भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने भएपछि सहरको रूप मात्र नभई मानिसका मनसमेत बदलिएको महसुस गर्न थालिएको छ । मोदीको आगमन हुने भएपछि कुनै बेला केपी ओलीको नाम सुन्न नचाहनेहरूसमेत उहाँको फोटो सजाएर सहर सिँगार्न सक्रिय भएका छन् । जनकपुरमा अहिले बडेमानका स्वागतद्वारहरू बनाइँदै छन् र ती द्वारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्ण कदका तस्बिरहरू सजाइएका छन् । अहिलेको जनकपुरलाई हेर्दा कुनै बेला यही ठाउँमा प्रधानमन्त्री केपीको पुत्ला जलेको थियो भनेर सम्झन गाह्रो पर्छ । सहरका विभिन्न भागमा नेपाल र भारतका प्रधानमन्त्रीहरूका सजीव तस्बिरहरू राखिँदै छन् । कतिपय स्थानमा राखिसकिएका छन्, कतै राख्ने क्रममा छन् ।

यही वैशाख १८ गते शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ । प्राप्त जानकारीअनुसार उहाँ नयाँदिल्लीबाट पटना हुँदै भारतीय सेनाको हेलिकोप्टरमा जनकपुर विमानस्थलमा ओर्लनुहुने कार्यक्रम रहेको छ । जनकपुर विमानस्थलमा प्रदेश नं. २ का मुख्य मन्त्री तथा मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदी एयरपोर्टबाट सीधै जानकी मन्दिर जानुहुनेछ । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको स्वागत गर्नुहुनेछ । मन्दिरमा पूजाआजा सकेपछि दुवै प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम छ । रामायण सर्किट भारतको महत्वाकाङ्क्षी परियोजना हो जसले भारतका धेरै सहरसँग नेपाललाई जोड्नेछ । राम र सीताका पाइला परेका भारतका विभिन्न स्थान, नेपालमा विवाह भएको ठाउँ जनकपुरधाम मात्र नभई श्रीलंका र इन्डोनेसियासम्म पनि जोडिने यो परियोजनाले परिकल्पना गरेको छ ।

रामायण सर्किटको उद्घाटनपछि बाह्रबिघा मैदानमा जनकपुरवासीका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन हुनेछ । अभिनन्दनपछि भारतीय सेनाको हेलिकोप्टरबाट काठमाडौं आउने कार्यक्रम छ । काठमाडौं एयरपोर्टको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नुहुनेछ । एयरपोर्टमा ओर्लिएपछि मोदी सीधै आफू बस्ने होटेल हायात जानुहुने र हायातमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ताको कार्यक्रम छ । त्यसपछि सैनिक मञ्चमा उहाँको गार्ड अफ अनर हुनेछ ।
गार्ड अफ अनरपछि उपराष्ट्रपति नन्दकिशोर पुनसँग उपराष्ट्रपति कार्यालयमा भेटघाटको कार्यक्रम छ । उपराष्ट्रपतिपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटको कार्यक्रम रहेको छ । शीतलनिवासपछि बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान वार्ता हुनेछ । वार्तापश्चात् दुई देशबीच केही सम्झौताहरू हुनेछन् । मूलतः दुई देशबीचको अफिसियल बैठक त्यहीँ हुनेछ । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने रात्रिभोजपछि पहिलो दिनको कार्यक्रम सकिनेछ ।
दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरमा मुक्तिनाथ र जोमसोम जानुहुनेछ । त्यहाँबाट फर्किएपछि भारतीय राजदूतले दिने दिवाभोजमा उहाँ सरिक हुनुहुनेछ । दिवाभोजपछि काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने नागरिक अभिनन्दनपछि नयाँदिल्लीका लागि सीधै एयरपोर्ट जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया