लभ एन्ड एरेन्ज म्यारिज’को सोचमा जलपरी नयना

लभ एन्ड एरेन्ज म्यारिज’को सोचमा जलपरी नयना


sportखेलकुद कुन चरीको नाम हो उनलाई थाहा थिएन । उनमा खेलाडी बन्ने चाहना पनि थिएन । अझ पानी देखेपछि सातोपुत्लो उड्ने भएकाले पौडी खेलाडी बन्ने त कल्पनाबाहिरको कुरा थियो । र पनि, दिदी रेश्मा शाक्य पौडी प्रशिक्षणमा जाँदा उनको साथ अटुट रहन्थ्यो । यो क्रम क्रमिक रूपमा जारी रहँदा उनको पानीसँग हेलमेल बढेको थियो । पानी र उनको सम्बन्ध पानीबराबारको भए पनि आखिर पानीले उनलाई आकर्षित ग-यो । पौडीपोखरीमा पहिलोपटक डुबुल्की मार्दा उनको चिच्याहटले पौडीपोखरी नै गुन्जायमान भएको थियो । पौडी सिकाउने गुरुहरूको होस गुमेको थियो, कतै दु:खद् घटना घट्यो कि भनेर । सिकारूको रूपमा पौडीको प्रशिक्षण लिँदा उनले पौडीपोखरीमा नडुबाएको प्रशिक्षक नै थिएन । उनको यही डर, त्रास र सन्त्रासको मानसिकतालाई मध्यनजर गर्दै प्रशिक्षकहरूले उनी खेलाडी त परै जाओस् पौडी सिक्नसमेत नसक्ने ठोकुवा गरेका थिए । जसले पौडी चाँडै सिक्छ त्यो राम्रो खेलाडी बन्छ भन्ने मान्यतालाई गलत सावित गर्दै उनी अर्थात् ‘नयना शाक्य’ पौडीको उत्कृष्ट खेलाडी बनेर देखापरिन् । जसलाई पछि ‘जलपरि’को नामले समेत पुकारिन थालियो ।
सुरुमा पौडी खेल्न डराए पनि विस्तारै पानीसँग माया गाँसेकी नयनाले आठ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी थिइन् । एक वर्षको कठिन प्रशिक्षणपछि पौडीका सबै विधामा पारङ्गत भएकी नयना दश वर्षको उमेरदेखि प्रतिस्पर्धामा उत्रिएकी थिइन् । साप्ताहिक पौडी प्रतियोगिताअन्तर्गत जुनियर १५ मिटर ब्याकस्ट्रोकबाट पहिलोपटक सहभागिता जनाएकी नयनाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेर वाहवाही बटुलिन् । आफूभन्दा सिनियर खेलाडीलाई पहिलो स्पर्धामै पराजित गर्न सफल भएपछि उनी निकै हौसिएकी थिइन् । त्यसपछि उनको मनमा खेल्नुपर्छ भन्ने भावना पैदा भएको थियो । खेलेपछि राम्रै हुने रहेछ भन्ने भावनाबाट प्रेरित भएर नयना पौडी खेलप्रति समर्पित भएर लागेकी थिइन् ।
उच्च मनोबलका साथ पौडीमा होमिएकी नयनाले छोटो समयमै स्कुलस्तरीय प्रतियेगितामा एकछत्र राज गर्न पुगिन् । उनले कुनै पनि प्रतिस्पर्धामा दोस्रो हुनुपरेन । बेस्टस्ट्रोक र ब्याकस्ट्रोकमा तहल्का मच्चाएपछि पौडीका प्राय: सबै विधामा प्रतिस्पर्धा गरेकी थिइन् । समयको प्रभावसँगै खुला प्रतिस्पर्धाको थालिनी भएपछि नयनाले आफ्नो विधामा मात्र नभई फ्रिस्टाइल, बटरल्फाई र मिडलेमा पनि आफ्नो उपस्थिति जनाइन् । फ्रिस्टाइलबाहेक अन्य विधामा उनले कीर्तिमान कायम गर्नुको साथै आफ्नो दबादबा रहेको बेस्टस्ट्रोक र ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । यो सफलतापश्चात् उनी उदीयमान खेलाडीको रूपमा चिनिन थालिन् ।
