‘कुहिरोमा हराएको काग’ बन्दैछ एन्फाको निर्वाचन

‘कुहिरोमा हराएको काग’ बन्दैछ एन्फाको निर्वाचन



– श्रीविक्रम भण्डारी

निर्वाचनको मिति तोक्दै, सार्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुनः निर्वाचनको मिति तोकिएको छ । चारपटक मिति तोकेर विभिन्न बहानामा हुन नसकेको एन्फाको निर्वाचन यो पटक पनि हुन्छ या हुँदैन त्यसै भन्न सकिने अवस्था छैन । विनाविवाद निर्धारित तोकिएको समयमा हुनुपर्ने एन्फाको निर्वाचन यतिबेलासम्म फिफा, एएफसी र अदालतको शरणमा पुगिसकेको छ, तर पनि हुन सकेको छैन् । एन्फाको निर्वाचनमा भाँजो हाल्नेहरु अहिलेसम्म सक्रिय छन्, जस्लेगर्दा एन्फाले निकास पाउन सकेको छैन ।

यतिबेला एन्फाको निर्वाचन यथासिघ्र गर्न फिफा र एएफसीको दबाव, अदालतको हरियो झण्डा र सम्पूर्ण जिल्लाको निर्वाचनका कारण एन्फाको निर्वाचन हुने संकेत देखिएको छ । र, पनि एन्फाको निर्वाचनमा काला बादलहरु मडारिरहको संकेत अध्यक्षका उम्मेदवार कर्मा छिरिङ शेर्पाले देखाउनुले एन्फाको निर्वाचन सहजरुपमा हुने देखिदैन् । स्थितिलाई मध्यनजर गर्दा एन्फाको निर्वाचनमा व्यापक चलखेलखेल हुने देखिएको छ । त्यसको लागि व्यापक कसरत भैरहेको अध्यक्षका प्रत्यासी शेर्पाले पटक–पटक ‘फेसबुक’मा राखेको स्टाटसबाट पनि थाहा पाउन सकिन्छ ।

निर्वाचन तोकिएको समयमा नगरे फिफाले प्रतिबन्ध लगाउने चेतावनी दिदादिदै पनि एकथरी पक्षले त्यसलाई अहिले पनि चुनौंति दिदै आएको शेर्पाको कथनले पनि यसलाई पुस्टि गर्छ । तसर्थ एन्फाको निर्वाचन जतिजति नजिकिदै छ, शंका, आशंका पनि त्यति नै बढेर गएका छन् । जस्लेगर्दा अहिले पनि एन्फाको निर्वाचन कुहिरोमा हराएको काग जस्तै बनेको छ । भोलि त्यसले आफ्नो गन्तव्य पहिल्याउन सक्छ या सक्तैन त्यसै भन्न सकिने अवस्था छैन् ।

र पनि, अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले यहि बैशाख २२ गते एन्फाको निर्वाचनको मिति तोकेको छ । एन्फाको निर्वाचनको मिति तोकेसंगै निर्वाचनको माहोल पनि तातेकोछ । ‘परिवर्तन’को नारालाई आत्मसात गरेका पक्षधरहरुले आगामी बैशाख २२ गते हुनगैरहेको एन्फाको १६औं केन्द्रीय साधारणसभालाई ऐतिहासिकको संज्ञा दिएका छन् । साथै उक्त ऐतिहासिक सधारणसभालाई ऐतिहासिक बनाउन शेर्पाको नेतृत्वले आफ्नो उम्मेदवारीको नामावली समेत घोषणा गरेको छ ।

उक्त निर्वाचनमा अध्यक्षमा कर्माछिरिङ शेर्पा, उपाध्यक्षमा कृष्ण थापा, विरबहादुर खड्का, पंकज नेम्वाङ, उपेन्द्रमान सिंहले उम्मेदवारी दिएका छन् । त्यस्तै संघको केन्द्रीय सदस्यहरुका लागि रबिन्द्र श्रेष्ठ, मधुसूदन उपाध्यय, प्रदेशसिंह राठौर, रत्नकुमार श्रेष्ठ, दिनेस व्यञ्जनकार, पूर्णमान चित्रकार, बिजय घले, दीर्घबहादुर केसी, निरोज खड्गी, दावा लामा र किरण राईलाई उम्मेदवारी दिइएको छ । एन्फाको विधान अनुसार महासचिव र कोषाध्यक्षको चयन निर्वाचनपछि संघको कार्यसमितिले गर्छ ।
शेर्पा नेतृत्वले आफ्नो उम्मेदवारी घोषणा गरेपछि अहिले एन्फाको निर्वाचनको माहोल तात्नुको साथैै परिवर्तनका पक्षधरहरु निकै उत्साहित देखिएका छन् । निर्वाचन भएमा आफ्नो विजय सुनिश्चित भएको दावी गर्ने यो पक्षले निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै अर्का एन्फा अध्यक्षका प्रत्यासी मणी कुँवरले अहिलेसम्म आफ्नो नेतृत्वको उम्मेदवारीको घोषणा गरेको छैन । कहिले गर्छन त्यसको कुनै जानकारी प्राप्त भएको छैन ।

त्यस्तै एक जम्काभेटमा एन्फाका महासचिव धिरेन्द्र प्रधानले एन्फाको निर्वाचन वैशाख २२ गते हुने निश्चित भएको बताएका छन् । यतिबेला कुनै विवाद छैन् भन्दै महासचिव प्रधानले अव एन्फाको निर्वाचन पछि धलेकिनु पर्ने कुनै कारण नभएको प्रस्ट पारेका छन् । पछिल्लो समय विभिन्न कारणले निर्वाचनको निर्वाचन हुन नसकेपनि यो पटक त्यस्तो नहुने बताएका छन् । साथै एन्फाको निर्वाचनका कारण फुटबल अघोगतिमा लागेको बताउँदै निर्वाचनपछि फुटबल आफ्नो ट्रयाकमा आउने दाबी गरे ।