तीन हजार बोट केरा फाँडेको आरोपमा तीन पक्राउ

तीन हजार बोट केरा फाँडेको आरोपमा तीन पक्राउ


पूर्वी चितवनको कालिका नगरपालिका–६ का एक किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिए । उनीहरुको पहिचान भने खुलाइएको छैन ।

प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताए ।

सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि अहिले इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।

अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गरेका छन् ।

केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ । यस्तै, राससका अनुसार कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ ।