‘सन्की नेता’लाई जसले गर्छन् सञ्चालन

‘सन्की नेता’लाई जसले गर्छन् सञ्चालन


गत शुक्रबार भएको ‘कोरियाली समिट’माथि विश्वकै दृष्टि यसरी गढ्यो कि कुनै आश्चर्य नै घटिरहेको होस् । यसको खास कारण थियो– कट्टर दुस्मनका रूपमा रहेका दक्षिण र उत्तर कोरिया ६५ वर्षपछि पुनर्मिलन गर्दै थिए । उक्त समिटमा भाग लिन दक्षिण कोरिया गएका उत्तर कोरियाका ‘सन्की नेता’ किम जोङ उनले आफूसँग विशेष प्रतिनिधिमण्डल लगेका थिए । उक्त प्रतिनिधिमण्डलमा जे–जस्ता पात्र सामेल थिए ती किम जोङका अत्यन्त निकट र विश्वासपात्रहरू भएको विश्वास गरिन्छ । दक्षिण कोरियाले त यति वरिष्ठ प्रतिनिधिमण्डललाई आफ्नो देशले कहिल्यै स्वागत गर्ने अवसर नपाएको प्रतिक्रिया दिएको थियो । यसबाट अनुमान लगाउन सकिन्छ, समिटमा सहभागी उत्तर कोरियाली प्रतिनिधिमण्डलमा उक्त देश सञ्चालनमा किमलाई बाटो देखाउने खास पात्रहरू नै थिए ।

यतिबेला यही मानिँदै छ कि दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँगको अहम् भेटघाटपछि किमले आगामी महिना अमेरिकी राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् । ‘सन्की नेता’को अचानक परिवर्तित रवैयाले सिङ्गै विश्व आश्चर्यमा परेको छ । यस्तोमा स्वतः सवाल पैदा हुन्छ कि आफ्ना अफिसरहरूलाई सामान्य रिस उठ्दैमा तोपले उडाइदिने, आफ्नै फुपाजुलाई सिकारी कुकुरबाट लुछाएर प्राण लिने, अमेरिकाजस्तो महाशक्तिसम्पन्न मुलुकलाई परमाणु हमला गरेर ध्वस्त तुल्याउनेलगायतका धम्की दिने ‘सन्की’ नेता एकाएक बदलिए कसरी ? शत्रुपक्षलाई परमाणु हमलाको खतर्नाक धम्की दिने तानाशाह ‘दुस्मन पक्ष’सँग मुस्कानका साथ हात किन मिलाउँदै छन् ?

दुवै कोरियालाई राम्रोसँग नियाल्दै आएका विज्ञहरूले यसरी एकाएक कोरिया प्रायद्वीपमा आश्चर्यजनक ढङ्गले राजनीतिक परिवर्तन पैदा हुनुमा एक्ला किमको सोच–व्यवहारले नभई नौ सदस्यीय यस्तो टिमको चलाखीले काम गरेको छ, जसलाई किमले आफ्ना सबभन्दा नजिकका विश्वासपात्र मानेर सल्लाह लिँदै आएका छन् । यो टिममा स्वयम् किमकी बहिनी किम यो जोङदेखि लिएर उत्तर कोरियाकै सबभन्दा पाका लिडर किम योङ नम र केही मन्त्री एवम् आर्मी चिफसम्म रहेका छन् ।

जानौँ किम जोङ उनका यी सबभन्दा निकटका विश्वासपात्रहरूबारे, जसले उत्तर कोरियालाई डो¥याइरहेका छन् ।

१. किम यो जोङ : किम यो जोङ पूर्वउत्तरकोरियाली शासक किम जोङ इलकी सबभन्दा कान्छी छोरी हुन् । किम जोङ उनकै आमाबाट जन्मिएकी यिनी उनभन्दा चार वर्ष कान्छी छिन् । यी दुवै (दाजु–बहिनी)ले स्विट्जरल्यान्डमा पढाइ पनि सँगै गरेका थिए । किम यो जोङलाई तीक्ष्ण बुद्धि र विवेकले भरिएकी महिला मानिएको छ । आफ्नो दाइको बिग्रिएको छवि सुधार गर्न पार्टीको प्रोपोगण्डा विभाग सम्हालेकी यिनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । एक वर्षअघि मात्र यिनलाई पोलिटब्युरो मेम्बर बनाइएको थियो । उनी हालै प्योङचाङमा भएको ओलम्पिक खेलमा सहभागी हुन दक्षिण कोरिया पनि पुगेकी थिइन् । किम यो जोङ यतिबेला उत्तर कोरियाका शीर्ष नेताहरूको अग्रपङ्क्तिमा रहेकी छिन् । यो विश्वास गरिन्छ कि किम जोङ उनले लिने अत्यन्त ठूला या महत्वपूर्ण निर्णयहरूमा बहिनी जोङकै हात रहने गरेको छ ।

२. किम योङ नम : आफ्नो लामो राजनीतिक कार्यकालको दौरानमा देशका तीन शासकहरू व्यहोरिसकेका किम योङ नम यतिबेला नब्बे वर्षका छन् । कैयनपटक विदेश भ्रमण गरेर बाहिरी दुनियाँबारे ज्ञान लिएका यी बुज्रुक नेता गत वर्ष इरानका राष्ट्रपति हसन रुहानीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा समेत सामेल हुन पुगेका थिए । देशको सुप्रिम नेतृत्वप्रति यिनको निष्ठा उत्तर कोरियामै नमुनाको मानिन्छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उत्तर कोरियाली नागरिकहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार ‘किम योङ नम कहिल्यै कुनै गल्ती गर्दैनन् ।’ यसैले देशको शासका रूपमा तीन पुस्ता बदलिँदा पनि यिनले आफूलाई उत्तिकै सम्मानित र ओहोदावाल बनाएर राख्न सफल भएका छन् । यिनलाई किम जोङ उनले आँखा चिम्लिएर विश्वास गर्ने जानिफकारहरूको दाबी छ ।

