किशुनजीले बदाम किन्न लगाउँदा…

किशुनजीले बदाम किन्न लगाउँदा…


-केशवप्रसाद मैनाली
किशुनजीको निधनको खबरले ममा एउटा चिन्ता र नैराश्यले छोयो- चिन्ता यस मानेमा कि एउटा असल सन्तनेता रहनुभएन, नैराश्य यसकारण कि पाप, घात र पदलोलुपतामा फसेका अहिलेका नेतालाई देखाएर ‘यस्तो व्यक्ति पो चाहिन्छ नेतामा’ भन्ने दृष्टान्तको एक मात्र कडी पनि हामीमाझ रहनुभएन ।
आज हामी सुनिरहेका छौँ पद सकिएपछि पनि आफूले चढेको उत्तम गाडीको मोहले नछाडी जनताको सम्पत्ति सदैव प्रयोग गरी विलासीतापूर्ण जीवन जिउने सोच बनाएका प्रधानमन्त्री र मन्त्रीहरूको माझमा एउटा सन्त प्रधानमन्त्री पनि यो देशमा थिए जसले प्रधानमन्त्रीनिवास छिर्नेबेलामा लगेको छाता, टिनको बाकस र माटोको सुराही लिएर फर्किए । आज सन्तनेता भट्टराईलाई श्रद्धाञ्जली दिन गएका तमाम राजनीतिक नेता र प्रधानमन्त्रीले अलिकति पनि किशुनजीलाई इमानदारीपूर्वक अनुशरण गर्न सके भने मात्र वास्तवमा त्यो सच्चा श्रद्धाञ्जली हुनेछ- अन्यथा ओठेभक्ति र श्रद्धाञ्जलीको कुनै अर्थ छैन ।
आफूलाई महान् आदर्शवादी र सच्चा सेवक भनाउन झुटो बोल्दै हिँड्ने नेताहरूले नियालेर हेर्न जरुरी छ किशुनजीको जीवनमा । उहाँ घात, प्रतिघात, छलछाम, अनैतिक क्रियाकलापबाट टाढा रहेर सङ्घर्ष गर्दै सन्तनेता हुनुभएको हो । उहाँ आफूले सन्त भनेर घोषणा गर्नुभएको होइन, जनताको नजरमा उहाँको क्रियाकलाप सन्तको जस्तो पवित्र ठहरिएकोले सन्तनेता हुनुभएको हो । पित्तलले जतिसुकै म सुन हुँ भनेर फलाके पनि कसैले सुन भन्दैन, तर सुनले मलाई सुन भन न भनेर भन्नैपर्दैन- उसलाई सुन नै भनिन्छ । आजभोलिका जनतालाई भ्रम पारी राम्रो हुँ, असल हुँ भन्ने नेताले यो कुरा बुझन जरुरी छ ।
सादा जीवन उच्च विचारका किशुनजी एक कर्तव्यनिष्ठ, गान्धीवादी र राष्ट्रवादी नेता हुनुहुन्थ्यो । पटकपटक पञ्चायतको क्रूर पञ्जामा परेर जेल पर्नुभयो । तर अरू नेताहरू झैं प्रवासमा कहिल्यै शरण लिनुभएन- नेपालमा प्रजातन्त्र ल्याउन यहीँ बस्नुपर्छ भन्ने धारणा उहाँमा थियो । २००७ सालको क्रान्तिको मोर्चा सम्हाल्नुभएका किशुनजी ०४६ सालको आन्दोलनमा पनि नथाकी नेतृत्व गर्नुभयो । उहाँले आफ्नो कार्यकुशलताको परिचय ०४६ सालको आन्दोलनपश्चात् समयमै संविधान निर्माण गरी मुलुकलाई दिनुभयो । त्यसबेलाको परिस्थिति समायोजन गरी संविधान निर्माण गर्नु फलामको च्यूरा चपाउनुजस्तै थियो । एकातिर राजा, सैनिक र अर्कातिर राजनीतिक दल, विदेशीको दबाब सबैलाई समायोजन गर्दै समयमै निर्माण गरेको संविधानको प्रशंसा भएको थियो । उहाँ समयमै चुनाव गराउनुभयो । आज पनि समयमै संविधान निर्माण गर्न, ‘जनताको हाम्रो राम्रो’ संविधान निर्माणमा जुटेका नेताजीहरूले यसबाट पाठ सिक्न जरुरी छ ।
