प्रअ सरुवा हुँदा विद्यालय बन्द, स्कुल बन्यो क्रिडास्थल

प्रअ सरुवा हुँदा विद्यालय बन्द, स्कुल बन्यो क्रिडास्थल


– प्रणय साह

पर्साको कालिकामार्ई गाउँपालिका–२, गदियानीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भौतिक संरचना भएर पनि स्कुल भने बन्द रहेको छ । विद्यालय बन्द भएका कारण स्थानीय दर्जनौँ बालबालिका लेखपढको अधिकारबाट बञ्चित भएका छन् । वडाको एउटै विद्यालय बन्द हुँदा विद्यालय जाने बालबालिका घरै बस्न बाध्य बनेको र उनीहरूको भविष्य अन्धारमा परेको स्थानीय सेयरा खातुनले बताइन् ।

उक्त गाउँबाट अर्को विद्यालय दुई किलोमिटर टाढाको अर्को गाउँमा छ । तर, आफ्नो गाउँको विद्यालय बन्द भएकोले उनीहरू त्यहाँसम्म जान मान्दैनन् । विद्यालय संचालन भएको बेला करिब १ सय ५० बालबालिका उक्त स्कुलमा पढ्ने गर्दथे भने बन्द भएपछि सय जना अर्को गाउँको बिद्यालयमा गए पनि पचास जनाले पढाई छोडी घर बसेको खातुनले जानकारी दिइन् ।

यतिबेला सो स्कुलमा केटाकेटीहरू लुकामारी र क्रिकेटलगायत खेल खेल्ने गर्छन् भने स्कुल परिसरमा पशु चौपाया बाँध्ने गरिएको छ । यसरी विद्यालय गोठमा परिणत हुँदा पनि स्कुल सञ्चालन गर्नेतर्फ राज्यका निकायको ध्यान नपुग्नु दुःखको कुरा भएको छ ।

विद्यालयका प्रअ मनोज कुशवाहाले नजिकैको सुकई साह मावि भेडिहारीमा आफ्नो काज सरुवा गराएपछि विद्यालय बन्द भएको स्थानीयहरू बताउँछन् । स्थानीयद्वारा विद्यालय सञ्चालनको लागि धेरैपटक जिल्ला शिक्षा कार्यालय पर्सामा पहल भए पनि विद्यालय सञ्चालन हुन नसकेको उनीहरू बताउँछन् ।

(तस्बिर प्रणय)