१२ वर्षको उमेर अर्थात् ०५१ सालदेखि नयनाले राष्ट्रियस्तरका पौडी प्रतियोगिता खेल्न थालेकी थिइन् । दशरथ रंगशालाको पौडीपोखरीमा आयोजित उक्त राष्ट्रिय प्रतियोगिताको बेस्टस्ट्रोक र ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेपछि उनको खेलजीवनको कायापलट भएको थियो, उनलाई नयाँ मोडमा खडा गरिदिएको थियो, जसको उनी प्रतीक्षामा थिइन् । राष्ट्रियस्तरमा पाएको सफलताले उनीमा नयाँ जोस, जाँगर र उमङ्ग थपिदिएको थियो । आपूmले गरेको मिहिनेतको फल प्राप्त भएको थियो । अझ उनको सफलताको गुनगान फोटोसहित पत्रिकामा प्रकाशित भएपछि नयना निकै प्रफुल्लित भइन् । उनलाई बल्ल केही गरेजस्तो लागेको थियो । नयनाकै शब्दलाई सापटी लिँदा ‘त्यसबेला पत्रिकामा कि राम्रो गर्नेको आउँथ्यो कि नराम्रो गर्नेको । मैले राम्रो गरेकी हुनाले पत्रिकामा आएको थियो, म एकदमै खुसी थिएँ । यसपछि मलाई मान्छेले चिन्न थाले, प्रशिक्षक, अभिभावक, खेलकुद पदाधिकारी र साथीहरूले बधाई र प्रोत्साहन दिएका थिए । यो जीवनकै सबैभन्दा खुसीको क्षण थियो ।’ जसलाई उनले सदा आत्मसात् गरेकी छिन् । यसलाई आफ्नो खेलजीवनको टर्निङ प्वाइन्टको रूपमा लिएकी छिन् ।
यसपछि नयनाले पछि फर्केर हेर्नुपरेन, उनलाई सफलताले चुम्दै गयो । उनी नेपालकी चर्चित खेलाडीको रूपमा चिनिन पुगिन् । लगातार पाँच वर्ष आफ्नो समूहमा एकछत्र राज गरेपछि उनको चर्चा–परिचर्चाले अखबारका पानाहरू भरिएका थिए । उनी यसलाई आफ्नो मिहिनेतको फल मान्छिन् । त्यसबेला धेरै प्रतिस्पर्धी थिए, उनीहरूले पनि धैरे मिहिनेत गर्थे, हारजित केवल प्वाइन्टको आधारमा मात्र हुन्थ्यो । तसर्थ त्यसबेला सबै खेलाडीमा नजिक टक्कर थियो । कसले कुन प्रतियोगितामा कसलाई पछार्छ त्यसको अनुमान लगाउन कठिन थियो । यस्तो माहोलमा आफूलाई सधैँ उत्कृष्ट बनाउन नयनाले बिदाको दिनमा समेत टे«निङ गरेकी थिइन् । नयनाकै शब्दमा एकछत्र राज गर्नुभन्दा पनि कीर्तिमान कायम गर्नु राम्रो हो । यसै कुरालाई मध्यनजर गर्दै उनले आफ्नो भविष्यको योजना बनाएकी थिइन् । ‘खाली दिमाग सैतानको घर’ भनेझंै तानाशाही सोचले जितिहाल्छु नि भन्ने गैरजिम्मेवारी भावनाको विकास हुने भएकाले आफूले सधैं प्रशिक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताइन् । जसले नयनालाई आफ्नो लक्ष्यमा पु-याउन निकै मद्दत गरेको थियो ।
अहिले नयनाको कोठा पदक र प्रमाणपत्रहरूले भरिएको छ । जुन उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जितेका पदकहरूले शोभायमान छ । जसलाई उनी प्रत्येक दिन नियाल्छिन् र गजवको आनन्दको महसुस गर्छिन् । सपनामा समेत नचिताएको कुरा पुगेकोले निकै गर्व गर्छिन् । नरम स्वरमा बोल्दै खुसीका आँसु छचल्काउन कन्सुस गर्दिनन् । नयना गर्भका साथ भन्छिन्, ‘आज म जुन स्थानमा पुगेकी छु त्यो सबै पौडी खेलप्रतिको लगाव र प्रशिक्षणले मात्रै सम्भव भएको हो । मैले आफ्नो विधामा राखेको कीर्तिमान पाँच वर्षसम्म नतोडिनुको कारण पनि