नेपालमा ५९ करोड युनिट विद्युत चुहावट

नेपालमा ५९ करोड युनिट विद्युत चुहावट


छविलाल बगाले
१२ घण्टासम्मको लोडसेडिङ समस्या अन्त्य गरेको नेपाल विद्युत प्राधिकरणलाई यतिबेला विद्युत चुहावटको समस्याले सताएको छ । प्रतिबर्ष ५९ करोड युनिट विद्युत चुहावट भएपछि प्राधिकरण यसको न्युनीकरणमा जुट्न थालेको हो ।

मुलुकबाट लोडसेडिङ अन्त्य भएपनि विद्युत चुहावटको समस्याले भने सताउन थालेको छ । प्राधिकरणको प्रणालीबाट हुने विद्युत चुहावट २२.५१ प्रतिशतमा झरेको छ । नेपालमा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वितरणतर्फ १४ प्रतिशत विद्युत चुहावट भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार वितरण तथा ग्राहक सेवाबाट अत्यधिक विद्युत चुहावट हुने गरेको छ । वितरण तथा ग्राहक सेवा अन्तर्गत ५९ करोड युनिट विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ । विद्युत चुहावटबाट राज्यलाई करोडौं रुपैंया राजश्व गुमेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । ‘नेपालमा सबैभन्दा बढि तराईका जिल्लामा विद्युत चुहावट हुने गरेको छ ।’ उनले भने, ‘लोडसेडिङ नहुँदा चौविसै घण्टा विद्युत आपूर्ति हुने हुँदा तराईका विभिन्न जिल्लामा मात्रै ५० देखि ६० प्रतिशतको हाराहारीमा विद्युत चुहावट हुने गरेको छ ।’

नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार जनकपुर क्षेत्रीय कार्यलय अन्तर्गत जलेश्वर वितरण केन्द्रको चुहावट ६१ प्रतिशत छ । यस्तै, काठमाडौ क्षेत्रीय कार्यालय अन्तर्गत महाराजगंज वितरण केन्द्रको चुहवाट ४ दशमलव ३४ छ भने भक्तपुर वितरण केन्द्रको चुहावट ३७ प्रतिशत रहेको निर्देशनालयको दावी छ । ‘हामीले विद्युत चुहावटलाई शुन्यमा झार्नका लागि स्थानीय तहका जनप्रतिनिधिसंग मिलेर काम गरिरहेका छौं ।’ प्राधिकरणले चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

प्राधिकरणको प्रणालीबाट २ प्रकारले विद्युत चुहावट हुने गरेको छ । कुल चुहावटको १२ प्रतिशत प्राविधिक चुहावट र बाँकी अप्राविधिक चुहावट हो । सबस्टेसन तथा वितरण लाइनमा जडित ट्रान्सफर्मर तथा एचटी र एलटी लाइनमा जडित कण्डक्टर ओभर लोडमा संचालन हुँदा प्राधिवधिक चुहावट हुने गरेको छ ।

यस्तै लोड सेन्टरमा ट्रान्सफर्मर जडान नहुँदा, एचटी र एलटी लाइन लामो दुरीसम्म तानिंदा, मोटर पंखा, एसी आदिको लोड बढ्दै जाँदा ग्राहकले क्यापासिटर बैंक जडान नगर्दा प्राविधिक चुहावट हुने गरेको छ । विद्युतको लाइनमा हुकिङ गरेर चोरी गर्नु, खपत नउठ्ने गरी मिटर वाइपास गर्नु, वाह्य पदार्थ घुसाई मिटरलाई घुम्न नदिनु आदि अप्राविधिक चुहावट हुन । प्राधिकरणले चुहावट नियन्त्रण अभियानका क्रममा अप्राविधिक चुहावट घटाएको छ । कमजोर भौतिक संरचनालाई समेत व्यवस्थित गरी प्राधिकरणले ५० देखि सय मेगावाटसम्मको माग घटाउने लक्ष्य लिएको छ ।