मंगल ग्रह अभियानमा गएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी मार्स रोवरले पहिलोपटक एक चट्टानमा ड्रिल मेसिन प्रयोग गरी मंगल–चट्टानको महत्वपूर्ण नमुना हासिल गर्ने सफलता पाएको छ । चट्टानमा ६ सेन्टिमिटर गहिरो प्वाल पारेर क्युरियोसिटीले माटोको मसिनो धुलो निकालेको छ जसलाई प्रयोगशालामा पुर्याएर अनुसन्धान गरिने नासासम्बद्ध वैज्ञानिकहरूले जनाएका छन् ।
ग्रहहरूको खोजी गर्ने इतिहासमा पहिलोपटक यस्तो कार्य सम्भव भएको भन्दै विज्ञान जगत्मा खुसी मनाइएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले यसरी क्युरियोसिटीद्वारा गरिएको ड्रिलिङ उसका लागि अत्यन्त ठूलो सफलता र अमेरिकाकै लागि गर्वको कुरा भएको प्रतिक्रिया दिएको छ । स्मरण रहोस्, क्युरियोसिटी गत वर्ष ६ अगस्टका दिन करिब २४ हजार करोड माइल दूरी तय गर्दै मंगल ग्रहमा उत्रिएको थियो । न्युक्लियर फ्युलबाट सञ्चालित हुने ‘क्युरियोसिटी रोवर अभियान’को लागत लगभग साढे दुई अर्ब डलर रहेको छ ।
फास्टफुडले निम्त्याउँछ यस्ता रोग
पिज्जा, बर्गरजस्ता ‘आधुनिक’ खानेकुरा भनेपछि आजभोलि मानिसहरू हुरुक्क हुने गर्छन् । विशेषगरी केटाकेटीको लगाव यस्ता जङ्क फुडप्रति अत्यधिक रहने गरेको छ । तर, यस्ता खानेकुराले बालबालिकामा अस्थमा र एग्जिमालगायतका रोगको खतरा बढाउने दाबी विज्ञहरूले गरेका छन् । खानपान र रोगसँग सम्बन्धित क्षेत्रमा शोध तथा अनुसन्धान गर्दै आएको एक समूहले यस्तो चेतावनी दिएको हो ।
संसारभर खानपानको आदत र रोगसँग सम्बन्धित विषयमा शोध गर्दै आएका शोधकर्ताहरूको भनाइअनुसार खानामा पोषक तत्वको कमीले विभिन्न एलर्जीसम्बन्धी रोग हुर्कन सघाउँछ । उनीहरूले संसारभरका पाँच लाखभन्दा धेरै बालबालिकाका तथ्य सङ्कलन गरेका थिए । तीमध्ये बर्गरजस्ता फास्टफुड खाने आदत भएका बच्चा अस्थमा, एग्जिमा, छाला चिलाउने र आँखाबाट पानी बग्नेलगायत समस्याका जोखिममा परेका भेटिए । पर्याप्त फलफूल खानाले उक्त बिमारीहरूबाट बच्न सकिने पनि अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
हृदयरोगबाट बच्ने यो काइदा
यदि तपाईं शाकाहारी हुनुहुन्छ भने खुसीको खबर छ । मांसाहारी खाना त्यागेर शाकाहारी बन्ने तयारी गर्दै हुनुहुन्छ भने पनि मुटुसम्बन्धी रोगको खतराबाट उम्कने प्रयास गर्दै हुनुहुन्छ भन्ने बुझ्नुहोस् । बेलायत र स्कटल्यान्डमा ४४ हजार पाँच सय मानिसमाथि गरिएको अध्ययनले यसको पुष्टि गरेको छ । मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी मानिसको मृत्युको खतरा ३२ प्रतिशतले कम रहेको अध्ययनले देखायो । कोलेस्ट्रोलको स्तर, रक्तचाप र तौलमा कमीले कुनै पनि व्यक्तिको राम्रो स्वास्थ्यको सम्भावना बढाएको शोधले देखाएको अध्येताहरूको दाबी छ । यो तथ्य अमेरिकी जर्नल क्लिनिकल न्युट्रिसनमा प्रकाशित छ । पश्चिमा देशमा हृदयरोगलाई एक ठूलो अभिसाप मानिन्छ । बेलायतमा मात्रै प्रत्येक वर्ष ९४ हजार मानिसको ज्यान मुटुसम्बन्धी रोगका कारण हुने गर्दछ भने २६ लाख मानिस हृदयरोगबाट ग्रसित भएर बाँचिरहेका छन् ।
शाकाहारी व्यक्तिले खानामार्फत अत्यन्त कम चिल्लो पदार्थ ग्रहण गर्ने हुनाले मुटुरोगको खतराबाट टाढा रहने विज्ञहरूको दाबी छ । शाकाहारी व्यक्तिको रक्तचाप कम हुने, खराब कोलेस्ट्रोलमा कमी आउने र उसको तौल पनि सन्तुलित रहने हुनाले मांसाहारीको तुलनामा मुटुरोगको खतराबाट बच्ने सम्भावना बढेको हो ।
पुरुषका लागि टीभी हानिकारक
शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्तत: नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ । उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार कम्तीमा पनि १५ घन्टा या त्यसभन्दा बढी कसरत गर्ने पुरुषको वीर्यको गुणस्तर राम्रो हुन्छ । कतिपय विशेषज्ञको सुझाव छ कि सन्तानको चाहना राख्ने व्यक्तिले त्यस्ता खेलहरूबाट आफूलाई टाढा नै राख्नुपर्छ जसले शुक्राणुलाई हानि पुर्याउन सक्छ ।
एक अर्को अध्ययनले लामो समयसम्म मोटरसाइकलको सवारी गर्नु र कसिएको कपडा लगाएर लामो दूरी दौडनु पनि उचित नहुने देखाएको छ । कसिएको अण्डरवेयर पहिरिने व्यक्तिको शुक्राणुको स्तर पनि कमसल हुने उक्त अध्ययन–प्रतिवेदनको निचोड छ । यसरी, गतिहीन जीवन बाँचिरहेका पुरुषको शुक्राणुमा सन्तान उत्पादन गर्ने क्षमता ह्रास हुने गरेको पाइएको निचोडमा शोधकर्ताहरू पुगेका छन् ।
प्रतिक्रिया