यही हो । राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सफलता हासिल गर्दै कीर्तिमान कायम गरेपछि नयनालाई ‘जलपरी’को संज्ञा दिइयो । जलपरीको संज्ञा पाएपछि नयनाको खुट्टाले भूई छोडेको छ । उनलाई यो नाम निकै युनिक र सुन्दर लाग्छ । अझ नामले भन्दा जलपरीको नामले बोलाउँदा निकै आनन्दको महसुस गर्छिन् । आफूले दुई दशक पानीमै खेलेर बिताएको र मिडियाले पानीसँग सम्बन्धित नाम नै जुराइदिएकाले उनलाई यो नाम निकै सान्दर्भिक लागेको छ । उनी सधैँ आफूलाई यही नामले बोलाइयोस् भन्ने चाहिन्छन् । ‘म यसका लागि सम्पूर्ण मिडियाका सञ्चारकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ नयनाले भनिन् ।
राष्ट्रियस्तरमा नयनाले कीर्तिमानको झन्डा गाडे पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सोचेअनुरूपको सफलता हासिल गर्न अक्षम रहिन् । वास्तविक रूपमा भन्नुपर्दा अन्तर्राष्ट्रिय प्रतियोगिता उनका लागि सहभागिता र अनुभब बटुल्नुको पाटोे मात्रै बन्यो । त्यसमध्ये उनले चारपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), सन् २००४ को एथेन्स ओलम्पिक, एसिया प्यासेफिक, एसियन गेम (बैङ्कक) र वल्र्ड च्याम्पियनसिपलगायत अन्य थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी छिन् । ठूला प्रतियोगितामा कुनै चमत्कार देखाउन नसके पनि नेपालमा सन् १९९९ मा सम्पन्न आठौँ साफमा भने चार गुणा १०० मिटरमा नेपालको खातामा स्वर्ण पदक पर्दा उनको झोलीमा पनि स्वर्ण परेको थियो । जुन पौडी खेलमा साफ गेममा नेपालले जितेको पहिलो स्वर्ण पदक थियो । त्यस्तै आठौँ साफमा नयनाले एक सय र दुई सय मिटर बेस्टस्ट्रोक पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी असफल हुनुमा उनलाई कति दोष दिन मिल्छ त्यो त्यसै अनुमान लगाउन सकिन्छ । यस्तो नतिजा कसरी आयो भनेर । यी प्रतियोगिताहरूमा उनले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार ल्याए पनि अन्तर्राष्ट्रिय पदकको मामिलामा भने निकै टाढा रहनुपरेको थियो ।
हालै पौडी खेलबाट सन्न्यास लिएकी नयना सन् २००० देखि पौडी प्रशिक्षक पदमा नियुक्ति भएकी हुन् । हालसम्म प्रशिक्षकको भूमिकामा नदेखिए पनि अब उनले त्यो जिम्मेवारी पाउने पक्का भएको छ । प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि सिनियर प्रशिक्षकसँग सहकार्य गरेर आधुनिक र वैज्ञानिक पौडी खेलको विकास गर्ने उनको सोच र योजना छ । खेलाडीलाई पहिलेको भन्दा निकै सुविधा भएको ठोकुवा गर्ने नयनाले प्रतियोगिताको आकार घटेकोमा चाहिँ चिन्ता व्यक्त गरिन् । यसले खेलाडीहरूको स्तरमा कमी आएको र खेलाडीहरूको सङ्ख्यामा पनि ह्रास आएको उनको ठम्याइ रहेको छ । यस्तो अवस्थामा साग गेममा पौडीमा पदक जित्नु भनेको कल्पनाबाहिरको कुरा हो । जुन देशमा वर्षको ६ महिना मात्र ट्रेनिङ हुन्छ त्यहाँका खेलाडीले अन्तर्राष्ट्रिय