अब पार्टी एकीकरण असम्भव:नेकपा– मोहन वैद्य

अब पार्टी एकीकरण असम्भव:नेकपा– मोहन वैद्य


Baidyaनेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड–बाबुरामको टोली क्रान्तिबाट भागेको आरोप लगाउनुभएको छ । घटना र विचारका लागि ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभएको छ, ‘उहाँहरूले नयाँ जनवादी क्रान्तिको कुरा पूरै त्याग्नुभयो । अब समाजवाद भन्दै हुनुहुन्छ, त्यो समाजवाद पनि भन्नकै लागि मात्र हो । नेपाली काङ्गे्रसले पनि समाजवाद भन्छ । क्रान्तिको मूल कार्यदिशा परित्याग गरिसकेपछि अब जे भन्दा पनि हुन्छ ।’ प्रचण्ड–बाबुरामले क्रान्तिको कार्यदिशा किन परित्याग गर्नुभएको होला त भन्ने हाम्रो जिज्ञाशाको जवाफमा वैद्यको भनाइ छ, ‘क्रान्ति गर्न गाह्रो र जटिल हुन्छ । परित्याग गर्न सजिलो हुन्छ । क्रान्तिमा कतिपयले भागै लिँदैनन्, कतिपय मान्छेहरू भाग्छन्, थाक्छन्, त्यही भयो, उहाँहरू भाग्नुभयो, थाक्नुभयो, अग्रिम क्रान्तिलाई छोडेर हिँड्नुभयो ।’
० एमाओवादीको महाधिवेशनलाई कसरी हेर्नुभएको छ ?
– यो एउटा क्रान्तिकारी राजनीतिक दिशा छोडेर आएको सरकारी पार्टीले गरेको प्रदर्शनको रूपमा लिएको छु ।
० यो महाधिवेशनबाट प्रचण्डजीले सहमतिका लागि नयाँ सूत्रको कुरा गर्नुभएको छ तपाईंलाई विश्वास छ ?
– सूत्रको कुरा गर्नुहोला, ल्याउनुहोला तर त्यो सूत्रको के अर्थ ? एमाले,नेपाली काङ्ग्रेस र उहाँहरूको बीचमा के फरक छ र अब ? मित्र–मित्रको बीचमा त सूत्र त हुने नै भइहाल्यो नि ।
० तपाईंको विचारमा यो कुम्भ मेला मात्र हो त ?
– यसलाई त्यसरी त नभनौँ । सरकारमा गएको र क्रान्तिबाट विचलित भइसकेको पार्टीले आफ्नो एउटा प्रदर्शन ग-यो । दोस्रो के भनेदेखि राजनीतिक, वैचारिक कार्यदिशा छोडेर जानुभयो । उहाँहरूमा गम्भीर प्रकारको विचलन पैदा भयो र जडसूत्र विचलन भएको थियो यो महाधिवेशनले त्यसको राम्रो तरिकाले पुष्टि ग-यो ।
० प्रचण्डजीले लिनुभएको धार सफल हुन्छ कि हुँदैन ?
– त्यो धार त उहाँले सफल पार्ने होइन उहिल्यैबाट नेपाली काङ्ग्रेस र एमालेले सफल पार्दै आएका हुन् । उहाँहरूको राजनीतिक धार केही होइन, ०४७ सालको एमालेले जनताको बहुदलीय जनवाद लिएर जुन तरिकाले आएको थियो । अहिले एमाओवादी पनि त्यही तरिकाले एमालेको पछि–पछि लागेको छ ।
० फेरि पनि जनयुद्ध तथा छापामार जनयुद्ध भनेको शहिदको अपमान हो भनेर
प्रचण्डले भन्नुभएको छ, त्यसो भए तपाईंले शहिदको अपमान गर्न लाग्नुभएको हो ?
– होइन, त्यो अपमान त उहाँले नै गर्नुभयो । आफैँले गर्नुभएपछि अर्कालाई जे भने पनि हुन्छ । हाम्रो विचारमा त नयाँ जनवादी क्रान्तिलाई बीचैमा छोडेर भाग्नुभयो ।
० अब नेपाललाई समृद्ध बनाउने बेला भएन र, तपाईंहरू फेरि किन क्रान्तिको कुरा गर्नुहुन्छ ?
