प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच एक-दुई दिनयता चिसोपन बढेको र यसले पार्टी एकतासम्बन्धी छलफलमा नकारात्मक असर परिरहेको अनुमान गरिएको बेला प्रचण्डले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच चाँडै पार्टी एकता हुने दाबी गरेका छन् ।
वामपन्थी नेता स्व. निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको एक प्रवचन कार्यक्रममा बोल्दै उनले हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुने प्रष्टिकरण दिए ।
‘एकतामा संशय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं’ भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको दाबी उनले गरे ।
सोही गोष्ठीमा मन्तव्य दिने क्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले चाहिँ तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाई कार्यकर्तालाई सैह्य नहुने चेतावनी दिँदै बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुहोस् भनी औंला उठाएका थिए । केपी ओलीमा भए खोलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संसय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस् भनी उनले प्रचण्डलाई चुनौती दिएका थिए ।
अब पनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहिअनुरुप अघि बढ्नुपर्ने तर्क नेता नेपालले गरे ।
तस्बिर रासस
प्रतिक्रिया