आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा आईराले अभिलाषा विष्टलाई ६–३ र ६–१ तथा प्रेरणाले गंगा शर्मालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
पुरुष सिंगल्समा दोश्रो र तेश्रो संस्करणका विजेता जितेन्द्र परियार र कमल भण्डारी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्रले प्रदीप खड्कालाई ६–१ र ६–१ तथा कमलले सन्तोष खत्रीलाई ६–३ र ६–२ को सीधा सेटमा पराजित गरेका थिए ।
कमल भेट्रान ३५ वर्षमाथि सिंगल्सको पनि फाइनलमा पुगेका छन् । कमलले राजु श्रेष्ठमाथि ६–० र ६–० को सहज जित दर्ता गर्दै महेश श्रेष्ठसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा महेशले रोहित सुनवारलाई ६–३ र ६–४ ले पाखा लगाएका थिए ।
सोही उमेरसमूहको डबल्समा चन्द्र शाही र राजु श्रेष्ठको जोडीले राजु क्षेत्री र सिमान्त गुरुङको जोडीलाई ६–० र ६–३ तथा श्रीराम मगर र सोभितमान श्रेष्ठको जोडीले निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।
पुरुष डबल्समा सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीलाई ६–२ र ६–० तथा अनिल शाही र प्रदीप खड्काको जोडीले प्राञ्जल कायश्थ र नवीन मगरको जोडीलाई ६–४ र ६–४ ले पराजित गर्दै फाइनलमा पुगेका छन् ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, कृष्णराज घले, विकास गुरुङ र विनोद गुरुङ सेमिफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारबीच उपाधि भिडन्त हुनेछ ।
त्यस्तैै ५५ वर्षमाथि पुरुष सिंगल्समा विष्णु गैरे र ध्रुव गुरुङ फाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंह, सुदर्शन विष्ट र राजु क्षेत्री तथा सन्जिव श्रेष्ठ र डेगेन्द्र श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरेका छन् ।
प्रतिक्रिया