माओवादी अध्यक्ष प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति सकारात्मक नरहेको सङ्केतहरू देखिएका छन् । तीन वर्षअघि प्रधानमन्त्री मोदी रामजानकी मन्दिर हुँदै काठमाडौं भएर मुक्तिनाथसम्मको यात्रा कार्यक्रम तय हुँदा पनि प्रचण्ड र विमलेन्द्र निधिसहितका केही नेताहरूको विशेष अग्रसरतामा भ्रमण कार्यक्रम अवरुद्ध तुल्याइएको थियो । सुरक्षा दिन नसकिने जवाफ दिइएपछि अन्तिम अवस्थामा मोदीको धार्मिक यात्रा रोकिएको थियो ।
आफूलाई धर्मनिरपेक्षताको पक्षधर दाबी गर्ने र मौका पाउँदा यसु र माओवादीबीच सान्निध्य रहेको बताउन समेत नहिच्किचाउने प्रचण्डले इसाइ धर्म प्रचारप्रति सहानुभूति राख्दै आएका छन् भने नेपाललाई हिन्दुराष्ट्र बनाउने गतिविधिप्रति सचेत र कठोर देखिएका छन् ।
मोदीको धार्मिक यात्राले हिन्दुत्वको जागरण ल्याउन सक्ने ठानेर पहिले सुरक्षाको कारण देखाउँदै भ्रमण अवरुद्ध तुल्याइएको भए पनि यसपटक भ्रमणमा रोक लगाउन नसकिने अवस्था भएकोले विभिन्न ढङ्गले असन्तुष्टि जाहेर गर्ने काम प्रचण्डले गर्दै आएका छन् ।
प्रचण्डका सर्वाधिक निकट व्यक्ति युवा नेता एवम् वाइसीएल अध्यक्ष दीपशिखा (रामप्रसाद सापकोटा) ले आफ्नो फेसबुक वालमा लेखेको आपत्तिजनक व्यहोराले पनि मोदीको भ्रमणप्रति प्रचण्डको सकारात्मक दृष्टिकोण नरहेको देखाएको छ । दीपशिाखाले लेखेका छन्– ‘कठै जनकपुर ! राम मानेर रावण पुज्न विवश छ ।’
त्यस्तै प्रधानमन्त्री केपी ओलीप्रति व्यङ्ग्य गर्दै दीपशिखाले लेखेका छन्– ‘अब ‘राष्ट्रवाद’ र ‘लम्पसारवाद’ को कसरी र किन भनेर भनिरहनुपर्ने भयो र ?
यसरी दिपशिखाले मोदीको भ्रमण र ओलीप्रति तिव्र असन्तुष्टि जाहेर गर्नुलाई प्रचण्डको असन्तुष्टिका रुपमा हेरिएको छ । किनभने दिपशिखा प्रचण्डका सर्वाधिक प्रिय र निकटस्थ मानिन्छन् भने प्रचण्डको भाव बुझेर मात्र अभिव्यक्ति दिने नेताका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया