—मुिक्तनाथ भुसाल
अर्घाखाँची जिल्लाअन्तर्गत जलुगे गाविस– २ मा रहेको नौमुरे जलविद्युत् आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ । सन्धिखर्क सदरमुकामबाट करिब १० घन्टा पैदल यात्रामा पुग्न सकिने यो आयोजनालाई जिल्लाका राजनीतिक दलका नेताले चुनावी नारा बनाउने र चुनाव सकिएपछि फर्केर नहेर्ने गरेको गुनासो स्थानीयवासीको रहेको छ ।
यो आयोजनाको प्रारम्भिक अध्ययनअनुसार राज्यले दुई सय ४५ मेगावाट विद्युत् आर्जन गर्न सक्ने कुरा नौलो होइन । कुनै समयमा राज्यले प्रशस्त धनराशि खर्च गरेको यो योजनामा कामको भने सुरुवातै गरिएकै छैन । ०४४ सालदेखि डिटेल सर्वे सुरु गरिएको यो स्थान अर्घाखाँची जिल्लाअन्तर्गत जलुगे गाविस– २ मा पर्दछ । खोलावारि अर्घाखाँची र खोलापारि प्युठान भए पनि यो योजना अर्घाखाँचीमै पर्दछ । ०४४ सालदेखि पञ्चायतको अन्तिम दिनसम्म यो योजनामा लगातार काम भयो र पञ्चायती व्यवस्थाको अन्त्यसँगै परियोजनामा खटिएका कर्मचारीहरू पनि आ आ–आफ्ना झोलीतुम्बा बोकी यहाँबाट बिदा भएको कुरा स्थानीय बताउँछन् ।
नौमुरे जलविद्युत् आयोजनालाई कार्यान्वयन गर्न हो भने नेपालले मनग्य आम्दानी गर्न सक्ने देखिन्छ । डिटेल सर्भेको समयमा पञ्चायती सरकारको तर्फबाट यो आयोजनामा दैनिक ६ वटा हेलिकोप्टर ओहोरदोहोर गर्ने गरेको र ७० जना भन्दा बढी स्थानीयले रोजगार पाएको सन्दर्भ त्यहाँको समाजले हालसम्म भुल्न सकेको छैन ।
पञ्चायती सरकारको पालामा ०४४ सालदेखि दैनिक कामको सुरुवात भए पनि पञ्चायती व्यवस्थाको अन्न्त्यपछि सम्पूर्ण कर्मचारी उक्त स्थानबाट हिँडेको र हालसम्म अर्घाखाँची नौमुरे जलविद्युत् आयोजना कार्यान्वयन हुन नसकेको कुरा लुकाउन मिल्दैन । तर, अर्घाखाँचीका नेताहरू चुनावको समयमा यसलाई कार्यान्वयन गरेरै छाड्ने चर्का नारा दिन छाड्दैनन् । अर्कातर्फ प्युठानको सिमाना अर्थात् अर्घाखाँचीअन्तर्गत जलुगे गाविस वाड नं. २ मा रहेको नौमुरे जलविद्युत् आयोजनालाई कहिलेकाहीँ प्युठानका नेताले हाम्रो जिल्लामा पर्दछ भन्दै आफ्नो ठाउँमा चुनावी नारा बनाउँदै हिँडेको नेपाल आदिवासी जनजाति महासङ्घ अर्घाखाँची जिल्लाका अध्यक्ष तथा पूर्व जलुगे गाविस अध्यक्ष पीताम्वर सरूले गुनासो पोखेका छन् । सारूलगायत अर्घाखाँचीका पूर्व जुकेना गाविस अध्यक्ष एमालेसँग सम्बन्धित तिलक भाट पनि अर्घाखाँची नौमुरे जलविद्युत् आयोजनाको काम रोकिनुको कारण वा प्रमुख दोषी जिल्लाका नेताहरू भएको बताउँछन् ।
एकले अर्कालाई आरोप–प्रत्यारोप लगाई उम्कनुभन्दा पनि एकपटक ठूलो धनराशि खर्च भई २ सय ४५ मेगावाट विद्युत् आर्जन गर्न सक्ने कुरा पक्कापक्की भएको यो आयोजनालाई कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । जसबाट राज्यलाई प्रशस्त लाभ हुनेछ र हजारौँ युवालाई रोजगार मिल्नेछ । एकपटक तुलना गरेर हेरौँ त, एउटा जिल्लामा ७–८ मेगावाट विद्युत् पर्याप्त मानिन्छ भने अर्घाखाँची नौमुरे जलविद्युत् आयोजना सम्पन्न गर्नासाथ ३० वटा जिल्ला अर्थात् काठमाडौंजस्ता ६ वटा सहरलाई बिजुली पर्याप्त हुनेछ । समग्रमा भन्नुपर्दा अहिलेको स्थितिमा नेपालले भारतलाई बिजुली बिक्री गर्न सक्नेछ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गएको समय भारत सरकारले प्रचण्ड कमरेडलाई उपहारस्वरूप अर्घाखाँची नौमुरे जलविद्युत् आयोजना बनाइदिने हल्ला हल्लामै सीमित बन्न पुग्यो । खोइ त, भारतले बनाइदिएको नौमुरे जलविद्युत् आयोजना ? नेपाली जनता दिनप्रतिदिन सचेत हुँदै गइरहेको कारण पनि भारतले नौमुरे जलविद्युत् आयोजना नबनाएको हुनुपर्छ । यदि यसो होइन भने किन बोल्यो भारतले त्यो पनि नेपालको प्रधानमन्त्रीसँग ? र, के हो त भारतको स्वार्थ, नौमुरे जलविद्युत् आयोजनामा । यो आमनागरिकको चाहना तथा चासोको विषय हो ।
अर्घाखाँची नौमुरे जलविद्युत् आयोजनाबाट राज्यले २ सय ४५ मेगावाट विद्युत् आर्जन गर्न सक्नुको अलावा यहाँ भएको पानीलाई बायाँतर्फ अर्थात् अर्घाखाँचीतर्फ मोडिदिने हो भने कपिलवस्तु, रूपन्देहीलगायतका जिल्लाका कृषक लाभान्वित बन्नेछन् । तर, अहिले जसरी पानी बगिरहेको छ, त्यसरी भारतका कृषकलाई फाइदा पु-याएको छ । भारत सकभर अर्घाखाँची नौमुरे जलविद्युत् आयोजना बनेको देख्न चाहँदैन र बने पनि वा सहयोग गर्नु परे पनि पानी अहिलेकै स्थानबाट लग्न चाहन्छ, यही नै यसको वास्तविकता हो । विडम्बना ! नेपाली जनता सचेत भइसकेका कारण पनि त्यसो हुन दिनेवाला पनि छैनन् । जसको कारण अर्घाखाँची नौमुरे जलविद्युत् आयोजना ओझेलमा परेको छ ।
दिनप्रतिदिन लोडसेडिङको मारमा परेका नेपाली जनतालाई मुक्ति दिलाउन पनि नेपाल सरकारले आफ्नो स्वाभिमानलाई झुक्न नदिई अर्घाखाँची नौमुरे जलविद्युत् आयोजनाको काम सुरु गर्न र पूरा गर्न आवश्यक देखिन्छ । जसबाट नेपाल र नेपाली जनतालाई फाइदा पु-याओस् । जसमा नेपाल सरकार र राजनीतिक दलका नेताले ध्यान पु-याउँदै अर्घाखाँची नौमुरे जलविद्युत् आयोजनालाई एउटा चुनाव जित्ने नारा मात्र नबनाई यसलाई व्यवहारमा उतार्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया