स्टेमेटिस मोराइटिसलाई ४५ वर्षको उमेरमा क्यान्सर भयो । डाक्टरहरूले उनलाई नौ महिनाभन्दा बढी बाँच्न नसक्ने ठोकुवा गरिदिए । क्यान्सर रोग र चिकित्सकको भविष्यवाणीबाट रन्थनिएका मोराइटिसले अमेरिका छोडेर ग्रिसको इकेरिया गई बस्ने निर्णय गरे । ‘दीर्घायु द्वीप’का नामले चिनिने उक्त स्थान उनले रोज्नुको कारण थियो बिग्रेको स्वास्थ्य सुधार्नु । नभन्दै मोराइटिसको स्वास्थ्य सप्रियो र आज उनी ९८ वर्षको उमेरमा पनि तन्दुरुस्तीका साथ जीवनयापन गरिरहेका छन् ।
यसरी क्यान्सरलाई पनि जितेर लामो उमेर बाँच्न सक्नुको मुख्य कारण भने पत्याइनसक्नुको छ । उनका अनुसार प्रतिदिन सेवन गरेको रक्सीले यो सम्भव भएको हो । असाध्य मानिने रोग र सम्भावित मृत्युबाट उदास बनेका मोराइटिसले इकेरिया पुगेपछि रक्सी बनाउने र पिउने कामलाई मुख्य दिनचर्या बनाए । तर, नतिजा भने उदेकलाग्दो हासिल हुन थाल्यो । त्यस्ता नौ महिना त कति गुज्रिए कति, उनी त झन्–झन् तन्दुरुस्त बन्न थाले । पछि एकपटक अमेरिका पुग्दा उनले आफूलाई नौ महिना मात्र बाँच्ने घोषणा गरेका डाक्टरहरूलाई भेट्ने प्रयास गरे, तर उनीहरू सबैको मृत्यु भइसकेको खबर पाउँदा उनलाई नरमाइलो लागेछ ।
त्यसो त इकेरिया द्वीपको हावापानी नै विशेष प्रकारको रहेको एथेन्स विश्वविद्यालयले गरेको एक अनुसन्धानले पुष्टि गरिसकेको बताइन्छ । त्यहाँ अवस्थित ग्रेनाइट पर्वतमालाहरूबाट एक यस्तो रेडियसन प्राकृतिक रूपमै प्रवाहित हुन्छ जो स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ । जम्मा आठ हजार मानिस बस्ने उक्त द्वीपका मानिसको औसत आयु ६५ वर्ष बताइए पनि प्राय: सबै ९० वर्ष बाँच्ने गरेका छन् ।
चीनमा बढ्दै छ ‘क्यान्सर गाउँ’
विश्व महाशक्तिका रूपमा उदय भइरहेको चीनलाई बढ्दो प्रदूषण एक ठूलो चुनौती बनेर देखापरेको छ । चीनका कतिपय इलाकामा प्रदूषण यसरी बढेको छ कि कतिपय बस्तीलाई त ‘क्यान्सर गाउँ’को संज्ञासमेत दिन थालिएको छ । खासगरी फ्याक्ट्रीनजिक रहेका गाउँमा क्यान्सरजस्ता रोगले महामारीकै रूप लिइरहेको प्रदूषित पानी त्यसको एक मुख्य कारकतŒव मानिएको छ । तर, चीनले भने बाह्य समुदायसमक्ष मुलुकभित्र पन्पिरहेको प्रदूषणको स्तर छुपाउने प्रयत्न गरिरहेको एजेन्सीहरूले उल्लेख गरेका छन् । संसारका अन्य विकसित देशहरूमा प्रतिबन्धित रसायन तथा नोक्सानदायी उत्पादनहरूको उपभोग चीनमा अहिले पनि भइरहेको चीनको सम्बन्धित एक मन्त्रालयले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको बताइन्छ । वायु प्रदूषण र औद्योगिक फोहोरका कारण आमचिनियाँमा असन्तोष बढिरहेको छ । सोही प्रतिवेदनमा कुनै–कुनै गाउँलाई ‘क्यान्सर गाउँ’को रूपमा चित्रित गरिएको छ । त्यस्ता गाउँमा स्वास्थ्यका साथै अन्य सामाजिक समस्या पनि बढिरहेको छ । तीव्र विकासले फड्को मारेको ठानिएको चीनमा यसरी प्रदूषणका कारण गाउँ–ठाउँलाई नै ‘क्यान्सर’को विशेषण दिनुपर्ने अवस्था निम्तिनु वैश्विक पर्यावरणीय दृष्टिले चिन्ताजनक विषय हो ।