०१७ सालमा आफू सभामुख हुँदा राजाले कु गरेर पछि प्रजातन्त्र नआई विवाह नै गरि्दनँ भनी भीष्मप्रतिज्ञा गर्ने किशुनजीले आत्माको आवाजसँग कहिल्यै सम्झौता गर्नुभएन । नेकाले गणतन्त्र स्वीकारेपछि पनि उहाँ एक्लै आफ्नो आत्माको बोलीमा अडिग रहनुभयो । उहाँ भन्नुहुन्थ्यो- राजा कस्ता थिए र के गरे भन्नुभन्दा पनि देशलाई संवैधानिक राजतन्त्रको आवश्कता छ, राजाभन्दा मजबुत अर्को वैकल्पिक संस्था नजन्मीकन राजा फ्याक्नु बुद्धिमानी होइन । उहाँको यो धारणा सही थिएनन् र ? भनी घोत्लिनुपर्ने अवस्था आएको छ आज । यसैमा कुरा नमिलेर उहाँले पार्टी छोडिदिनुभयो तर सम्झौता गर्नुभएन । आफू प्रधानमन्त्री हुँदा आफू हारेर पनि पार्टीलाई जिताउने किशुनजी व्यक्तिभन्दा पनि पार्टी ठूलो, पार्टीभन्दा देश ठूलो भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँप्रति घातप्रतिघात गर्नेहरूमाथि कहिल्यै बदलाको भावना राख्नुभएन । उहाँले सबैमाथि असलभाव राखेकोले नै उहाँको चरित्र सन्तको जस्तो देखिएको हो । विदेशीको दबाबमा नझुक्ने किशुनजीले भारतले हतियार भारतबाटै किन्नुपर्छ भन्दा ‘हामीलाई जहाँबाट सस्तो हुन्छ त्यही किन्छौँ’ भन्ने जवाफ दिनुभएकोबाट प्रस्ट हुन्छ ।
जटिल परिस्थितिलाई पनि सहजताको साथ सामना गर्ने किशुनजी हंसमुख र ठट्टा गर्न रुचाउनुहुन्थ्यो । उहाँ आफ्नो सरल बानी र ठट्टाबाट गम्भीर परिस्थितिलाई सहजतामा परिणत गर्नुहुन्थ्यो । यस्तो स्वभाव विरलै नेताहरूमा हुन्छ । मृत्युशय्यामा पनि मर्ने डरबाट मुक्त भई ठट्टा गर्ने बानीले चिकित्सकहरूलाई चकित पार्नुभएको कुरा सार्वजनिक भएको छ ।
किशुनजीसँग मेरो प्रथम भेट ०२४ सालमा एसएलसी पास गरेर आईए पढ्न म काठमाडौं आउँदा भएको थियो । तिथिमिति याद नभए पनि मलाई एउटा साथीले चिनाएको थियो रत्नपार्कको फुटपाथमा । उहाँलाई जय नेपालको अभिवादन गरेपछि भित्र चौरमा किशुनजीलगायत हामी ५/७ जना बसेका थियौँ । अनि किशुनजीले भित्री गोजीमा हात हालेर पैसा झिक्नुभयो र मलाई भन्नुभयो- ‘तपाईं ऊ त्यहाँ -औंलाले देखाउँदै) गएर लामो कपाल भएकी राम्री केटीले बदाम बेच्छिन्, लिएर आउनू ।’ फेरि तुरुन्तै थप्नुुभयो- ‘अन्त नजानू नि, त्यही केटीकहाँबाट लिनु ।’ मलाई रमाइलो लाग्यो, म गएँ र बदाम किनेर ल्याएँ, सबै मिलेर खायौँ । सोही क्रममा उहाँले अर्तीको भाषामा ‘विद्यार्थीले देशको परिस्थितिमा चासो राख्नुपर्छ’ भन्नुभयो । म उहाँको मित्रवत व्यवहारबाट प्रभावित भएँ । त्यसपछि बाटामा भेट्दा सधैं ‘जयनेपाल’ गर्दंथे, उहाँ हाँस्दै फर्काउनुहुन्थ्यो । उहाँको बानी बाटो हिँड्दा यताउती हेर्दै हिँड्ने र नमस्कार या जय नेपाल भन्नेहरूलाई सुरुचीपूर्वक अभिवादन फर्काउनु हुन्थ्यो । आजभोलिका नेता अभिवादन फर्काउनसमेत अपमान ठान्छन् ।