– नेपालमा सर्वसत्तावादी पुरानो संरचनालाई साथमा राखेर क्रान्ति हुँदैन । क्रान्ति भनेको पुरानो वर्गसँग र पुरानो राज्यसत्ताको हातबाट नयाँ वर्गको हातमा सत्ता जानु हो । उहाँहरू क्रान्ति छोडेर गएर पुरानो वर्गमा जानुभयो । राज्यसत्ता पुरानै वर्गको हातमा नै छ, त्यसकारण क्रान्ति अझै पूरा भएको छैन ।
० तपाईंले आफूलाई मात्र क्रान्तिकारी देख्ने, बाबुरामजीहरू क्रान्तिकारी हुन सक्नुहुन्न ?
– सबै छाडेर आउनुभयो भने त अलग कुरा हो । अहिले त हामीले क्रान्तिकारी देख्दैनौँ । उहाँले दक्षिणपन्थी अवसरवादको बाटो प्राप्त गर्दै आउनुभएको
थियो । यो महाधिवेशनले यसलाई लाहाछाप लगाइदियो भनेर भन्दा हुन्छ ।
० त्यसो भए एमाओवादी पूर्ण रूपमा अब संसदीय पार्टी भयो ?
–हो, संशोधनवादी पार्टीको रूपमा परिवर्तन भइसकेको छ । पार्टी एकीकरण अब असम्भव भयो । तर, उहाँहरू रूपान्तरित रूपमा आउनुभयो भने गल्ती गरियो भनेर गल्ती सच्याउनुभयो भने त्यो अलग्गै कुरा हो ।
० राष्ट्रियताको विषयमा तपाईंहरूको र नारायणकाजी श्रेष्ठको विचार मिल्छ ?
– असहमति भएको भए त राजीनामा दिएर हिँड्नुपथ्र्यो नि, उपप्रधानमन्त्रीमा पनि बस्ने, परराष्ट्रमन्त्री बस्ने अनि कहाँबाट असहमति छ भनेर पदीय दृष्टिकोणले त्यस्तो कुरा गर्न मिल्दैन ।
० भनेपछि नारायणकाजीले राजीनामा दिएर हिँड्नुप-यो ?
– राजीनामा अहिले दिएर हुँदैन, उहिल्यै दिनुपर्दथ्यो । अहिले हट्ने बेलामा दिएको के काम लाग्यो । त्यो दृढतापूर्वक आउनुपथ्र्यो, लिखित प्रस्तावहरू आउनुपथ्र्यो त्यसैले यो कुराको औचित्य केही पनि छैन । आखिरमा आएर मेरो विरोध छ भन्नुको कुनै अर्थ हुँदैन ।
० प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन के गर्नुहुन्छ ?
– हामीले उहिल्यैबाट बाबुराम हट्नुपर्छ भनेर भन्दै आइरहेका छौँ । त्यसका लागि हामीले दबाबका कार्यक्रमहरू अगाडि सारेका छौँ ।
० विपक्षीहरूले बाबुरामलाई हटाउने आन्दोलन तपाईंहरूको नैतिक समर्थन छ ?
– हाम्रो अहिले नैतिक समर्थनको कुरा छाड्नुस् । त्यसमा सहमति वा असहमति भन्ने कुरा छैन । उहाँहरूको आन्दोलनले कतापट्टि लैजाने हो त्यो पनि अस्पष्ट छ । मिल्ने कुरामा उहाँहरू निश्चित रूपमा मिल्नुहुन्छ । हामीसँग भन्दा पनि बाबुराम र प्रचण्डतिरै मिल्नुहुन्छ । त्यसकारण समर्थनको कुनै औचित्य छैन । उहाँहरू सरकार पाउनेबित्तिकै मिल्नुहुन्छ ।
० प्रचण्डले राख्नुभएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार बनाउनेमा तपाईंको सहमति हुन्छ ?
– छैन–छैन, अहिले बिल्कुल छैन । हामी छलफल गरेर बहसबाट एउटा निष्कर्ष निकाल्छौँ । स्वतन्त्र व्यक्तिको कुरा ल्याउनु भनेको मैले भनिहालेँ नि बहुदलमा निर्दलको कुरा गर्नु हो । आफू असक्षम भएर निर्दलीयको कुरा गर्नुभएको छ उहाँहरूले । त्यो उहाँहरूको असक्षमताको अभिव्यक्ति हो ।
० तपाईंले जनयुद्धको कुरा गर्नु भनेको आत्मघाती हो भनिन्छ नि ?
– जनयुद्धको कुरा छाड्नुस् हामी नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न लाग्छौँ । नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त गर्न चाहन्छौँ । देशभित्रका दलालहरूको हस्तक्षेपबाट मुक्त बनाउन चाहन्छौँ । हामीले नेपाललाई तामझामसहित नयाँ बनाउन चाहन्छौँ, मुख्य कुरा त्यही हो ।