करोडौँ ठगेर अनुहार बदले पनि…
सुन्दा हलिवुडको कुनै सनसनीपूर्ण सिनेमाको कथाझैँ लाग्छ तर घटना यथार्थ हो । एक व्यक्ति आफूले काम गर्ने कम्पनीको करोडौँ रकम ठगी गरेर लापत्ता हुन्छ । सजायबाट बच्नका लागि उसले कस्मेटिक सर्जरी गरेर आफ्नो अनुहारको हुलिया नै बदल्छ । तर, अपराध गर्नेले कहीँ न कहीँ प्रमाण छोड्छ भन्ने धारणाअनुरूप उसको कमजोरी समातेर आखिर ऊ प्रहरीको फन्दामा पर्छ ।
घटना दक्षिण कोरियाको हो । कथित रूपमा युन नाम दिइएको उक्त व्यक्तिले ‘आफ्नो हात जगन्नाथ’ भन्ने उखानकै शैलीमा सेमिकन्डक्टर निर्माण गर्ने कम्पनीको एकाउन्टबाट पटक–पटक गरी ४३ लाख डलर अर्थात् करिब ३७ करोड रुपैयाँ आफ्नो एकाउन्टमा सारेर थुप्रै मर्सिडिज गाडी र असङ्ख्य सुन्दरी महिलामाथि खर्च ग-यो । पारिवारिक काम परेको बहाना बनाएर ऊ गत जनवरीदेखि कार्यालय जान छोड्यो र परिवारकै सदस्यलाई समेत छलेर गोप्य रूपले प्लास्टिक सर्जरीको माध्यमबाट आफ्नो नाक र आँखाको स्वरूप परिवर्तन गरायो । यसरी हुलिया बदलेर निस्फिक्रीका साथ ऊ दक्षिण कोरियाकै गंगनम क्षेत्रमा मस्ती मार्न निस्कियो । तर, प्रहरीले सार्वजनिक गर्न नचाहेको एक कमजोरी युनले गरेको रहेछ, जसका आधारमा ऊ बेपत्ता भएको दश दिनमै दुई सहयोगीसहित गिरफ्तारीमा प-यो । पक्राउ परेपछि उसको हुलिया हेरेर अरू त अरू परिवारकै सदस्यहरूसमेत आश्चर्यमा परेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
नोवेललाई उछिन्ने पुरस्कार स्थापना
विभिन्न क्षेत्रमा पु-याइएको योगदानका लागि प्रतिवर्ष दिइने अहिलेसम्मको सबभन्दा ठूलो धनराशि भएको पुरस्कारको नाम हो– नोवेल पुरस्कार । यस पुरस्कारबापत १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ । तर, धनराशिको तुलनामा नोवल पुरस्कारलाई निकै पछाडि पार्ने गरी विश्वका नामुद हस्तीहरू मिलेर अर्को एक पुरस्कार स्थापना गरेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग, एप्पल कम्पनीका बोर्डअध्यक्ष आर्ट लेबिन्सन, रुसी उद्यमी युरी मिलनर र गुगलका सहसंस्थापक सर्गे ब्रिन मिलेर स्थापना गरिएको उक्त विशेष पुरस्कारको राशि ३० लाख डलर हुनेछ भने ‘ब्रेकथ्रु प्राइज इन लाइफ साइन्सेज’ नाम दिइएको उक्त पुरस्कारबाट ‘लाइफ साइन्स’मा शोध गर्ने अब्बल व्यक्तिलाई सुशोभित गरिने बताइएको छ । विशेषगरी जटिल प्रकृतिका रोगको उपचारका लागि शोध–अनुसन्धानमा महŒवपूर्ण उपलब्धि हासिल गर्ने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिनेछ । ‘ब्रेकथ्रु प्राइज इन लाइफ साइन्सेज’का लागि यसपटक ११ व्यक्तिको मनोनयनसमेत गरिसकिएको छ । यो पुरस्कार कतिपय व्यक्तिलाई साझा रूपमा दिन पनि सकिने र एकै व्यक्तिलाई पटक–पटक प्रदान गर्न पनि सकिने बताइएको छ भने यसका लागि उमेरको कुनै बन्धन पनि राखिएको छैन ।
प्रतिक्रिया