जयप्रकाशका पत्र बोक्थे पादरीहरू

जयप्रकाशका पत्र बोक्थे पादरीहरू


अङ्ग्रेजहरूलाई निम्त्याउन कोलकाता अङ्ग्रेज गभर्नरसम्म सोझै अर्जी पठाउन सम्भव थिएन । पहिले बेतियामा रहेका अङ्ग्रेज वाणिज्यदूतमार्फत पटनाकोठीका हाकिमकहाँ अर्जी पुऱ्याई त्यताबाट कोलकातामा रहेका गभर्नरसम्म पुऱ्याउनुपर्दथ्यो । अर्जीपत्र पादरीहरू बगलीमा राखेर बेतियासम्म लगिदिन सक्थे । तर, बेतियाका वाणिज्यदूतलाई, पटनाका हाकिमलाई र कोलकाताका गभर्नरलाई समेत नेपालको परिस्थिति बुझाउने कमसेकम दुईजना दूतको बन्दोबस्त गर्नुपर्दथ्यो । ती दूत पनि गोर्खालीका विरोधी हुन आवश्यक थियो । काठमाडौं उपत्यकामा रहेका काश्मिरी मुसलमान व्यापारीहरू आर्थिक नाकाबन्दीले गर्दा व्यापार गर्न नपाएर गोर्खालीका विरोधी बनिरहेका थिए । काठमाडौं उपत्यकामा थुनिएर रहेका नागाबैरागीहरू पनि गोर्खालीका झन् विरोधी थिए । यसकारण उमदानामक काश्मिरी मुसलमानलाई र रामदासनामक वैरागीलाई कीर्तिपुरमा घेरा परिरहेकै समयमा रणजित मल्लसँग सल्लाह मिलाई जयप्रकाश मल्लले उमदालाई मुख्तार (वकिल) र फकिर रामदासलाई उनका सहायक बनाएर ई.सं. १७६७ मार्चका आरम्भमा सिन्धुलीको बाटो गरी बेतियातिर पठाए ।

यिनीहरू मार्चको आखिरतिर बेतियामा पुगे । पादरीहरूले कुरा मिलाइसकेका थिए । सम्भवतः फारसीमा लेखिएको जयप्रकाश मल्लको अर्जीपत्र पादरीहरूले नै पहिले लिएर गएका थिए । दूतहरू त्यहाँ पुगेपछि त्यस अर्जीपत्रका साथ दूतहरूलाई यिनीहरूले बेतियामा रहेका अङ्ग्रेजी वाणिज्यदूत गोल्डिङछेउ पुऱ्याइदिए । गोल्डिङले पनि दूतहरूसँग काठमाडौं उपत्यकाको परिस्थिति बुझेपछि जयप्रकाश मल्ललाई सैनिक सहायता दिएमा इस्टइन्डिया कम्पनीलाई अनेक तरहबाट लाभ हुने देखाएर ६ अप्रिलका दिन एक सिफारिसपत्र लेखी त्यस पत्रका साथ जयप्रकाश मल्लको अर्जीपत्र र दूतहरूलाई समेत पटनाका हाकिम टमस रम्बोल्डछेउ पठाइदिए । त्यस अर्जीपत्रमा जयप्रकाश मल्लले तिब्तसँगको व्यापार कम्पनीका हातमा सौंपने कुरा लेखेका होइनन्, निकट भविष्यमा नै गोर्खालीको कान्तिपुरमा आक्रमण हुने भएकोले आक्रमणबाट यो बचाइदिनुहोस् भन्ने अनुरोध उनले गरेका होलान् । परन्तु, गोल्डिङले यसबाट कम्पनीलाई हुने लाभउपर विशेष ध्यान दिए ।

अपरिचित नेपालमा गोर्खालीउपर आक्रमण गर्न सजिलो थिएन । सैनिक अभियान (मिलिटरी एक्सपेडिसन) गर्नुपर्ने कठिन कार्य थियो । तैपनि उनले गोर्खालीका शक्तिलाई हेपेर अभियान सफल हुने निश्चय गरी रम्बोल्डलाई लेखेका थिए, ‘सैनिक सहायता दिएर हामीले नेपाली राजाको मद्दत गर्नु नैतिक दृष्टिले मात्र उचित होइन यसबाट कम्पनीलाई अरू अनेकौँ आर्थिक लाभ पनि हुनेछन् । हाम्रो सहायताले त्यो ठूलो शहर (काठमाडौं) लुट र तरबारको मारबाट मात्र मुक्त हुने होइन कि यसबाट कम्पनीलाई अरू अनेकौँ लाभ पनि हुनेछन् । गोर्खालीहरू हाम्रो निकै नगिचै आइसकेका छन् । केही गरी काठमाडौं उपत्यकामा गोर्खालीको अधिकार भयो भने हामीले सल्ला–योजनाबाट हात धुनुपर्नेछ ।

तर, अपरिचित नेपालमा गोर्खालीउपर आक्रमण गर्न सजिलो थिएन । सैनिक अभियान (मिलिटरी एक्सपेडिसन) गर्नुपर्ने कठिन कार्य थियो । तैपनि उनले गोर्खालीका शक्तिलाई हेपेर अभियान सफल हुने निश्चय गरी रम्बोल्डलाई लेखेका थिए, ‘सैनिक सहायता दिएर हामीले नेपाली राजाको मद्दत गर्नु नैतिक दृष्टिले मात्र उचित होइन यसबाट कम्पनीलाई अरू अनेकौँ आर्थिक लाभ पनि हुनेछन् । हाम्रो सहायताले त्यो ठूलो शहर (काठमाडौं) लुट र तरबारको मारबाट मात्र मुक्त हुने होइन कि यसबाट कम्पनीलाई अरू अनेकौँ लाभ पनि हुनेछन् । गोर्खालीहरू हाम्रो निकै नगिचै आइसकेका छन् । केही गरी काठमाडौं उपत्यकामा गोर्खालीको अधिकार भयो भने हामीले सल्ला–योजनाबाट हात धुनुपर्नेछ ।

त्यति मात्र होइन, १७६४ को बक्सरको लडाइँपछि कम्पनीका अधिकारमा आएको बेतियामा समेत गोर्खालीको हमला र लुट हुन जानेछ । यदि हाम्रो सहायताद्वारा जयप्रकाश मल्ललाई गोर्खालीको मारबाट बचाउन सक्यौँ भने उनी स्वभावैले हामीप्रति कृतज्ञ हुनेछन् । यसले गर्दा हामीलाई नेपालको बाटो चीनसँग सम्बन्ध स्थापित गर्न ठूलो सुविधा हुनेछ । यो कम्पनीका निमित्त कम लाभको कुरा हुनेछैन । अर्को कुरा सल्ला–योजना चालू राख्न र बेतियाको सुरक्षाको निम्ति पनि ढिलो या चाँडो हामीले गोर्खालीसित नजुधी सुख छैन । त्यसैले गोर्खाली बलिया हुनुभन्दा पहिले नै उनीहरूको दमन गर्नु नै ठूलो बुद्धिमानी हुनेछ । फेरि अहिले हामीले यो काम गरेमा कम्पनीको केही पनि खर्च हुनेछैन । कारण यसको सबै खर्च जयप्रकाश मल्ल व्यहोर्न तयार छन् ।’

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)