नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गर्नुभयो ।
प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौं आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गर्नुभएको थियो ।
काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उहाँ दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुनुभयो ।
नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुग्नुभएको थियो ।
यसैक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी भएको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री मोदीको भ्रमणले धार्मिक र पर्यटकीय स्थल जनकपुर र मुक्तिनाथको भ्रमण गरेर पर्यटकीय महत्व र जनस्तरको सम्बन्ध मजबुद बनाउन भूमिका खेलेको राससले जनाएको छ ।
तस्बिर रासस
प्रतिक्रिया