आफ्नोपनको संरक्षण आवश्यक —युवराज बस्ताकोटी

आफ्नोपनको संरक्षण आवश्यक —युवराज बस्ताकोटी


bicharनेपालको समग्र आर्थिक वृद्धिदर दुई अङ्कको कहिले होला ? सम्पूर्ण नेपालीले पूर्ण रोजगारी प्राप्त गरेको अवस्थाको कल्पना मात्रले पनि मनै प्रफुल्ल बन्दछ । ३० वर्षको अवधिमा सिङ्गापुरजस्तो सानो देश आर्थिक स्वर्ग बनेको छ । मलेसिया एउटा उष्ण हावापानी भएको भूमध्यरेखीय देश संसारभरका लाखौँ मजदुरलाई रोजगारी प्राप्त गर्ने केन्द्र नै बनेको छ । प्रचुर सम्भावना बोकेको भए पनि हाम्रो देश नेपाल भने गरिबी, अशान्ति र बेरोजगारीको पीडाबाट मुक्त हुन सकेको छैन । आश्रित अर्थतन्त्र भएको यो देशका झन्डै २५ प्रतिशत जनता भारतलगायत विदेशी भूमिमा श्रम जीवन व्यतीत गर्न बाध्य छन् । भारतीय गोरखा सैनिक, विभिन्न प्रान्तीय तथा नगर प्रहरी सरकारी तथा गैरसरकारी क्षेत्रमा सुरक्षागार्ड, सहयोगीलगायत केही अधिकारी तहको रोजगारीमा भारतमा श्रम गर्नेहरू केही लाख मानिस होलान् यद्यपि यथार्थ तथ्याङ्क हामी पाउन सक्दैनौँ । त्यसैगरी झन्डै २५ लाख नेपाली खाडीलगायत युरोप, अमेरिकी क्षेत्रमा गएका होलान् र वर्षेनी ४/५ लाख जनसङ्ख्यालाई नेपालले रोजगारीका नयाँ अवसर प्रदान गर्नुपर्ने हो तर त्यसो हुन नसक्दा यति ठूलो प्रभावकारी उत्पादनशील जनशक्तिले विदेशमा श्रम बेच्न जान परेको हो ।
विशेषत: केही वर्षयता नेपाली युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेर आइरहेको पाइन्छ । अपवाद र कमजोर शिक्षा प्राप्त गरेका केही युवालाई छाड्ने हो भने निजी शिक्षालयबाट उत्पादित जनशक्तिले नेपालमा आफ्नो भविष्य देख्न छाडेका छन् । उनीहरूको मस्तिष्कमा नेपाली नेतृत्वप्रति तीव्र असन्तुष्टि र घृणाभाव भएको बुझ्न गाह्रो छैन । विशेषत: नवयुवाहरूमा पाइएको यो तहको अविश्वासले नेपालको भविष्य उज्ज्वल पार्ने हो भने वर्तमान नेतृत्वमा क्रान्तिकारी परिवर्तन आवश्यक छ । सबभन्दा पहिले नेपालको वास्तविकतालाई पत्ता लगाउनुपर्छ । यहाँको भूगोल, स्रोत–साधन र सम्भाव्य अवसरबारे व्यापक अर्थमा अध्ययन–अनुसन्धान हुनुपर्छ । आमनेपाली नागरिकमा नेपाल, नेपाली धर्म, संस्कृति र परम्पराप्रतिको सम्मानमा वृद्धि हुनुपर्छ ।
नेपाली विविधताको यथार्थलाई सम्पूर्ण नागरिकले स्वीकार गर्नु जरुरी छ । मेरो देश र मेरो धर्म, संस्कृति र परम्परा भन्ने वाक्यांशलाई मूल नारा बनाइनुपर्छ । काम गर्न सक्नेलाई काम दिन सकियो र उत्पादन बढाउने हो भने मात्र पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ । कुनै पनि देशको पहिचान भनेको त्यो देशको धर्म, संस्कृति र परम्परा हो । नेपालमा रहेका विभिन्न पहिचानको संरक्षण र सम्बद्र्धन गर्दै तिनीहरूबीचमा उच्चस्तरीय एकता कायम गराउन सक्ने हो भने मात्र राष्ट्रियतामाथिको रखवाली गरिएको ठहरिनेछ । सबैलाई थाहा छ– भूगोल मात्रले राष्ट्र पूर्ण हुँदैन । त्यसभित्रका भाषा, धर्म, संस्कृति र परम्पराको एकत्रित रूपले राष्ट्रिय पहिचान खुल्ने र त्यही पहिचानसहितको बलियो भूगोलले राष्ट्र पूर्ण हुन्छ । विकास निर्माणमा समग्र देशवासीको सहभागितामूलक अग्रसरताले नै नागरिकबीचमा एकता हुन्छ । कोही खाइरहने, कोही हेरिरहने, कोही हाँसिरहने कोही रोइरहने, कसैलाई विशेष अधिकार, कसैलाई शून्य अधिकारको व्यवस्थाले राष्ट्रिय एकता कायम हुन सक्दै सक्दैन । जबसम्म राष्ट्रिय एकता कायम रहँदैन तबसम्म देश सम्पन्न बन्न सक्दैन । देश सम्पन्न र समृद्ध नभई बेरोजगारी समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय आम्दानी बढ्ने त कुरै आउँदैन अनि कसरी सम्भव हुन्छ राष्ट्रियतामाथिको सुरक्षा । जहाँ अभाव रहन्छ त्यहाँ तनाव र द्वन्द्व रहन्छ त्यहाँ छिमेकीको हस्तक्षेप अवश्य रहन्छ । समग्र राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तब मात्र सम्भव छ जब सम्पूर्ण नागरिकले समान अवसरको प्रत्याभूति गर्न पाउँछन् ।
२१औँ शताब्दी सूचना–प्रविधिको युग हो । विश्व एउटा सानो घरझैँ बन्दै छ । एकतिहाइ समयमा विश्वभर हाम्रा कान र आँखा अगाडि आइपुग्दछन् तर हामी नेपाली अझै पनि ‘तेरो र मेरो’ भन्दै द्वन्द्व गरिरहन्छौँ । हामी दुई–चार डलर आम्दानीका लागि आफ्नो मातृभूमिभित्रको संस्कृति र परम्परामाथि बज्रपात गर्दछौँ, यो वा त्यो आरोप लगाई हाम्रो हीरा–मोतीलाई कवाडीमा बेच्दछौँ र अरूको पित्तल तथा चाँदीलाई अमूल्य ठान्छौँ । हाम्रो दुर्भाग्य यही छ कि राज्यको वागडोर हातमा लिएकाहरू नै रिमोटकन्ट्रोलको कडा नियमनमा बस्न बाध्य छन् ।
विशेषत: नेपाली नवयुवाले नेपालको बहुआयामिक वास्तविकता बुझ्नु जरुरी छ । क्षमतावान् र दक्ष व्यक्तिहरू राष्ट्रभित्र देश निर्माणको अभियानमा जुट्नुपर्छ । काँधमा काँध, हातमा हात मिलाई अगाडि बढ्नुपर्छ । जसका लागि हाम्रो वास्तविक परम्परा, सांस्कृतिक सम्पत्तिको रक्षा तथा प्राकृतिक स्रोत र साधनको भरपूर सदुपयोग गरी उत्पादनशील कर्ममा आफूलाई समाहित गर्नुपर्छ ।