नेपाल भ्रमणप्रति उत्साहित मोदी

नेपाल भ्रमणप्रति उत्साहित मोदी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण महत्वपूर्ण भएको बताउनुभएको छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी ओलीसँग परस्पर सहयोगका विषयमा विस्तृत कुराकानी हुने उहाँले ट्वीटमार्फत स्पष्ट गर्नुभएको छ ।

एकपछि अर्को गरी गरिएका तीन ट्वीटमार्फत प्रधानमन्त्री मोदीले आफू मे ११ र १२ का दिन नेपाल भ्रमणमा निस्कन लागेको जानकारी दिँदै यो भ्रमणले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई भारतले ‘प्राथमिकतामा राखेको दर्शाउने’ बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘द्विपक्षीय सम्बन्धलाई थप गहन तुल्याउन म प्रधानमन्त्री ओलीसँग व्यापक स्तरको वार्ता गर्नेछु ।’

भ्रमणको दौरान काठमाण्डुका अलावा जनकपुर र मुक्तिनाथको पनि यात्रा हुने उहाँले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ । जनकपुर र मुक्तिनाथलाई ‘तीर्थयात्रा र पर्यटनको जीवन्त केन्द्र’ भन्दै उहाँले ती स्थानहरू नेपाल र भारत दुई मुलुकलाई मित्रताको बन्धनमा बाध्ने बलियो सांस्कृतिक साक्षी भएको बताउनुभएको छ ।

अर्को ट्वीटमा मोदीले नेपाल लोकतन्त्रलाई बलियो तुल्याउँदै आर्थिक विकास हासिल गर्नका लागि नयाँ युगमा प्रवेश गरेको मुलुक भएको जनाउँदै भारत नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सोचलाई सार्थक तुल्याउन एक दह्रिलो सहयात्री बन्ने उल्लेख गर्नुभएको छ ।