३. चोइ ह्वी : उत्तर कोरियाका खेलमन्त्री चोई ह्वी उदार स्वभावकी छिन् । सन् १९८० को दशकमा चोइले सी अफ ब्लड ओपेरा समूहको प्रबन्धकका रूपमा महत्वपूर्ण भूमिका निभाएकी थिइन् । त्यसबेलादेखि उच्च नेतृत्वको दृष्टिमा यी परेका हुन् । आफ्नो करिअरको अधिकांश हिस्सा चोइ ह्वीले देशको कला क्षेत्रमै बिताएका छन् ।

४. किम योङ चोल : जनरल चोल उत्तर कोरियाका विवादित नेताहरूमध्येका एक हुन् । यिनी देशको सैन्य गुप्तचर विभागका प्रमुख पनि रहिसकेका छन् । मानिन्छ कि सन् २०१० मा योनपियोङ द्वीपमाथि भएको आक्रमण एवम् दक्षिण कोरियाली युद्धपोत चेओनानमाथिको हमलाका पछिल्तिर यिनकै रणनीतिले भूमिका निर्वाह गरेको थियो । हँसिमजाक गर्ने यिनको स्वभाव रहेको छ, तर कठोर निर्णय गर्न पनि यी कत्ति हिच्किचाउँदैनन् । सन् २००७ मा दक्षिण कोरियाले राखेको एक शान्तिप्रस्ताव लत्याउन यिनैले मुख्य भूमिका निर्वाह गरेका थिए ।

५. री सु योङ : री चोलको नामले समेत चिनिने री सु योङ यस्ता पात्र हुन् जो किम जोङ इल (किमका बाबु)का अति निकटका मित्र हुन् । किम जोङ–उन र किम यो–जोङ (दाजु–बहिनी¬) स्विट्जरल्यान्डमा अध्ययन गर्दा यिनैले अभिभावकको भूमिका निर्वाह गरेका थिए । किम परिवारसँग यिनको निकै पुरानो नाता रहेको बताइन्छ । किम जोङ–उनले अहिले पनि यिनलाई आफ्नो पितासमान मान्दछन् । विदेशमा यिनले निकैपटक उत्तर कोरियाको प्रतिनिधित्व गरेका छन् । सन् २०१४ मा री सू योङलाई विदेशमन्त्री पनि बनाइएको थियो । अहिले यिनी अन्तर्राष्ट्रिय मामलासम्बन्धी विभागीय प्रमुखको जिम्मेवारीमा छन् भने विदेशी नेताहरूसँग कुराकानी गर्नुपर्दा यिनको भूमिका अग्रस्थानमा आउँछ ।

६. री म्योङ सू : सन् २०१६ मा देशको सैन्यप्रमुखको पदभार सम्हालेका पात्र हुन् री म्योङ सू । सूलाई सैन्यप्रमुख बनाउनुअघि दुई सेनाप्रमुखलाई किम जोङ–उनले पन्छाएका थिए । तीमध्ये एकको त हत्या नै गरिएको थियो भने अर्कोलाई बर्खास्त गरेरै चित्त बुझएका थिए किमले । कोरियाली युद्धमा भाग लिइसकेका री म्योङ सू यतिबेला प्रमुख सैन्य रणनीतिकारको भूमिका निर्वाह गर्दछन् । किम जोङ उनलाई मुलुकको नेतृत्व लिन तयार पार्ने अहम् जिम्मेवारी यिनैले पूरा गरेका थिए । किम जोङ–इलको निधनपछिका केही वर्ष यी गुमनाम बनेका भए पनि हाल देशको खास नेतामध्ये यिनलाई लिइन्छ ।

७. री योङ हो : री योङ हो उत्तर कोरियाका परमाणु कार्यक्रमका मुख्य मध्यस्थ रहिसकेका पात्र हुन् भने बेलायतलगायतका कैयन देशमा यिनी राजदूत पनि बनिसकेका छन् । सन् २०१६ मा होलाई विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ । यी धेरै बोलिरहनुपर्ने नेताका रूपमा चिनिन्छन् । गत वर्ष उत्तर कोरियामाथि अमेरिकाले युद्ध छेडेको आरोप सर्वप्रथम यिनैले लगाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई ‘कुकुर भुकेसमान’ भन्ने प्रतिक्रिया दिँदा यी खास चर्चामा आएका थिए ।

८. पाक योङ सिक : कोरियाको रक्षामन्त्री (मिनिस्ट्री अफ पिपल्स आम्र्ड फोर्सेस) हुन् पाक योङ सिक । यो मन्त्रालयले सेनाको प्रशासनिकलगायतका गतिविधिका साथसाथै विदेशी सेनाहरू तथा राजदूतहरूसँग वार्तालाप गर्ने गर्छ । देशको सेनाको पुनर्गठनको काम पनि यिनैको निगरानीमा गरिन्छ ।

९. री सोन ग्वोन : दक्षिण कोरियासँगको उत्तर कोरियाली सम्बन्धमाथि निगरानी राख्ने एक समूह ‘पिसफुल रियुनिफिकेसन अफ द कन्ट्री नामक समितिका प्रमुख हुन् री सोन ग्वोन । हालै सम्पन्न विन्टर ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउन यिनैको मुख्य भूमिका थियो । दक्षिण कोरियाको सैन्य अभ्यासमाथि यिनले बेला–बेला कडा चेतावनी दिँदै आएका छन् ।