मलाई सम्झना छ- रंगशालामा नेकाको अधिवेशन भएको थियो, किशुनजी अध्यक्ष हुनुहुन्थ्यो । बोल्ने क्रममा ‘सबैले बोल्न पाउनुपर्छ’ भनेर होहल्ला भयो । किशुनजीले ‘सबैले बोल्ने कुरा म व्यवस्था मिलाउँछु’ भन्नुभयो, सबै ढुक्क भए । सीमित नेताले बोलिसकेपछि किशुनजीले माइकबाट ‘म जय नेपाल भन्छु तपाईंहरू सबैले त्यही भन्नुहोस्’ भन्नुभयो । सबैले एक साथ जय नेपाल भने, अनि किशुनजीले ठट्यौलो पारामा ‘सबैले बोल्ने मौका पाउनुभएन त ?’ भन्नुभयो- सबै गलल्ल हाँसे । यसरी जटिलतालाई सहजता दिने गुण सन्तनेतामा थियो । एउटा घटना म सम्झन्छु- किशुनजी र्सलाहीको सदरमुकाम मलंगवा पुग्नुभएको बेला त्यस जिल्लाकी महिलानेत्री सुभद्रा मैनालीले महिला सङ्घको कार्यालय उद्घाटन किशुनजीको हातबाट गराउन प्रबन्ध मिलाउनुभयो । किशुनजी बस्ने मेच राखेपछि सुभद्राजीले पुच्छ्नुभयो । किशुनजी त्यहीँ उभिएर हेरिरहनुभएको थियो- बस्ने बेलामा किशुनजीले कुर्सी हातले पुच्छनुभयो । सुभद्राजीले भन्नुभयो, ‘किशुनजी मैले कुर्सी पुछिसकेकी थिएँ ।’ किशुनजीले ठठ्यौली पारामा ‘मलाई महिलाप्रति विश्वास छैन त्यसैले आफैं पुछेँ’ भन्नुभयो । हाँसोको फोहोरा छुट्यो । त्यति सरल र विनोदप्रिय हुनुहुन्थ्यो किशुनजी । पञ्चायतकालमा उहाँले मलाई नेकाको महाससमिति सदस्य मनोनीत गरेर पठाउनुभएको थियो । ममाथि गरेको उहाँको विश्वासले म गद्गद् भएको थिएँ । त्यही विश्वासले हाम्रो परिवार नै ‘काङ्ग्रेस’ भएको थियो । समय-परिस्थिति तथा राष्ट्रको विशेष आवश्यकताका कारण आज म छुट्टै पार्टीको नेतृत्व गर्ने हैसियतमा उभिएको छु, तथापि आफूले कांग्रेसमा रहेर चुहाएको पसिना किशुनजी जस्ता नेताको स्नेहसँगै म सम्झिरहेको छु ।
आज उहाँलाई दैवले चुँडेर लग्यो । अब उहाँको सम्झना मात्र नेपाली जनतामाझ बस्छ । तर मलाई लाग्छ- उहाँलाई हामीले हामीभित्र अनुवाद गर्नुपर्छ, उहाँको आदर्श र राष्ट्रप्रतिको वफादारीबाट शिक्षा ग्रहण गरी मुलुकको मुहार फेर्न शोकलाई शक्तिमा परिणत गरी अग्रसर हुनुपर्छ । अनि मात्र वास्तवमा किशुनजीप्रति न्याय हुन्छ । किशुनजीलाई फूलमाला चर्ढाई आठेभक्तिमा समय गुजारेर काम चल्दैन । सत्ताको फोहोरी खेलमा लुछाचुँडी गदैरैलमा संविधान दिन नसक्ने हो भने किशुनजीको आत्माले धिक्कार्नेछ । आजैको दिनमा प्रण गरौँ- ‘जनताको हाम्रो राम्रो’ संविधान समयमै निर्माण गरेर देशको भविष्य उज्यालो पारी किशुनजीको आत्मालाई खुसी पारौँ । किशुनजीप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली ।
-लेखक चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष एवम् सभासद हुनुहुन्छ ।)