नेपाल भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत दुवै मुलुकले ‘फाइभ टी’मा जोड दिएर अघि बढ्नुपर्ने तर्क अघिसार्नुभएको छ । नेपाल भ्रमणको पहिलो दिन आज जनकपुरमा गरिएको नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘फाइभ टी’ अर्थात ट्रेडिसन (परम्परा), ट्रेड (ब्यापार), टुरिजम (पर्यटन), टेक्नोलोजी (प्रद्यौगिकी) र ट्रान्सपोर्ट (परिवहन)मा विशेष जोड र सहकार्य गरी अघि बढ्ने बताउनुभएको हो ।
जनकपुरमा आएर सीतामाताको चरण पुज्ने आफ्नो मनसुवा प्रधानमन्त्रीका रूपमा पहिलोपटक सन् २०१४ मा काठमाडौं आउँदादेखि नै भएको खुलासा गर्नुभएका प्रधानमन्त्री मोदीले आफू परिस्थितिवश जनकपुर आउन ढिला भएकोमा क्षमा माग्दै सीता माताको चहनाअनुसार अहिले साइत जुरेको र दर्शनको मुरादा पूरा भएको उल्लेख गर्नुभयो ।
उहाँले जनकपुत्री जानकीतर्फ सङ्केत गर्दै भारत र नेपालको माता पनि एउटै आस्था पनि एउटै रहेको बताउनुभयो । मनमोहक शैलीमा भाषण दिन माहिर मोदीले यसैमा जोड्दै भन्नुभयो– ‘हाम्रो (नेपाल र भारतको) संस्कृति पनि एउटै, पथ पनि एउटै, सुख पनि समान, चुनौती पनि समान, आकाङ्क्षा पनि उस्तै, सङ्कल्प पनि एकै, हाम्रो मन र मञ्जिल पनि एकै । नेपालविना भारतको आस्था अधुरो, नेपालविना भारतको इतिहास अधुरो, धाम र राम अधुरो !’
नेपालको लुम्बिनीमा बुद्धको जन्म भएका कारण बोधगयाले पनि गर्व गर्न पाएको अभिव्यक्ति दिनुभएका मोदीले ‘नेपालीको स्वाभिमान सरगरमाथाभन्दा उच्च’ भन्नसमेत भ्याउनुभयो । नेपाल–भारत सम्बनध त्रेता युगदेखिकै हो भन्दै प्रधानमन्त्री मोदीले ‘सबका साथ सबका विकास’ भन्ने भारत सरकारको नारा केवल भारतको लागि नभई आफ्ना छिमेकी देशहरूको निम्तिसमेत भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अवधारणा सुनाउनुभएको सन्दर्भ जोड्दै मोदीले आफू सो सोचअनुसार नेपाल समृद्ध भएको हेर्न लालायित रहेको बताउनुभयो ।
जनकपुरमा आफूलाई गरिएको स्वागत र अभिनन्दनले आफूलाई आफ्नै घरमा रहेको जस्तो आत्मियता मिलेको प्रधानमन्त्री मोदीको भनाई थियो । ‘जय सिया राम’ भन्दै करिव आधा घण्टा लामो भाषण पूरा गर्नुभएका मोदीले मन्तव्यको आरम्भ पनि सोही तीन शब्दलाई तीनपटक दोहोर्याउँदै गर्नुभएको थियो ।
प्रतिक्रिया