कुनैबेला पानी बाराबारको अवस्थामा रहेका दुई कम्युनिष्ट दल आजदेखि एक भएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अब कुनै अस्तित्वमा रहने छैनन्, उनीहरुको संयुक्त रुपलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ भनेर चिन्नुपर्ने हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी नामबाट नवीन अस्तित्व शुरु गर्नुअघि केपी ओली र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति दुई नेताबीच भएको थियो । दुई अध्यक्षात्मक प्रणाली अपनाइने सहमतिअनुसार दुवै नेता पार्टीमा बराबर हैसियतमा रहने एवम् नौ सदस्यीय शक्तिशाली सचिवालय रहने व्यवस्था गरिएको छ।
उक्त सचिवालयमा दुई अध्यक्षसहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने तथा नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहने सहमति गरिएको छ ।
नयाँ पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठ छानिएका छन् भने विष्णु पौडेल पार्टीको महासचिव हुनेछन्। सोही सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने जिम्मेवारी पनि पाएको छ ।
दल दर्तासम्बन्धी समस्त प्रक्रिया पूरा गर्न एक-डेढ महिना समय लाग्न सक्छ । निर्वाचन आयोगका दल दर्तासम्बनधी फाँटका एक अधिकारीको दाबीअनुसार पहिले सोही नाममा पार्टी दर्ता रहेकोले अर्को नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी त हुनै सक्दैन ।
केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने छ भने मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने सहमति गरिएको छ । यस्तै एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने उनीहरुबीच सहमति भएको छ ।
यसैबीच एमाले माओवादी मिलेर बनेको नयाँ दलको नाम दर्तामा विवाद उठ्न पुगेको छ । यतिबेला विद्रोही अभियानमा रहेका नेत्रबहादुर चन्द ‘विप्लव’हरुले आफ्नो दलको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ दाबी गरिरहेका छन् भने निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता भइसकेको छ ।
यसरी पहिले दर्ता भइसकेको दलकै नाममा अर्को दल दर्ता गर्न सक्ने हैसियत कानुनतः निर्वाचन आयोगसँग हुन सक्दैन । यस्तोमा बहुप्रचारित एकतापछिको नयाँ दल कसरी ‘नेकपा’ हुन सक्छ, अप्ठ्यारो प्रश्न खडा भएको छ ।
आयोग सुत्रका अनुसार दल दर्तासम्बन्धी समस्त प्रक्रिया पूरा गर्न एक-डेढ महिना समय लाग्न सक्छ । निर्वाचन आयोगका दल दर्तासम्बनधी फाँटका एक अधिकारीको दाबीअनुसार पहिले सोही नाममा पार्टी दर्ता रहेकोले अर्को नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी त हुनै सक्दैन । यदि पहिले दर्ता भएको पार्टी पनि एमाले माओवादीहरुसँग समाहित हुन गएमा भने उनीहरुबीचको सहमतिबाट त्यो नाम मिल्न सक्छ ।
प्रतिक्रिया