पदक कसरी जित्न सक्छ ? ६ महिना ब्रेक लागेपछि पदकको के कुरा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार ल्याउन धौधौ पर्छ । यस्तो दयनीय अवस्थामा प्रदर्शनमा सुधार गर्नु भनेकै पदक जित्नुसमान हो । तर, यहाँ पौडी खेलाडीले पदक जितेन भनेर विभिन्न टीका–टिप्पणी हुन्छ, त्यो कुरा नबुझेर मात्रै हो– नयनाको कथन थियो । अहिलेसम्म बाह्रै महिना खेल्ने पौडीपोखरीको निर्माण हुन सकेको छैन । भएका पौडीपोखरीमा हिटिङको व्यवस्था छैन । खेलाडीहरू फिजिकली फिट भए पनि खेल्ने ठाउँ नभएपछि के गर्न सक्छन् ? यो पौडी खेलाडीको दुर्भाग्य हो । तसर्थ सम्बन्धित निकायले यसबारे गम्भीरताका साथ सोच्नुपर्ने नयनाको धारणा रहेको छ । जबसम्म पूर्वाधारको विकासमा कुनै प्रगति हुँदैन तबसम्म पौडी खेलाडीले अन्तर्राष्ट्रिय पदक पनि जित्न सक्तैन ।
ढल्किँदो उमेरसँगै पौडीमा आफ्नो पकड कमजोर भएपछि नयनाले बास्केटबलमा आफ्नो भाग्य अजमाएकी हुन् । बास्केटबल भनेपछि हुरुक्कै हुने नयनाले प्लस टु पढ्दादेखि यो खेलमा हाम फालेकी हुन् । आफ्नो मनपर्ने खेल भएकाले थोरै समयको प्रशिक्षणपश्चात् पनि उनले महिला बास्केटबलमा उत्कृष्ट खेलाडी बन्न सफल भइन् । पौडीको अफ सिजनमा बास्केट बलको कोर्टमा उत्रिएकी नयनाले उक्त कोर्टमा पनि आफ्नो खेलको जादु देखाएर वाहवाह बटुल्न सफल भएकी छिन् । अहिले पौडीभन्दा बास्केटबलको प्रतियोगिताहरूमा अधिक देखिने नयनाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नसमेत भ्याइसकेकी छिन् । गत वर्ष श्रीलङ्कामा आयोजना भएको बिचगेममा उनले राष्ट्रिय टोलीबाट खेल्दै बास्केटबलको अन्तर्राष्ट्रिय अनुभवसमेत बटुलिसकेकी छिन् । उनले बास्केटबललाई केही वर्ष अरू निरन्तरता दिने मन बनाएकी छिन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि नयनालाई विवाहको प्रश्नले वाक्कदिक्क पारिसकेको छ । घरपरिवार, साथीभाइ र सञ्चारकर्मीले उनको दिमाग चाटिरहेका छन् ।
‘अब कहिले विवाह गर्ने त ?’ भनेर थुप्रै सञ्चारकर्मीले प्रश्न तेस्र्याए पनि नयनाले अहिलेसम्म यसको दुरुस्त जवाफ दिएकी छैनन् । उनले यो प्रश्नको जवाफ सधैँ केही समयपछि गर्ने भनेर आलटाल गर्दे पन्छाउँदै आएकी छिन् । यतिबेला भने उनले खुलस्त जवाफ दिएकी छिन्, ‘लभ एन्ड एरेन्ज म्यारिज गर्ने ।’ तर कोसँग भन्दा उनको जवाफ थियो, ‘त्यो अहिले म भन्दिनँ ।’ उनले खेल भावना बुझेको, खेलकुदमा लागेको मान्छेसँग गर्नेचाहिँ प्रस्ट पारिन् । विवाहबारे कोट्याउँदै जाँदा उनले यसमा मेरो आफ्नै ख्याल छ, म आफूले रोजेको र आफूलाई माया गर्नेसँग गर्ने हो भनिन् । नयनाले भनिन्, ‘मेरो दृष्टिमा कोही छ, तर मैलै पूर्ण निर्णय लिन सकेको छैन । विवाह एकदमै संवेदनशील कुरो भएकाले आफ्नो निर्णयलाई घरपरिवारको सहमति गराएर मात्र कदम चाल्ने हो । यसैको पर्खाइमा छु म । हेरौँ भविष्यले कस्तो मोड लिन्छ ?’

