एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको छ । आज विहिबार साँझ पार्टी एक भई नेपाल कम्युनिष्ट पार्टी बनेको घोषा गरिएको हो । एकता गरी नेकपा घोषणा गरिनुअघि दिउँसो केपी शर्मा ओली र पुष्पकमल दाहाल निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका थिए ।
आयोगमा पुगेर ओली र दाहालले आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ भन्दै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको जानकारी दिएका थिए ।
ओलीको दाबी थियो, ‘पार्टी एकता भएपछि दर्ता हुनुपर्छ, निर्वाचन प्रक्रियाका लागि पनि त्यो जरुरी छ, यो दलले राष्ट्रिय मान्यता पाउने छ भन्ने विश्वास छ ।’
अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो ।
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि परेको निवेदनबारे यसरी जानकारी गराएको छ । हेर्नुहोस् आयोगको विज्ञिप्ति जस्ताको तस्तै –

प्रतिक्रिया