँडेको देख्दा फरक तापक्रम पनि नेपालीको जीवनकै अभिन्न अङ्ग बनेको प्रमाणित गरिदिएको छ । कारण हो, चिसो छल्न झरेका हिमालीवासीहरू यही मौकालाई उपयोग गरेर २-४ लाख कमाएर घर फर्कन्छन् । जसले गर्दा उनीहरूको जीवनयापन आर्थिक रूपमा सहज बनाइदिएको छ भने नेपालभित्रको भूगोलको सिमानालाई मेटिदिएको छ । आफ्नै देशभित्र तराई, पहाड, हिमालका नाममा सिमाना छुट्याउन हुँदैन भन्ने यी हिमालीहरूले पुर्खौंदेखि सन्देश छरिरहेका छन् ।

हिउँले सेताम्मे ३५ हजार हेक्टरमा फैलिएको कोरला फाँट । उत्तरतर्फ चीनको सिमानामा जोडिएका ससाना हिमालका थुम्काहरू । दक्षिण नेपालतर्फ लमतन्न परेका अग्ला हिमालहरू । समुद्र सतहबाट ४६ सय मिटर उचाइको यो फाँट आकाशमा नेपालीको अर्को तराई फैलिएझैँ लाग्छ । सम्भवतः नेपालको सरकार यो भूगोलबाट टाढा मात्र छैन, अनभिज्ञ भएको प्रतीत हुन्छ । पारिपट्टि चीनका जमिनहरू भौतिक विकासले उज्यालिँदै गएका छन् भने हामी आफ्नै अँध्यारोमा हाम्रो पाइला खोजिरहेका छौँ । भूगोलले हाम्रो मुलुक विविधतामय छ, तर अनेकताको यही पहिचान नै हाम्रा लागि विश्वमाझ आकर्षक बन्ने उपहार प्रकृतिले हामीलाई दिएको थियो । तर, शताब्दीऔँ देखि हामीले हाम्रै आँगन चिन्न सकेनौँ, हामीले हाम्रो करेसाबारी देख्न सकेनौँ । विकासका हरेक तप्कालाई विश्व पर्यटन क्षेत्रमा प्रभावकारी ढङ्गले फैलाउन सकेको भए हाम्रो आर्थिक स्तर धेरै वर्ष अगाडि नै पहिलो नम्बरमा पुगिसक्ने थियो । यो कुराको साधारण सर्वेक्षण हाम्रा भूगोलहरूको अध्ययनहरूले हरेक नागरिकले सजिलै गर्न सक्छ ।

सम्भवतः नेपालको सरकार यो भूगोलबाट टाढा मात्र छैन, अनभिज्ञ भएको प्रतीत हुन्छ । पारिपट्टि चीनका जमिनहरू भौतिक विकासले उज्यालिँदै गएका छन् भने हामी आफ्नै अँध्यारोमा हाम्रो पाइला खोजिरहेका छौँ ।

समाचार र सूचनाको थोरै परिपक्वताले पछिल्ला वर्षमा दबाबका भरमा केही विकासका काम हुन थालेका छन् । मिडियाको पहुँच र नागरिकको दबाबबिना कुनै विकास हुँदैन भन्ने धेरै उदाहरण छन् । त्यस्ता उदाहरण यो आलेखमा राख्न खोजिएको होइन । तर, सर्वसाधारणबीच फैलिएको सूचनाको पहुँचले केही न केही विकास निर्माणका कामहरूमा सही दिशानिर्देश गरेको प्रमाणित गरिदिएको छ ।

गैँडाकोटको ४० डिग्रीदेखि कोरलाको ४ डिग्री सेन्टिग्रेडको तापक्रमको भूगोललाई केही वर्षमै सोझै कालीगण्डकी करिडोर सडकले जोड्दै छ । ४ सय ३५ किलोमिटर लामो यो सडक त्यस्तो हो जसले हिमाल र तराईको दूरी घटाइदिनेछ । अहिले सडक निर्माण राष्ट्रिय गौरवको भावनाबाट उत्प्रेरित भएर प्रारम्भिक योजनाको खाकाअनुसार तयार भइरहेको छ ।