‘जितबहादुर’ आदर्श खेल–व्यक्तित्व
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसीलाई आदर्श खेल–व्यक्तित्व– २०६८ बाट सम्मान गरेको छ । एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी– २०६८ अवार्ड वितरण कार्यक्रममा खेलाडी सङ्घले केसीलाई नगद ३० हजारसहित कदरपत्र प्रदान गरेको हो । यो विधा गत वर्षदेखि थपिएको हो । यसै वर्षदेखि उक्त अवार्डका लागि खेलाडी सङ्घ र गजराज ट्रस्टबीच चार वर्षका लागि प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । समग्रमा अवार्डको यो सातौँ संस्करण हो ।
अघिल्लो वर्ष उक्त सम्मान नेपाली प्रथम ओलम्पियनमध्येका स्व. भूपेन्द्र सिलवाललाई प्रदान गरिएको थियो । त्यस्तै वर्षभरिको प्रदर्शनको आधारमा सङ्घले विभिन्न २२ खेलका त्यत्ति नै खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी– २०६८ अवार्ड प्रदान गरेको छ । अवार्ड पाउनेहरूमा बक्सिङका दीपक महर्जन, तेक्वान्दोकी आयशा शाक्य, करातेकी गंगादेवी अधिकारी, फुटबलका सागर थापा, जुडोका सरोज महर्जन, पौडीकी श्रेया धिताल, स्क्वासका हिराबहादुर थापा, शारीरिक सुगठनका श्याम श्रेष्ठ, भलिबलकी कोपिला उप्रेती, टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनका अनिल मल्ल, एथलेटिक्सका तिलकराम थारू, सफ्ट टेनिसका सोहन धौभडेल, साइक्लिङका अजय पण्डित क्षेत्री, ह्यान्डबलका प्रवीण ओझा, आर्चरीकी कृष्णमाया स्याङतेन, तेक्वान्दो युनियनकी नम्रता तुलाधर, कबड्डीकी संगीता गौतम, जिम्न्यास्टिककी पिंकी झाङ, फुलकन्ट्याक्ट करातेका कान्छालाल वाइबा, कुस्तीका वैजनाथ यादव तथा आईटीएफ तेक्वान्दोका चाउची डङ्गोल रहेका छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट तथा महासचिव दीपक श्रेष्ठले खादा, प्रशंसापत्र र ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।

तिलकरामद्वारा नयाँ राष्ट्रिय कीर्तिमान
नेपाल प्रहरीका तिलकराम थारूले दोस्रो गोल्डेन स्प्रिन्ट मिटअन्तर्गत पुरुषको दुई सय मिटर दौडमा हालै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले निर्धारित दूरी २१.७१ सेकेन्डमा पूरा गर्दै रामकृष्ण चौधरीले १८ वर्षअघि बनाएको कीर्तिमान भङ्ग गरका थिए । रामले १९९५ मा मद्रास (अहिले चन्नेई) मा भएको दक्षिण एसियाली महासङ्घीय खेलकुद (अहिलो दक्षिण एसियाली खेलकुद) मा २१.९२ को कीर्तिमान बनाएका थिए । कीर्तिमान रचेबापत तिलकले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
दशरथ रंगशालामा भएको सोही स्पर्धाको महिलामा एपीएफकी दिलमाया कार्कीले शीर्ष स्थान हात पारिन् । दिलमायाले २७.१ सेकेन्ड समय सो दूरी पार गरेकी थिइन् । पुरुषको एक सय मिटर दौडमा पनि तिलकले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १०.५ सेकेन्डमा दौड टुङ्ग्याएर दोहोरो स्वर्ण जितेका थिए । सोही स्पर्धाको महिलातर्फ प्रहरीकी सावित्री नेपालीले १२.७५ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन् ।
नेपाल एमेच्योर एथलेटिक्स सङ्घ तथा काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुष चार सय मिटर दौड ५१.५ सेकेन्डमा पूरा गरेका आर्मीका दासीराम चौधरीले शीर्ष स्थान कब्जा गरे । उक्त स्पर्धाको महिलामा एपीएफकी दिलमाया कार्कीले बाजी मारिन् । निर्धारित दूरी पूरा गर्न दिलमायाले ६०.३ सेकेन्ड समय लगाइन् ।
पुरुषको चार सय मिटर बाधा दौड (हर्डल्स) मा आर्मीका तेजबहादुर सुनार (१ मिनेट ०२.४ सेकेन्ड) पहिलो तथा आर्मीकै सागर कार्की (१ मिनेट ०३.३ सेकेन्ड) दोस्रो भए । सोही स्पर्धाको महिलामा एपीएफकी सविता चौधरी (१ मिनेट १०.२ सेकेन्ड) तथा एपीएफकै सुनिता तामाङ
(१ मिनेट २९.७ सेकेन्ड) क्रमश: पहिलो र दोस्रो भए । पुरुषको एक सय १० मिटर बाधा दौडमा प्रहरीका धीरेन्द्र चौधरी पहिलो भए । उनले १५.९ सेकेन्डको समय निकाले । १७.१ सेकेन्ड समयसाथ आर्मीका शोभाकान्त जम्मरकट्टेल दोस्रो भए । महिलाको सय मिटर बाधा दौडमा एपीएफकी सविता चौधरीले स्वर्ण तथा एपीएफकै सुनिता तामाङले रजत जिते । सविताले १८.९ सेकेन्ड तथा सुनिताले २३.३ सेकेन्ड समय खर्चे ।
एकदिने प्रतियोगितामा प्रहरीका तिलक तथा एपीएफकी दिलमाया वन्त उत्कृष्ट स्प्रिन्टर चुनिए । त्यसबापत दुवैले समान पाँच–पाँच हजार नगद पुरस्कार हात पारे । दुई स्पर्धाका लागि तिलकले समान ३–३ गरी ६ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै सावित्री, दिलमाया र धीरेन्द्रले समान तीन–तीन हजार पाए । आयोजकले तोकेको समयअगाडि नै दौड पूरा गरी पहिलो स्थान हात पारेकाले पाँचैलाई समान तीन–तीन हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सदस्य मनबहादुर न्यौपानेलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा १९ पुरुष तथा १८ महिला खेलाडीले समान पाँच–पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दो प्रशिक्षक योङदल क्वान सम्मानित
नेपाली तेक्वान्दोका विदेशी प्रशिक्षक योङदल क्वान सम्मानित भएका छन् । आदर्श उच्च माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा उनलाई सम्मानित गरिएको हो । विद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बाल गीताञ्जली विद्यालय तथा तेक्वान्दो प्रशिक्षक अशोक खड्काले संयुक्त रूपमा उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा भद्रवास, मूलपानी, आलापोट, गागलफेदी, बाल गीताञ्जली र बायोका विद्यालयका करिब दुई सयभन्दा बढी तेक्वान्दो खेलाडीले विविध डेमोस्ट्रेसन प्रदर्शन गरेका थिए । शिक्षा मन्त्रालयका योजाना महाशाखा प्रमुख सहसचिव महाश्रम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद पुँmयालले गरेका थिए ।
कार्यक्रममा नेपाली तेक्वान्दोमा प्रशिक्षक योङदल क्वानले गरेको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि नेपाली राष्ट्रिय तेक्वान्दो टिमलाई प्रशिक्षण दिँदै आएका क्वानलाई डोजाङप्रमुख तथा अन्तर्राष्ट्रिय खेलाडी अशोक खड्काले डोजाङको तर्पmबाट ट्रयाकसुट प्रदान गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेको थियो भने उत्कृष्ट डेमोस्ट्रेसन गर्ने खेलाडी अजय लामा र मुना खवासलाई सम्मानसमेत गरेको थियो ।