हामी नेपालीको विविधतामा एकताको अपरिहार्य भनेको मुख्य रूपमा नेपाली भाषा हो । विकासको क्रमलाई भाषाको एकद्वार प्रणाली फलदायक साबित हुन्छ भन्ने नागरिकस्तरमा चेतना छाएको छ । स्वार्थवश झाँगिएको भाषा–विवाद विकासको काममा सहजतालाई अवरुद्ध साबित गर्दोरहेछ भन्ने सबै भूगोलमा बसेका नागरिकबाट सहजै बुझ्न सकिन्छ । हिमाली क्षेत्रमा बस्ने होस् वा तराईमा बस्नेको आफ्नो जुन मातृभाषा होस्, सबै नेपालीलाई जोड्न र बराबरी विकास गर्ने मूल माध्यम भनेकै नेपाली भाषा मात्र हो भन्ने अहिलेका युवापिँढीले सिकाइरहेका छन् । अधिकारका नाममा भाषाको एकरूपता विश्वमाझ हाम्रो मौलिकता नेपाली मात्र हो भन्ने कुनाकाप्चाका नेपालीबीच निकै फैलिएको छ । यसको मुख्य कारण सूचनाको प्रविधि नै हो ।

सूचनाले विकास मात्र गरेको छैन, देशभित्रको भ्रातृत्वप्रेमलाई अझ नजिक बनाइदिएको छ । विकृतपूर्ण सूचनाका सञ्चारमाध्यमहरूलाई निषेध गरेर हिमालदेखि तराईसम्मका घरघरमा सहज सूचनालाई मलजल गर्ने हो भने हाम्रो रङ्गीबिरङ्गी सुखद जीवनयापनबारे विश्वले प्रशंसा गर्ने दिन धेरै टाढा छैन । हामीले मात्र चेतनाको स्तर उचाइमा पुऱ्याएर लगाव र क्षमतामा सुधार गर्न आवश्यक छ ।

अघिल्लो पुस्ताले आफ्नै जातिको भाषाबाट जीवन व्यतीत गरेर पुगेकै थियो । तर, अहिले यो सम्भव छैन भन्ने प्रमाणित शिक्षित युवाहरूले गरिदिएका छन् । राज्यले यसमा जात वा भाषाका नाममा थोपरिदिएको सिन्डिकेट युवाहरूले गलहत्याइदिएका छन् । यो तराईदेखि हिमालसम्मको नेपाली भाषिक मालाले उनिदिएको गतिलो प्रमाण हो । मुलुक समृद्ध बन्ने यो त्यस्तो माध्यम हो जुन जात वा वर्ग जे भए पनि क्षणभरमै सबै नेपालीलाई यही नेपाली भाषाले एकै मालामा उनिदिएको छ । जसरी एउटै सडकले सोझै तराईदेखि हिमाल जोड्दै छ कालीगण्डकी करिडोर राजमार्गले । सर्लाहीमा फलेका आँप हुन् वा जोमसोम र मार्फा वरपरका स्याउ हुन् सबैले एक नेपाली एक नेपालको अटल सन्देश प्रवाह गरिदिएको छ ।

देशका विभिन्न भागमा कुदेर पत्रकारिता गर्दा धेरै ज्ञान हासिल गर्ने अवसर मिल्दोरहेछ । हाम्रो पत्रकारिता द्रुत गतिमा गुणात्मक विकास भएको हो कि गति मात्र लिएको हो, कुनै समीक्षकले सटिक आकलन गर्न सक्दैन । तर, जे–जस्तो सङ्ख्यात्मक रूपमा मिडिया उत्पादन भइरहेको छ, हाम्रोजस्तो गरिबी मुलुकका लागि सुखद नै मान्नुपर्छ । सूचनाले विकास मात्र गरेको छैन, देशभित्रको भ्रातृत्वप्रेमलाई अझ नजिक बनाइदिएको छ । विकृतपूर्ण सूचनाका सञ्चारमाध्यमहरूलाई निषेध गरेर हिमालदेखि तराईसम्मका घरघरमा सहज सूचनालाई मलजल गर्ने हो भने हाम्रो रङ्गीबिरङ्गी सुखद जीवनयापनबारे विश्वले प्रशंसा गर्ने दिन धेरै टाढा छैन । हामीले मात्र चेतनाको स्तर उचाइमा पु¥याएर लगाव र क्षमतामा सुधार गर्न आवश्यक छ । यसका लागि भूगोल र जातबाट सिर्जित विभेदहरूलाई मन–मनभित्रबाट पखालेर हामी नेपालीको लागि हामीले हाम्रै लागि काम गर्ने हो भन्ने सकारात्मक सोच पलाउन बाँकी भने अवश्य नै छ ।